Comments Add Comment

छोरा भेट्न युरोप पुगेका दम्पत्तिले समुदायलाई नै लगाइदिए टीका

बार्सिलोना । तिलोत्तमा नगरपालिकावासी-३, शंकरनगरका ६७ वर्षीय लक्ष्मी नारायण पन्त र ६५ वर्षीय होमकुमारी पन्त यतिबेला युरोपमा छन् । दुई छोराहरु भेट्न युरोप आएका पन्त दम्पत्तिका कान्छो छोरा जर्मनीमा त जेठो स्विडेनमा । दुवै छोराहरुलाई साथमै राखेर दशैं भने मनाउन पाएनन् । जेठो छोराका परिवारसँगै स्विडेनको स्टकहोममा पन्त परिवारले दसैं मनाए ।

६५ वर्षीय होमकुमारीको दशैं सधैँको भन्दा यो पटक फरक रह्यो । उनी भन्छिन्, ‘विदेशमा पहिलो पटक दशैं मनाइयो। मैले त २ वटामात्र  छोराहरु छन् भन्ने सोचेकी थिएँ । तर, हाम्रो हातबाट टीका, जमारा र आर्शिवाद थुप्रै छोरा-छोरीहरुले लिए ।’

जर्मनी रहेका कान्छो छोरालाई टीका लगाउन नपाए पनि घरमै आएका यस क्षेत्रका थुप्रै छोराहरुलाई उनले टीका लगाइदिएकी थिइन् ।

बाबुआमासँगै विदेशमा दशैंको टीका ग्रहण गर्न पाएपछि जेठो छोरा शंकर पन्त खुशीले गदगद छन् । युरोपमा उनले ११ बर्ष बिताए ।  तर, यति धेरै खुशीको दशैं उनले पहिलो पटक मनाए ।

पन्त भन्छन्, ‘७ बर्ष ईटालीमा बसेर संघर्ष गरे, ४ बर्षदेखि स्विडेन बस्दै आएको छु । बा-आमालाई यतै बोलाएर यसरी दसैँ मनाउन पाइएला भन्ने सोचेको थिइनँ । उहाँहरुसँग टीका थाप्न साथीभाइहरुको भिडभाडले झनै खुशी बनायो।’

बागलुङ्ग गल्कोट नगरपालिका-८ का रामु चालिसे पनि यसपटक स्टकहोममा नै दशैं मनाए । पन्त दम्पत्तिबाट नै टीका र आर्शिवाद लिएका चालिसेले स्विडेनमा पहिलोपटक दशैं मनाएका हुन् । ११ बर्षसम्म स्पेन बसेका चालिसे चार महिनाअघि मात्र स्विडेन सरेका थिए ।

उनी भन्छन्, ‘स्पेनमाभन्दा पनि स्विडेनमा नेपालीहरुको जीवन झनै ब्यस्त देखियो । विकेण्डबाहेक खासै कोही फुर्सदिला देखिएनन् ।’ पन्त परिवारसँगै दशैं मनाएका चालिसेले यसपटकको दशैं झनै स्मरणीय रहेको बताए।

युरोपको ब्यस्त जीवनबारे होमकुमारीको आफ्नै ठम्याइ छ । अनलाइनखबरसँग कुराकानी गर्दै उनले भनिन्, ‘यहाँ सबै मान्छेहरु काम गर्न  जाने रहेछन् । नेपालमा भन्दा पनि यतातिर झनै दुःख गरेको देखेँ ।’

‘चाडवाडमा एकदिन छुट्टी त दिनुपर्ने होईन र ?’, उनी प्रश्न गर्छिन्, ‘टीकाको दिनमा पनि काममा जानुपर्ने चाहिँ अचम्म लाग्यो ।’

एक दशकदेखि स्पेनमा बसेका रमेश आशिकी पौडेलको दशैं भने यसपटक खल्लो रह्यो । बा-आमा बार्सिलोनामा आफूसँगै भएर पनि परिवारसँगै उनले टिका थाप्न पाएनन् । पौडेल भन्छन्, ‘यसपटकको दसैंमा खानपिन त राम्रै भयो तर निधार ख़ाली रह्यो ।’ पौडेल परिवारमा लक्ष्मीको आगमन भयो । ‘परम्परालाई मान्नै पर्यो सुत्केरोमा टीका थाप्न मिलेन’, उनले भने ।

७० वर्षीय हरिहर अर्याल फ्रान्स बस्न थालेको पनि ४ दशक बितिसक्यो । यसपटक उनले पेरिसमा तीन पुस्तासँगै दशैं मनाएका छन् । अर्याल भन्छन्, ‘हामी त यहिँ ठूलो परिवार भइसक्यौं। जर्मनीबाट भाइबुहारी आउनुभएको छ । छोराछोरी नातिनातिना यतै छन् । नेपालबाट पनि आफन्तहरु आउनुभएको छ । २५-३० जनाको जमघटमा पेरिसमै टीका लगायौं।’

गोरखा नगरपालिका- १, पोखरीथोक स्थायी घर भएका अर्याललाई नेपालमा दशैं मनाउन छुट्टै रहर लाग्छ । ‘स्वास्थ्यका कारणले यसपटक जान सकिन । ४० बर्षदेखि युरोपमा नै बस्दै आएको भए पनि धेरैपटक नेपालमा पुगेर दशैं मनाएको छु । देशमा छिट्टै सम्बृद्वि आवोस् दुर्गा मातासँग यही प्राथना गर्दछु’, उनले भने ।

 त्यसो त एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशनको वर्ष भएकाले पनि यसपटक युरोपबाट सयौंको संख्यामा एनआरएनएहरु नेपाल पुगिसकेका छन् । एनआरएनएका नेता, उम्मेद्वार तथा महाधिवेशन प्रतिनिधिहरु परिवारसँगै दशैं मनाउन ब्यस्त छन् । दशैंलगत्तै एनआरएनएहरु चुनावी रस्साकस्सीमा भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment