Comments Add Comment

दसैंमा मासु र मदिरा: यसो गरे कसो होला ?

दसैंमा घोर्ले खसी काटेपछि मात्र उल्लास आउँछ भन्ने कतिपयको मान्यता छ । त्यही अनुसार हरेकको भान्सामा खसीको पक्कु पनि पाक्ने गर्छ । खसी मात्र होइन, कुखुरा, राँगा, सुँगुर, माछा आदिको मासु पनि अत्याधिक खपत हुन्छ, दसैंमा ।

माछामासुको समुचित सेवनले स्वास्थ्यलाई हानी गर्दैन, यदि शरीर स्वास्थ्य छ भने । यद्यपि कतिपय अवस्थामा भने माछामासु हानिकारक हुन्छ । त्यसैले कुनै न कुनै रोग लागेको अवस्थामा मासु खाने वा नखाने भन्ने द्विविधा हुन्छ ।

मासु सेवन गर्ने क्रममा खासगरी मुटु रोगीहरुले सावधानी अपनाउनुपर्छ । जनवारको रक्ती अर्थात रगत त नखाएकै बेश । किनभतने त्यसमा नुनको मात्रा बढी हुन्छ । यसले उच्च रक्तचाप निम्त्याउँछ । अझ रोगी जनवार हो र त्यसको रक्ती सेवन गरियो भने थप हानी हुन्छ । किनभने रोगको किटाणु रगतमा हुन्छ, जसले मुटुमा संक्रमण गर्न सक्छ ।

यसैगरी बोसोयुक्त मासुले पनि मुटु रोगीलाई हानी गर्छ । यदि मासु खानैपर्ने भए चिल्लोरहित मासु खानु उपयुक्त हुन्छ । मसलेदार, पिरो मासु भन्दा पनि बोसोयुक्त मासु चाहि मुटु रोगीका लागि हानिकारक हुन्छ ।

दसैंमा मासुको सितनसँग मदिरा पिउने चलन पनि छ । दसैंको फुर्सदमा रमाइलो गर्नका लागि धेरैले मदिराको साथ लिन्छन् । जबकी मदिराजन्य पदार्थले स्वास्थ्यमा प्रतिकुल असर गर्छ । हुन त यो कुरा सबैलाई थाहा छ, यद्यपि उनीहरु मदिरा त्याग्न सकिरहेका हुँदैनन् ।

शरीर स्वास्थ्य र तन्दुरुस्तको कुरा आफ्नो ठाउँमा छ । कुनैपनि रोग लागेको अवस्थामा वा औषधी सेवन गरिरहेको अवस्थामा भने मदिरा सेवन एकदमै हानिकारक हुनसक्छ । मुटु रोगीका लागि यसले थप पीडा दिन सक्छ ।

अक्सर हामी मदिरासँग सितन सेवन गर्छौं । सितनको रुपमा माछामासु हुनेगर्छ । चिल्लो, पिरो, नुनिलो खानेकुरा हुन्छ । मदिरासँग यस्ता सितन सेवन गर्नु थप हानिकारक हो ।

के गर्ने त ?

मासु खाने बानी परेकालाई आफ्नै भान्सामा मगमग मासुको बास्ना चलेपछि खान मन लागिहाल्छ । मासु सेवन गर्ने नै हो भने केही कुरामा ख्याल राख्न सकिन्छ ।

जस्तो कि, तपाईं मासु अनिवार्य खानुहुन्छ भने मासुमा अरु सागसब्जी मिश्रण गर्नुहोस् । मासुमा सागसब्जी मिसाउँदा त्यो अरु बढी स्वादिलो पनि हुन्छ । जस्तो सुँगुरको मासुमा रायोको साग अति स्वादिलो हुन्छ, खसीको मासुमा पाकेको पहेंलो फर्सी मिठो हुन्छ । यसरी मासुसँग सराबरी सागसब्जी मिसाएर पकाउँदा राम्रो हुन्छ ।

साथसाथै खानामा सलादको मात्रा बढाउनुपर्छ । सलाद बढी नै खानु उपयुक्त हुन्छ । कांक्रा, मुला, गाँजर आदिको सलाद पर्याप्त मात्रामा सेवन गरेपछि पेटमा मासु कम खपत हुन्छ । त्यसैले पेट स्वस्थ्य हुन्छ ।

मदिरा पिउनुअघि चाहि पर्याप्त पानी पिउनु लाभदायक हुन्छ । तपाईं आफैले पनि यो कुरा प्रयोग गर्न सक्नुहुन्छ, यदि मदिरा पिउने बानी छ भने । मदिरा पिउनुअघि पर्याप्त पानी पिउनुहोस्, मदिराको असर शरीरमा त्यती हुँदैन जति अरुबेला हुनेगर्छ । साथसाथै मदिरा सेवन गरिरहँदा पनि बेलाबेला पानी पिउने बानी गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment