Comments Add Comment

सी भ्रमणको सुरक्षा व्यवस्थाप्रति गृहमन्त्री खुशी

नेपालको सुरक्षा व्यवस्था विश्वस्तरको भएको दावी

२७ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थाको प्रशंसा गरेका छन् ।

सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको उनले टिप्पणी गरे ।

सी को भ्रमणका क्रममा प्रदान गरेको सुरक्षाले नेपालको सुरक्षा व्यवस्था विश्वस्तरमै राम्रो रहेको सन्देश प्रवाह भएको पनि गृहमन्त्री थापाले बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीसँगको बैठकमा उनले चिनिया पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको जानकारी गराए ।

गृहमन्त्री थापाले आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, नेपाली सेनाका उपरथी शशीचन्द्र बहादुर सिंह लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment