Comments Add Comment

दशैंमा नेताको गाउँफर्के अभियान : ‘भ्रम चिर्न’ र ‘भण्डाफोर’मै व्यस्त

२३ असोज, काठमाडौं । यस वर्षको दशैं मनाउन राजधानीबाट लाखौं मानिसहरुसँगै राजनीतिक दलका नेता र सांसदहरु पनि गाउँ–गाउँमा पुगे । दशैंका अवसरमा राजनीतिक पार्टीहरुले केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । ‘शुभकामना आदान–प्रदान’ भनिए पनि यस्ता कार्यक्रममा नेताहरु आफ्नो पार्टीको बखान र विपक्षीमाथि प्रहार गर्नमै केन्द्रित हुने गर्छन् । यसपालि पनि त्यस्तै भयो ।

गृहजिल्ला झापामा आयोजित कार्यक्रममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारको काम देखेर अघिल्ला सरकार चलाउनेहरु चकित परेको बताए । उनले राजमार्गमा अहिले खाल्डाखुल्डी नभएको दाबी गर्दै भने, ‘पहिले पहिले खाल्डाखुल्डीले गर्दा गाडीभित्रै यात्रुहरु घाइते बन्थे, अहिले त्यो स्थिति अन्त्य भएको छ ।’

उता बझाङबाट निर्वाचित कांग्रेस सांसद प्रकाश रसाइली भन्छन्, ‘दशैं तिहारमा घर जाँदा जनताका बीचमा सरकारका गलत कामको भण्डाफोर गर्ने हाम्रो योजना छ ।’

चितवनबाट निर्वाचित कांग्रेसकी सांसद उमा रेग्मी जनताले नै सरकार भएको अनुभूति गर्न नपाएको आरोप लगाइन् । सरकारले न्यायालय, गृहप्रशासनलाई आफ्नो ढङ्गले चल्न नदिएको, अराजकता फैलाएको उनको आरोप छ । यही विषयलाई आफूले गाउँका औपचारिक कार्यक्रमहरुमा प्रमुखताका साथ राखिरहेको उनको भनाइ छ ।

कांग्रेस सांसद किशोरसिंह राठोरले अनलाइनखबरसँग भने, ‘म भेटघाटमै छु । मलाई नागरिकले शान्ति सुरक्षा, महंगी, विकास निर्माणबारे प्रश्न सोधिरहेका छन् । हामीले पनि सरकारले गति लिन नसकेको कुरा भनिराखेका छौं ।’

सत्तारुढ दल नेकपाका सांसदहरु भने सरकार र सदनका राम्रा कामको गलत तरिकाले प्रचार गरिएको भन्दै त्यसलाई प्रष्ट पार्न प्रयत्न गरिरहेको बताउँछन् । नेकपाकी सांसद नैनकला ओझा भन्छिन्, ‘जनतामा भ्रम फैलाइएको छ, यसबारे प्रष्ट पार्ने प्रयत्न गाउँमा गरिँदैछ ।’

सिन्धुलीबाट निर्वाचित नेकपाका अर्का सांसद गणेश पहाडी सरकारले कानुन निर्माणमा गरेको प्रगति जनताले सही र पर्याप्त रुपमा थाहा पाउन नसकेको बताउँछन् । उनी भन्छन्, ‘वर्षे अधिवेशनमा धेरै विधेयकहरु पास गरेका छौं । कानुनहरु बनाएका छौं । यो सरकारको सफलता हो । तर, जसरी जनतालाई बुझाउनुपर्ने हो त्यो सकेका छैनौं । दशैंमा हुने जमघटमा यसबारे हामीले कुरा राख्यौं ।’

उता तराई/मधेसबाट संघीय संसदमा रहेका सांसदहरुले गाउँ जाँदा अन्य सांसदहरुले भन्दा थप एउटा प्रश्नको पनि सामना गर्नुपरेको छ । त्यो हो – संविधान संशोधनको माग के भयो ?

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य अनिल झा भन्छन्, ‘संविधान संशोधनको माग राखेर सडक आन्दोलन ग¥यौं । सरकारले सुनेन,अब प्रश्न सोध्ने जनतालाई नै तपाईहरुले उपाय सुझाउनुप¥यो भनेर भनिरहेका छौं ।’

विकास–निर्माण र चुनावी बाचा

दशैं, तिहारको, छठलगायतका अवसरमा पाएको लामो विदाको सदुपयोग सांसदहरुले अर्को ढङ्गले पनि गरिरहेका छन् । उनीहरु स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम लागि योजना छनोट गर्ने, आफुले निर्वाचनमा गरेको बाचाअनुसार भएको कामको प्रगति सुनाउने, थप गुनासा र जिज्ञासा सुन्ने गर्छन् ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ६ करोड दिएको छ । यो कार्यक्रम अन्तर्गत आयोजनाको छनोट कात्तिक मसान्तभित्र सक्नुपर्ने हुन्छ ।

छनोटमा परेका आयोजना कार्यान्वयनका लागि आगामी १५ मंसिरभित्र सम्बन्धित स्थानीय तहमा पठाइसक्नुपर्ने समयसीमा छ । ती आयोजना माघभित्र कार्यान्वयनमा नगए रकमान्तर हुनेछ ।

कालीकोटबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद दुर्गाबहादुर रावत केही दिन संसद नचल्दैमा आफ्नो निर्वाचन क्षेत्रमा जान भ्याउँदैनन् । कारण– सडकको यात्राबाट जान आउनै कम्तिमा एक हप्ताको समय लाग्छ । संसदको चौथो अधिवेशन अन्त्य भएपछि उनी तुरुन्तै आफ्नो निर्वाचन क्षेत्र गए ।

‘चुनावपछि जनतासँगको भेटघाट पातलो जस्तो भएको थियो । चाडपर्वको समयमा सबैसँग भेट हुन्छ । अर्को संसद अधिवेशन सुरु नहुँदासम्म कालीकोटमै रहन्छु’, उनी भन्छन्, ‘जनताका बीचमा रहेर स्थानीय विकास पूर्वाधार कार्यक्रमको योजना छनोट गर्ने लगायतका काम गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment