Comments Add Comment

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

२४ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ ।

शान्ति र अन्तराष्ट्रिय सहकार्य जुटाउन गरेको प्रयासका लागि उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।

सन् १०९८ देखि २००० सम्म चलेको सीमायुद्धपछि २० वर्षसम्म चलेको सैन्य गतिरोध अन्त्य गर्दै गत वर्ष इथियोपिया र इरिट्रियाबीच शान्ति सम्झौता भएको थियो ।

नर्वेको ओस्लोमा शुक्रबार १०० औं नोबेल शान्ति पुरस्कार विजेताको घोषणा गरिएको हो । यो अवार्ड डिसेम्बरमा प्रदान गरिनेछ । प्रधानमन्त्री आबीले ९ मिलियन स्वीडिस क्राउन अर्थात ७ लाख ३० हजार पाउण्ड पनि पाउनेछन् ।

यो अवार्डका लागि २२३ व्यक्ति र ७८ संस्था गरी ३०१ उम्मेदवार मनोनयनमा परेका थिए । उनीहरु मध्ये १६ वर्षकी ग्रेटा टून्बेर्ग समेत दावेदार थिइन् । स्वीडेनकी उनले जलवायु परिर्वतनविरुद्धको अभियानमा एक वर्षभन्दा कम समयमै विश्वव्यापी अभियानकर्मीको परिचय बनाएकी थिइन् ।

को हुन् अली ?

अप्रिल २०१८ मा इथियोपियाको प्रधानमन्त्री बनेका आबीले उदारवादी सुधारको सुरुवात गरेका थिए । उनले सयौंको संख्यामा विपक्षी कार्यकर्तालाई जेलबाट रिहा गरे । निर्वासितहरुलाई घर फर्किन दिए । उाले छिमेकी इरिट्रियासँग दुई दशकदेखि जारी संघर्ष अन्त्य गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गरे ।

तर उनको सुधार प्रयासले इथियोपियामा जातीय तनावको ढोका पनि खोल्यो, जुन हिंसाका क्रममा २.५ मिलियन मानिस घर छोड्न बाध्य भएका छन् ।

नर्वेजियन नोबेल कमिटीले भने छिमेकी इरिट्रियासँग जारी सीमा संघर्ष अन्त्यका लागि निर्णायक भूमिका खेलेका उनलाई यो सम्मान दिन लागिएको बताएको छ । ‘यो पुरस्कार इथियोपिया र पूर्वोत्तर अफ्रिकी क्षेत्रमा शान्ति र मेलमिलापका लागि काम गर्ने सबै स्टेकहोल्डरलाई मान्यता दिनु हो’ उसले भनेको छ ।

यसअघि २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो पुरस्कार जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment