Comments Add Comment

महाबलीपुरममा सी र मोदी : ताडीको जुस पिए, भरत नाट्यम नृत्यमा रमाए

२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउनुभन्दा अघिल्लो दिन शुक्रबार अपरान्ह भारतको तामिलनाडू राज्यको समुद्री तटमा अवस्थित महाबलीपुरम पुगेका छन् । त्यहाँ उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे ।

दुई नेताबीच अनौपचारिक सम्मेलन सुरु भएको छ । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सी जिनपिङलाई महाभारतका अर्जुनको तपस्या स्थल, गणेश रथ र पञ्चरथ, शोरे टेम्पल आदिको भिजिट गराउने छन् । त्यसक्रममा सी र मोदीले सँगै बसेर ताडीको जुस पिए ।

साँझ त्यहाँ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । त्यसपछि मोदी र सीले सँगै बसेर भरत नाट्याम र कथ्थककली नृत्य हेरेका छन् ।

भोलि शनिबार बिहान १० देखि १०ः ४० सम्म सी र मोदीवीच कुराकानी हुनेछ भने १०ः ५० देखि ११ः ४० सम्म भारत–चीनवीच प्रतिनिधिमण्डलवीच बैठक हुनेछ ।

बैठकपछि चिनियाँ राष्ट्रपतिको सम्मानमा दिवाभोजको आयोजना हुनेछ । अपरान्ह मोदी दिल्लीतर्फ लाग्नेछन् भने सी नेपालका लागि प्रस्थान गर्नेछन् ।

महाबलीपुरम नै किन रोजियो ?

यसका पछाडि ऐतिहासिक सन्दर्भ रहेको भारतीय मिडियाले लेखेका छन् । महाबलीपुरममा प्रशस्त मन्दिरहरु छन् । यो ठाउँको ऐतिहासिक नाता चीनसँग पनि जोडिएको छ । यहाँका शासकले विगतमा तिब्बतको सीमा सुरक्षाका लागि चीनसँग सम्झौता गरेका थिए ।

समुद्रको किनारमा रहेको महाबलीपुरम शहर पल्लव वंशका राजा नरसिंहदेव बर्मनले बसाएका थिए । यहाँ पाइने गरेका पुराना चीनी सिक्काले पनि चीनसँगको पुरानो व्यापारलाई पुष्टि गर्छ ।

चीनले तिब्बतको सीमा सुरक्षाका लागि विगतमा पल्लव बंशका तेस्रो राजकुमार बोधिधर्मका साथ सम्झौता गरेको इतिहास छ । पछि उनी बौद्ध भिक्षु बने । यही कारण चीनमा समेत बोधि सम्प्रदायले सम्मानित स्थान पाएको छ ।

मोदी र सीको यो दोस्रो अनौपचारिक भेटघाट हो । अघिल्लो वर्ष चीनको वुहानमा मोदी र सीवीच यस्तै अनौपचारिक छलफल भएको थियो । यस्तो अनौपचारिक छलफलले भारत र चीनको सम्बन्धलाई प्रगाढ बनाउने दुबै देशका अधिकारीहरुको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment