Comments Add Comment

चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न कर्मचारीहरु सडकमा

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न निजामती कर्मचारीहरु सडकमा उपस्थित भएका छन् । कर्मचारीहरुलाई नयाँबानेश्वर–माइतीघर सडकखण्डमा खटाइएको छ । उनीहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेका छन् ।

सरकारी कार्यालयहरुले चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि अनिवार्य तोकिएको स्थानमा उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन दिएको थियो । कर्मचारीहरुलाई आइतबार पनि सोही स्थानमा उपस्थित भएर सीको विदाई गर्न निर्देशन दिइएको छ ।

दुईदिने औपचारिक भ्रमणका लागि शनिबार नेपाल आएका सी आइतबार अपराह्न स्वदेश फर्किने छन् ।

केही कर्मचारीहरु लामो समयको पर्खाइको कारण थकित भएर भुइँमा बसेका छन् । केही कर्मचारीहरु भने खालि समयको सदुपयोग गर्दै सेल्फी खिचेका देखिन्छन् ।

अति विशिष्ट पाहुना सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेेेेकी थिइन् । सीलाई प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु र पञ्चकन्याले पनि स्वागत गरे । साथै नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेेेेको छ ।

चीनबाट २३ वर्षपछि उच्चस्तरीय भ्रमण भएकाले सरकारले स्वागतदेखि सुरक्षा प्रवन्धसम्म विशेष तयारी गरेको छ । सर्वसाधारण नेपाली नागरिक पनि परम्परागत पोशाक लगाएर बाजागाजाका साथ सडक किनारामा उभिएर सीको स्वागत  गरे । सडक किनारका खम्बाहरुमा चिनियाँ राष्ट्रपति सीका तस्वीर र दुवै देशका राष्ट्रिय झण्डा राखिएको छ ।

काठमाडौंका सडकलाई फूल र स्वागतद्वारले विशेषरुपमा सजाइएको छ । सीको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment