Comments Add Comment

‘गेम चेन्जर’ करण केसीले दोस्रोपटक गरेको ‘चमत्कार’

२० असोज, काठमाडौं । केही वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य हुन् करण केसी । उनलाई फास्ट बलरको रुपमा टिममा राख्ने गरिएको छ । तर, उनको बलिङको स्तरमा अहिलेसम्म पनि प्रश्न उठ्ने गर्छ । हुन पनि धेरै म्याचहरुमा उनी खर्चिला र विकेटविहिन हुने गरेका छन् ।

बरु करणले आफ्नो ब्याटबाट नेपाललाई अहिलेसम्मकै महत्वपूर्ण जित दिलाएको गर्विलो क्षण छ । गत वर्ष १४ फेब्रुअरीमा भएको क्यानाडाविरुद्धको म्याचमा उनले नेपाललाई ‘चमत्कारिक’ जित दिलाएका थिए । आईसीसी वल्ड क्रिकेट लिग डिभिजनको २ को त्यही जितले नेपाललाई एक दिवसीय स्टाटस दिलाउने ढोका खोलेको थियो ।

एकपटक त्यो म्याचलाई सम्झौं जसलाई क्रिकइन्फोले गत वर्षकै उत्कृष्ट व्यक्तिगत प्रदर्शनहरुको सुचीमा राखेको थियो ।

क्यानाडाले पहिलो ब्याटिङ गर्दै नेपाललाई एक सय ९५ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपाल चाँडै धराशायी बन्यो । एक सय २४ रनमा ९ विकेट गुमाउँदा नेपालको हार केवल औपचारिकता मात्रै बाँकी रहेको जस्तो देखिन्थ्यो । तर, करणले म्याचलाई अविश्वसनीय ढंगले नेपालको पक्षमा मोडे ।

४८ बलमा ५१ रन ल्याउने पर्ने तर, हातमा एक मात्र विकेट । नेपालले आशा मारिसकेको अवस्थामा करणको ब्याटिङ जाग्यो । उनलाई अर्को छेउमा सन्दिप लामिछानेले साथ दिए । दशौं विकेटका लागि यो जोडीले ५१ रनको साझेदारी गर्दा सन्दिपको खातामा ५ रन मात्र थियो । बाँकी सबै रन करणले बटुलेका थिए । उनले चार छक्का र तीन चौकासहित ३१ बलमा ४२ रन बनाए । अन्तिम दुई बलमा ८ रन चाहिँदा उनले छक्का र दुई रन हानेका थिए ।

यो म्याच नेपालको लागि अति महत्वपूर्ण किन थियो भने हारेको भए नेपालले ओडिआई स्टाटस पाउने ढोका बन्द हुने थियो । साथै डिभिजन ३ मा झर्नुपर्ने हुन्थ्यो । यही जितले नेपाललाई डिभिजन १ मा बढुवा गर्‍यो र वर्ल्ड कप क्वालिफायरमा पुर्‍यायो ।

आजको म्याचको कुरा गर्दा त्यो कठिन स्थिति त होइन । तर, पनि निकै चुनौतिपूर्ण अवस्थामा नेपाल थियो ।

यो पनि पढ्नुहोस करणको नायकत्वमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जित

पारस खड्का जस्ता आक्रामक ब्याट्सम्यानलाई पनि बलरहरुले खुलेर खेल्न दिएका थिएनन् । अन्यथा पारस टि–२० मा यति यति सुस्त ब्याटिङ गर्ने ब्याट्सम्यान होइनन् । उनले ४१ बल खेल्दा ३३ रन मात्र बनाए । यसैबाट थाहा हुन्छ कि बलिङ कुन स्तरको थियो । विनोद भण्डारीले २४ बलमा २६ रन बनाउनु बाहेक अरु ब्याट्सम्यान चल्न सकेका थिएनन् ।

९३ रनमा पाँच विकेट गुमाएको स्थितिमा सोमपाल कामीभन्दा अगाडि करणलाई ब्याटिङ गर्न पठाइयो । ठूलो शट खेल्न सक्ने करणको क्षमताले गर्दा परिस्थितिको माग अनुसार उनलाई एक स्थान बढुवा गरिएको थियो र करणले त्यही अनुसार डेलिभरी दिए ।

एक सय ६ रनको स्थितिमा विनोद भण्डारीलाई गुमाएपछि नेपाल संकटमा परेको थियो । नेपाललाई १२ बलमा २८ रन चाहिएको अवस्थामा नेदरल्यान्ड्सको टिम खुशी मनाउने तयारीमा थिए । तर, करणको मगजमा अर्कै कुरा खेलिरहेको रहेछ । १८ औं ओभरको चौंथो बलमा ठूलो छक्का हान्दै उनले आफ्नो मनस्थितिको संकेत दिए । तर, पनि अन्तिम ओभरमा १७ रन चाहिँदा खेल अझै नेदरल्यान्ड्को पकडमा थियो । करणलाई अर्कोपट्टि सोमपालले साथ दिएका थिए ।

अन्तिम ओभरमा भाग्यवस करण नै स्ट्राइकमा आए । पहिलो बलमै उनले छक्का हानेर खेलमा प्राण भरे । दोस्रो बल डट खेलेका उनले तेस्रो र चौंथो बलमा क्रमशः चौका र छक्का हान्दै स्कोर बराबरीमा ल्याए । पाचौं बलमा एक रन लिएर नेपाललाई जित दिलाए ।

नेदरल्यान्ड्सजस्तो बलियो टिमविरुद्ध आजको जितले प्रतियोगितामा नेपालको मनोबल उच्च बनाएको छ । हिजोको हङकङविरुद्धको म्याचमा पनि नेपालले ५ विकेटको जित प्राप्त गरेको थियो ।

करणको चुनौति

करण मुलत एक बलर हुन् । माथि नै भनियो कि उनको बलिङ अझै पनि भर गर्न लायक छैन । उनी ब्याट्म्सम्यानले हात खोल्न सक्ने खुकुला बलहरु प्रशस्त फ्याक्ने गर्छन् । उनको बलमा खासै गति पनि छैन । तर, हिजो र आजको म्याचमा भने करणको बलिङ अर्कै स्तरमा देखिएको छ । दुवै म्याचमा गरी उनले ८ विकेट लिइसकेका छन् । यो फर्मलाई निरन्तरता दिनु करणको पहिलो चुनौति हो ।

अर्कोतर्फ करणबाट नेपालले ब्याटिङमा पनि आशा गर्न थालेको छ । खासगरी उनलाई नेपालले रन गति बढाउनुपर्ने अवस्थामा ‘हार्ड हिटर’ को रुपमा प्रयोग गर्न चाहन्छ । तर करण ब्याटिङमा पनि ‘कन्सिस्टेन्ट’ छैनन् । उनीसँग पावर छ, तर कौशलको कमि छ । उनले ब्याटिङलाई निखार्न अझै बढि मिहिनेत गर्नुपर्छ । खासगरी १–२ रन लिएर स्ट्राइक गर्ने सवालमा करण निकै कमजोर छन् । उनी प्राय ठूला सटहरुमै भर पर्छन् । यसरी खेल्दा आउट हुने सम्भावना प्रचुर हुन्छ ।

जे होस, करणले बडा दशैंको अघिल्लो दिन सम्पूर्ण नेपालीहरुलाई एउटा मिठो जित उपहार दिए । सन्दिप लामिछानेको ४ विकेटलाई बिर्सने हो भने आजको म्याच पूर्णरुपमा करण केसीको नाममा रह्यो । आगामी दिनहरुमा नेपालले करणलाई तल्लो क्रममा ब्याटिङ गर्ने राम्रो अलराउन्डरको रुपमा हेर्न चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment