Comments Add Comment

एकता नगरे राजपाको अन्त्य सुनिश्चित : उपेन्द्र यादव

२३ असोज, सप्तरी । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीसँग एकता नगरे राष्ट्रिय जनता पार्टी (राजपा) को अन्त्य हुने चेतावनी दिएका छन् ।

समाजवादी पार्टीको राजविराज नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राजपालाई आफ्नो पार्टीसँग एकीकरण गर्नुबाहेकको विकल्प नै नभएको बताए । ‘राजपालाई समाजवादीसँग एकीकरण गर्नुको विकल्प छैन’ यादवले भने, ‘अन्यथा राजपाको अन्त्य सुनिश्चित छ ।

अबको राजनीतिक विकल्पको रुपमा समाजवादी पार्टी मात्रै रहेको उनले दावी गरे । ‘राजनीतिक विकल्पको रुपमा समाजवादी पार्टी मात्रै छ’ उनले भने, ‘यसैले समयमै एकता गर्न म आह्वान समेत गर्दछु ।’ उनले एकताको बिषयमा ध्यान दिन राजपालाई आह्वान नै गरे ।

संविधान संशोधनको विषयमा सरकारसँग गम्भीरतापूर्वक कुरा भइरहेको जानकारी दिँदै अध्यक्ष यादवले अब पनि सरकारले संशोधनतर्फ अघि नबढे बाध्य भएर आफूहरु संघर्षको बाटोमा लाग्ने दोहोर्‍याए । संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गर्ने वर्तमान सरकारको जिम्मेवारी पनि रहेकोले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिन उनले आग्रहसमेत गरे ।

नेतृ रेणुले मागिन् सरकारमा बसिरहनुको कारण 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गराउनकै लागि सरकारमा गएको र नगरिए सरकारबाट बाहिरिने बारम्बार बोलिरहँदा यहीं पार्टीका नेतृ रेणु यादवले सरकारमा बसिरहनुको जवाफ मागेकी छन् ।

पार्टी उपाध्यक्ष समेत रहेकी यादवले समाजवादी पार्टी सरकारमा रहे पनि हालसम्म संविधान संशोधन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन् ‘संविधान संशोधन गर्न दुई तिहाईको आवश्यकता थियो, त्यसैले समाजवादी पार्टी सरकारमा गएको हो । तर हालसम्म किन संविधान संशोधन हुन सकेन यसको जवाफ पार्टी अध्यक्ष उपेन्द्र यादवले दिनुपर्छ ।’

यादवले जनताको वलिदानी र संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताले अझैं अनुभूति गर्न नपाएको बताइन् । पार्टीभित्र रहेको नेता तथा कार्यकर्ताहरुको क्षमता एवम् सक्रियताको आधारमा मूल्याङ्कन हुनपर्ने तथा सिद्धान्त विपरित गर्ने जो कोहीलाई अनुशासनको कार्वाही हुनुपर्नेमा जोड दिइन् ।

संघीय शासन व्यवस्थाको नाममा व्यापक भ्रष्टाचार भईरहेको भन्दै यस्ता प्रवृतिलाई अविलम्व रोक्नुपर्नेमा उनले आवश्यकता औंल्याइन् ।

पार्टीका केन्द्रीय सदस्य अशोककुमार यादवले संघीयता समाजवादी पार्टीको परिकल्पना रहेको भन्दै यसलाई पूर्ण रुपमा संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताए । देशमा वैकल्पिक राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी नयाँ संकल्पका साथ अघि बढेको बताउँदै उनले भने ‘वर्तमान अवस्थामा समाजवादी पार्टीको विकल्प छैन, हामी हिमाल, पहाड र मधेशको हक अधिकार सुनिश्चितताकालागि अगाडि बढेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment