Comments Add Comment

चुनावबाटै एनआरएनएको नेतृत्व चयन गर्नुपर्छ : आचार्य

२७ असोज, काठमाडौं । एनआएनएको नवौं विश्व सम्मेलन मंगलबारदेखि बिहीबारसम्म काठमाडौंमा हुँदैछ ।

नयाँ नेतृत्व चयन गर्ने सम्मेलनमा सहभागी हुन ८१ देशहरुका दुई हजार ८ सय बढी प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

यसपटक अध्यक्षका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो प्यानल नै घोषणा गरे ।

आचार्य समूहबाट उपाध्यक्षमा अमेरिकाका डा. केशव पौडेल मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रबिना थापा (अमेरिका) को उम्मेदवारी घोषणा भएको छ ।

महासचिवमा बेल्जियम निवासी जानकी गुरुङ र कोषाध्यक्ष वर्तमान सह–कोषाध्यक्ष सोम सापकोटाको उम्मेदवारी घोषणा भएको छ ।

आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावीसमेत गरे ।

यसअघि नै काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका अध्यक्षका अर्का उम्मेदवार कुमार पन्तले भने आफ्नो प्यानलको अन्य उम्मेदवारको नाम घोषणा गरेका छैनन् । पन्त समूहका एक सदस्यले आफूहरु पर्ख र हेरकै अवस्थामा रहेको बताए । ‘एउटै टिम पनि बन्न सक्छ’ उनले भने ।

पत्रकार सम्मेलनमा आचार्यले एनआरएनएको चुनावी प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने पनि बताए । ‘अर्को समूह (पन्तको टिम) सँग हाम्रो सहमति भएको छ– अलि धेरै मत ल्याउनेलाई अलि कम मत ल्याउनेले सहयोग गर्ने गरी चुनावी प्रक्रियामा गएर नेतृत्व चयन गर्ने,’ उनले भने ।

‘पसिना फन्ड’ नामक कोष

आचार्यले मर्यादित र व्यवस्थित वैदेशिक रोजगार देश निर्माणको आधार बनाउन र नेपालको नवनिर्माणमा प्रयोग गर्न भन्दै ‘पसिना फन्ड’ नामक कोषको स्थापना गर्ने योजना अगाडि सारेका छन् । ‘खाडी राष्ट्रहरुमा काम गरिरहेका नेपालीहरुको बचतमार्फत नेपालको नवनिर्माणमा प्रयोग हुने गरी एउटा कोष खडा गर्न प्रयत्न गर्नेछु’ आचार्य पत्रकार सम्मेलनमा भने, ‘पसिना फण्ड कोषको सञ्चालन पारदर्शी ढङ्गले गरिनेछ ।’

दुई वर्षभित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तीमा दोब्बर गर्ने आचार्यको प्रतिबद्धता छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या बुझन र समाधान गर्न एनआएनए हटलाइनको ब्यवस्था गर्ने, एनआएनए सीप विकास केन्द्र स्थापना गर्ने प्रतिबद्धता आचार्यले गरेका छन् ।

अहिले नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय सुरक्षित रोजगारी र कामदारको जीवनरक्षाको विषय भएको उनको तर्क थियो ।

‘नेपाल चिनौं’ अभियान

‘नेपाल चिनौं’ अभियान अन्तर्गत विदेशमा हुर्किएका पुस्तालाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने र युवा उद्यमशीलताको विकास र सडक सुरक्षा लगायतका कार्यक्रम अघि सार्न ठोस पहल गर्ने पनि आचार्यको प्रतिबद्धता छ ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटनसम्बन्धी कार्यक्रम गर्न एनआरएनएका सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) लाई प्रोत्साहित गर्ने, सरकार र पर्यटन बोर्डसँग समन्वय गरी काम गर्ने योजना उनले अघि सारे ।

आगामी २ वर्षमा एनआरएनएको सदस्य एक लाख पुर्‍याउने लक्ष्य पनि आचार्यले राखेका छन् । संघलाई सम्पूर्ण गैरआवासीय नेपालीको साझा र अपनत्व महसुस हुने खालको संस्था निर्माण गर्न आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment