Comments Add Comment

निर्यात २५ प्रतिशत बढ्यो, व्यापार घाटा सुधारियो

१८ असोज, काठमाडौं । निर्यात बृद्धिसँगै मुलुकको व्यापार घाटा घटेको पछिल्लो दुई महिनाको तथ्यांकले देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको विवरणअनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकको निर्यात २५.८७ प्रतिशतले बढेको छ । यस्तै व्यापार घाटा गत वर्षको समिक्षा अवधिको तुलनामा ३.०५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष ०७५/७६ को दुई महिनामा नेपालले १४ अर्ब ६९ करोड ९० लाख २० हजार बराबरको वस्तु निर्यात गरेको थियो । तर, चालु आर्थिक वर्ष ०७६/७७ को दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो अवधिको तुलानामा २५.८७ प्रतिशतले बढी हो ।

यस्तै आयात भने १.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको दुई महिनामा नेपालले २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजारको आयात गरेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधिमा आयात २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार मात्रै छ, जुन अघिल्लो आवको सही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो ।

अघिल्लो वर्षको तुलनामासमग्र व्यापारको आकार भने ०.३९ प्रतिशतले बृद्धि देखिएको छ । अघिल्लो वर्ष २ खर्ब ४७ अर्ब ४ करोड ५६ लाख ३३ हजारको व्यापार यस वर्षको समिक्षा अवधिमा २ खर्ब ४८ अर्ब ५५ लाख लाख ५१ हजार कायम छ । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेकाअनुसार क्लिंकर र सिमेन्टसँगै इन्धनको आयातमा केही कमी आउनु र वनस्पति ध्यू, धागो तथा तयारी पोशाक निर्यात बढेका कारण व्यापार घाटा सुधारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment