Comments Add Comment

दसैंको आर्शिवाद कति अर्थपूर्ण र उपयोगी छ

काठमाडौं । नेपालीहरुको महानपर्व विजयादशमीको दिन दिइने संस्कृतका श्लोकहरु प्रतिकात्मक रुपमा पौराणिक पात्रहरुलाई आदर्श पात्र मानेर दिइएको आशिर्वादहरु हुन् । आशीर्वाद दिने व्यक्तिले स्पष्टसँग उच्चाहरण गर्ने हो भने सामान्य रुपले पौराणिक पात्रहरुको बारेमा जानकारी भएका व्यक्तिलाई यो श्लोक त्यति कठिन छैन । तर, यसले बोकेको भाव भने निकै ठूलो मान्न सकिन्छ ।

यसरी संस्कृत अध्ययन नगरेकाहरुले दिईने आशीर्वाद अर्थ धेरैलाई जनकारी नहुँदा धेरैले अशुद्ध समेत उच्चाहरण गर्नसक्ने विषयलाई केन्द्रीत गर्दै हामीले तल दसैंमा सर्वव्यापी रुपमा प्रयोग हुने आशीर्वादको श्लोक र अर्थ प्रस्तुत गरेका छौ।

श्लोक

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।

अर्थ

आयु द्रोण सुते – द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घ आयु होस् ।

६४ कलाका जानकार अश्वत्थामा अष्ट चिरञ्जीवीमध्येका एक हुन् । उनको जस्तै आयु होस् भन्ने प्रतिकात्मक अर्थले सार्थक र चिर आयुको कामना यो पहिलो श्लोकमा गरिएको छ ।

श्रेयं दशरथे – दशरथ राजाको जस्तो मान-सम्मान फैलिइ रहोस् ।

दशरथ राजा अयोध्याका एक सूर्यवंशी राजा एवं भगवान श्रीरामका पिता थिए । आफ्नो यश र कीर्तिका कारण पूरा पृथ्वीमा चर्चित रहेकोले उनको श्रेयलाई आदर्शको रुपमा मान्ने गरिन्छ ।

शत्रु क्षेयं राधवे – शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस् ।

ऐश्वर्यं नहुषे – नहुष राजाको जस्तो ऐश्वर्य बनिरहोस् ।

नहुष पृथ्वी र स्वर्ग दुवैको एकैचोटि भोग गर्ने अवसर पाएका राजा हुन् । पौराणिक कहानी अनुसार भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भए । ब्रह्माजीबाट अत्रि, अत्रिबाट चन्द्रमा, चन्द्रमाबाट बुध र बुधबाट पुरूरवाको जन्म भयो । पुरूरवाबाट आयु, आयुबाट राजा नहुषको जन्म भएको थियो ।  पृथ्वीको भोग गरिरहेका नहुष वृत्तासुरको वधका कारण इन्द्रले ब्रह्महत्याको दोष हटाउन कैलाशमा तपस्या गर्न गएको बेलामा स्वर्गको समेत राजा भएका थिए ।

गतिश्च पवने – हावाको जस्तो तीब्र गति होस् ।

मानं च दुर्योधने – दुर्योधनको जस्तो मान प्रतिष्ठा होस् ।

दुर्योधन महाभारतका एक अभिमानी पात्र हुन् ।

शौर्य‌ं शान्त नभे – आकाश जस्तो शान्त र पराक्रमी होस् ।

बलं हलधरे – बलरामको जस्तो बल होस्।

बलभद्र या बलराम श्री कृष्णका सौतेनी दाइ थिए। जो रोहिणीको गर्भबाट उत्पन्न भएका थिए । बलराम, हलधर, हलायुध, संकर्षण आदि अनेक नामले यिनलाई चिन्न सकिन्छ ।

सत्यं च कुन्तीसुते – कुन्ती पुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्।

युधिस्ठिर महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका जेठा भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनलाई सत्य, निस्ठा तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ ।

विज्ञानं विदुरे – विदुरको जस्तो विज्ञान होस् ।

विदुर कौरव र पाण्डवका काका र धृतराष्ट्र एवं पाण्डुका भाइ थिए। तिनको जन्म एक दासीको गर्भदेखि भएको थियो। विदुरलाई धर्मराजको अवतार पनि मानिन्छ ।

कृतिश्च नारायणे- नारायणको जस्तो कृति होस् ।

भगवान नारायणको अवतारै अवतारका कारण उनी भगवानहरुमध्ये पनि कीर्तिमय भगवान मानिन्छन् ।

महिलाहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छ ।

श्लोक

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।

वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम् ।।

अर्थ

पद्माक्षी (लक्ष्मी) विष्णुकान्ता ‌(लक्ष्मी) घरबीच सजिऊन् सबै भरत वंशीयहरुको माझमा मौलाऊन बन्धुवर्गहरु सबै शत्रुहरु घोर पातालमा पुगुन्

श्लोक

देशे देशे च कीर्तिः प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा ।

जीव त्वं पुत्त्रपौत्त्रै स्सकलसुखयुतै र्हायनानां शतैश्च ।।

अर्थ

तिम्रा सत्कीर्ति (असल कीर्ति) राम्रा जग-मग फिँजिऊन् सुदिव्य देश-प्रदेशमा छोरा-छोरी बिचैमा रहनु र सुखले बाँचनू शताब्दी

श्लोक

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते ।।

अर्थ

जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नामले प्रसिद्ध तिमीलाई नमस्कार छ

श्लोक

जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवी कालरात्री नमोकस्तुते ।।

अर्थ

देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दु:ख हरण गर्ने जगदम्बे! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी! तिम्रो जय होस्। हे कालरात्री तिमीलाई नमस्कार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment