Comments Add Comment

हराउँदै गुल्मीको मौलिक सरायँ नाच

२७ असोज, गुल्मी । गुल्मीको पुरानो मौलिक सरायँ नाच लोप हुन थालेको छ ।

तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मीलगायत आसपासका क्षेत्रहरुमा नाचिन्थ्यो । यो एउटा खेल पनि हो ।
प्रायः सरायँ नाच दशैंको टीकाको दिनदेखि कोजाग्रत पूणिर्माको दिनसम्म देखाउने प्रचलन थियो ।

परापूर्वकालदेखि नाच्न थालिएको सरायँ घरबाट टाढा गएकाहरु दशैंंमा घर फर्किँदा साथीसँगीसँग भेटिने अवसर पनि थियो ।

तर, नयाँ पिढिँमा हस्तान्तरण हुन नसक्दा यो नाच दूर्लभ हुँदै गएको छ । पछिल्लो समयमा केही ठाउँमा मात्रै संस्कृति जोगाउने नाममा या नाच देखाउने गरिएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका-४ को जोगिथुममा यसपटक सरायँ नाच प्रर्दशन गरिएको छ । केही स्थानमा अन्य ठाउँबाट ल्याएर अहिलेका पुस्तालाई जानकारी गराउने उद्देेश्यले नाच प्रदर्शन गरिएको छ ।

नाच हेर्ने युवाहरुको उपस्थिति राम्रै भए पनि नाच्न भने अघि सर्दैनन् । परम्परागत रुपमा गुल्मीका अर्जै, अमंरपुर, इस्मामैदान, धुर्कोट, ताल्तुङ्ग, धागिथुम, चोयगालगायतमा यो नाच देखाइन्छ । तर, यी ठाउँमा नाच्नेहरुको संख्या निकै घटिसकेको छ ।

हिन्दु धर्म मान्नेहरुको लागि बिशेष चाडको रुपमा मनाइने बिजया दशमी असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा मनाउने गरिन्छ । मन्दिरमा चढाएको तरबार निकालेर फन्काउँदै र नचाउँदै एक आपसमा जोडिएर सराय नाच्ने गरिन्छ ।

सरायँ नाच दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच हो । यो गुल्मी, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपीठहरुमा नाचिन्छ ।

नाच दशैं सकिएपछि एकादशीदेखि पूर्णीमासम्म पहाडका बस्तीमा यो नाच देख्न पाइन्छ । यसलाई कतिपय युद्धकला र खेल पनि हो । पञ्चेबाजासहित तरबार र खुँडा नचाइ एकापसमा जोडिएर सरायँ नाच खेलिने गरिन्छ ।

यसरी नाच्दा देवी भगवति प्रसन्न हुने जनविश्वास रहेको पुराना पुस्ताको तर्क रहेको छ । पछिल्लो समय युवा पुस्ताहरुमा मनोरञ्जनका साधन इन्टरनेट र विकसित प्रविधि भएकाले यस्ता संस्कृति संरक्षणमा कम चासो हुने गरेको सरायँ नाच हेर्न गएकाहरुको भनाइ छ ।

महिलाहरु अघि सरे

परापूर्वकालदेखि खेलिदै आएको सरायँ नाचलाई अहिलका युवा पिढीँले अनुशरण गर्नुपर्ने इस्मा गाउँपालिका-१ का बाबुराम पन्थीले जोड दिए ।

पुराना पुस्ताहरु सकिदै जानु, नयाँ पिँढीहरु विदेश पलायन हुनु र भएका पनि नाच्नतर्फ चासो नदेखाउनुले पहिले भन्दा घटदै गएको रेसुङ्गा नगरपालिका-४ का झबि पाण्डेयले बताए ।

सबैपक्ष लागि परेर यसलाई जोगाउनु पर्छ भन्नेतर्फ अहिलेका पुस्ताहरु लाग्नु पर्ने उनको जोड छ । सरायँ नाच हुने स्थानमा महिलाहरुको पनि उपस्थिति हुन थालेको छ ।

पुरुषहरुले मात्रै खेल्ने गरे पनि यसप्रति नाच्ने भन्दा हेर्ने मात्रै भएकोले महिलाहरु पनि सहभागी हुन थालेका छन् ।

पुरुषहरु कमाइ गर्न विदेशिएकाले पहिलेको संस्कारलाई जोगाउन महिलाहरु पनि सरायँ नाच नाच्ने गरेको अगुवा महिलाहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment