Comments Add Comment

नेपाल–चीन व्यापारको आयाम

२५ असोज, काठमाडौं । जटिल हिमाली पर्वत छिचोलेर नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतवीच साढे दुई सय वर्ष अघिदेखि परम्परागत ब्यापारिक सम्बन्ध रहेको इतिहास पाइन्छ । नेपालका उच्च हिमाली क्षेत्रका मानिसहरु रुसुवागढी नाका भएर केरुङ तथा हालको हिल्सा, यारी भएर ताक्लाकोटसम्म नुन र दैनिक जिविकोपार्जनको वस्तु खरिद गर्न चीनको तिब्बतसम्म पुग्थे ।

वस्तु विनिमयको तत्कालीन आर्थिक व्यवस्थामा आफूसँग भएको कृषि उपज दिएर त्यससँग नेपालीहरु नुन, उन, भेडा र खच्चड साट्थे । यो ब्यापारको परिमाण कति रकम बराबर थियो भन्ने कुनै अभिलेख छैन । द इकोनोमिक्स विक्लीमा वाईपी पन्तले उल्लेख गरेअनुसार सन् १८७२ मा नेपाल र तिब्बतबीच भएको सन्धीले दुबै देशका नागरिकलाई एक अर्को देशमा औपचारिक व्यापारको ढोका खोलेको उल्लेख छ । त्यसयता पनि नेपाल तिब्बत व्यापार परम्परागत रुपमा नै चलेको पाइन्छ ।

सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल–चीन दौत्य कायम भएको पछिल्लो वर्ष १९५६ सेप्टेम्बरमा नेपाल र चीन बीच आपसी समझदारीको सन्धीमा हस्ताक्षर भएपछि नेपाल चीन व्यापारको व्यवस्थापन सुरु भएको मानिन्छ ।

सन् १९६० मा नेपाल र चीनबीच पहिलो आर्थिक सायता समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयको अभिलेखमा छ । यो समय नेपालबाट चीनतर्फ चामल, खाने तेल तथा इन्धन तेल, चीनी, पीठो, खुर्सानी, चुरोट, जुत्ता, टेक्सटाइल र औषधी निर्यात हुन्थ्यो । चीनबाट भने नुन, उन, भोडा च्यांग्रा, जहाजका समान, लुब्रिकेन्टजस्ता वस्तु नेपाल भित्रिन्थे । यो सयौं मानिसले ढाडमा बोकेर तथा खच्चड, घोडा तथा चौरीलाई बोकाएर नेपाल चीन व्यापार चलेको थियो ।

त्योबेलाको नेपाल–चीन व्यापार

द इकोनोमिक्स विक्लीले नेपाल चीनबीच ६१ वर्षअघिको व्यापारबारे उल्लेख गरेको विवरण अनुसार सन् १९५८/५९ मा चीनसँग नेपालको आयात दर कुल आयातको ०.६० प्रतिशत मात्रै थियो । १९५९/०६० मा यो दर बढेर ०.९८ प्रतिशतमा पुगेको थियो ।

यस्तै १९५८/५९ मा कुल निर्यातको १.०५ प्रतिशत चीनसँग थियो भने १९५९/०६० मा निर्यातदर ०.९८ प्रतिशत थियो । त्यतिबेला नेपालको व्यापार पूर्ण रुपमा भारतसंग मात्रै केन्द्रित थियो । चीनबाहेकका मुलुकसँगको व्यापार नगन्य भएका कारण तिब्बतसँग बाहेकको सबै व्यापार भारतसँग मात्रै थियो ।

नेपाल चीन आधुनिक व्यापारको समय

सेप्टेम्बर १५, १९६१ मा नेपाल–चीन बीच काठमाडौं देखि तिब्बत जोड्ने सडक बनाउन सम्झौता भएपछि नेपाल चीन आधुनिक ब्यापारको युग सुरु भएको मानिन्छ । परम्परागत रुपमा रहेको व्यापारलाई दुईपक्षीय हितका रुपमा व्यवसायिक बनाउन यसपछिको समय महत्वपूर्ण मानिन्छ । चीन सरकारले सन् १९८० को मध्यतिर नेपालका लागि आर्थिक तथा प्राविधिक सहकार्यका लागि नेपाललाई सहयोग गरेको थियो ।

यसका अलवा नेपाल र चीनबीच अन्तर सरकारी व्यापार कमिटी, नेपाल चीन द्वीपक्षीय कृषि सहकार्य कमिटी, दुई देशबीचको नाका कानुनमा छलफल गर्न, नाकाका भन्सारसँग वार्ता र सहकार्य गर्न, द्वीपक्षीय पर्यटक सहकार्य गर्न पनि विभिन्न समितिहरु बनेका छन् । नेपाल तिब्बत चीन व्यापार कमिटी, उर्जा सहकार्य कमिटीलगायत दर्जनौं समितिहरु नेपाल चीनवीचमा रहेका छन् । जसले नेपाल चीन व्यापारलाई हालको अवस्थासम्म ल्याई पुर्‍याएको छ ।

नेपालको दोस्रो ठूलो व्यापार भएको मुलुक चीनसँग

परम्परागत तर औपचारिक नेपाल–चीन व्यापारको सुरुवात सन् १८७२ लाई मान्ने हो भने १४६ वर्षमा नेपाल चीन व्यापारले ठूलो आकार ग्रहण गरेको छ । पछिल्लो ५ वर्षको विवरणलाई हेर्ने मात्रै हो भने पनि नेपाल र चीनको व्यापार ८ खर्ब ११ अर्ब भन्दा बढी छ । नेपालले वस्तु आयात गर्ने दोस्रो ठूलो बजार बनेको चीनसँग पाँच आर्थिक वर्षमा मात्रै नेपालको व्यापार घाटा ७ खर्ब १ अर्ब भन्दा धेरै छ ।

आर्थिक वर्ष ०७५/०७६

आर्थिक वर्ष ०७५/०७६ मा नेपालले १६१ मुलुकसँग व्यापार गरेको थियो । उक्त वर्ष नेपालले १४ खर्ब १८ अर्बको वस्तु आयात गर्दा २ खर्ब ५ अर्बको आयात चीनबाट गरेको थियो । यस्तै ९७ अर्ब १० करोडको वस्तु निर्यात गर्दा नेपालको चीनसँग २ अर्ब १० करोडको वस्तु निर्यात गरेको थियो । उक्त आर्थिक वर्ष चीनसँगको नेपालको व्यापार घाटा २ खर्ब ५ अर्ब ५१ करोड भन्दा धेरै थियो ।

आर्थिक वर्ष ०७४/०७५

१२ खर्ब ४५ अर्बको वस्तु आयात गर्दा १ खर्ब ५९ अर्बको आयात चीनबाट गरेको थियो । यस्तै ८१ अर्ब ३५ करोडको वस्तु निर्यात गर्दा नेपालको चीनसँग २ अर्ब ४३ करोडको वस्तु निर्यात गरेको थियो । उक्त आर्थिक वर्ष चीनसँगको नेपालको व्यापार घाटा १ खर्ब ५७ अर्ब ५४ करोड भन्दा धेरै थियो ।

भन्सार विभागका अनुसार नेपालले चीनबाट नेपाली आवश्ययकताका सबैखाले वस्तु आयात गर्ने गरेको छ । भान्साका लागि तरकारीदेखि जनैपूर्णिमाको जनै समेत चीनबाट नेपालमा आयात भइरहेको छ । लत्ता कपडा, मोटर, मेशिन, खाद्यन्न, मिठाई, खेलौना, जस्ता सामाग्रीसमेत नेपालले चीनबाट आयात गरिरहेको भन्सार विभागले जनाएको छ ।

नेपालबाट भने छाला, कार्पेट र जडिबुटी तथा कृषिजन्य उत्पादन चीनतर्फ निर्यात भइरहेको छ । व्यापार तथा निकासी प्रर्वधन केन्द्रका अनुसार नेपाल चीन व्यापार बृद्धिका लागि चीन सरकारले ८ हजार नेपाली उत्पादनमा भन्सार महशुल नलाग्ने व्यवस्था मिलाएको छ ।

तर, मुलुकको उत्पादनमा जनशक्ति नै नभएको र उपभोग्य जनशक्ति धेरै भएका कारण नेपालले चिनियाँ बजारको फाइदा लिन नसकेको निकाशी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा बताउँछन् ।

चीनमा नेपाली वस्तु निर्यातको मुख्य चुनौती गुणस्तरीय उत्पादन, चिनका बजारसम्म पुग्ने सहज पहुँच मार्ग र पूर्वाधार कमजोर हुनु नै प्रमुख भएको नोपल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल–चीन पहुँचमार्ग पूर्वाधारको सहजतामा हुने सम्झौताले वाणिज्य व्यापारले गति लिन सक्ने वाणिज्य मन्त्रालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment