Comments Add Comment

कुलेखानी तेस्रोको परीक्षण उत्पादन सुरु, प्राधिकरण अब रुग्ण आयोजना मुक्त

२८ असोज, काठमाडौं । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । योसँगै प्राधिकरणले आफू अन्तरगत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजनालाई पार लगाएको छ ।

कुलेखानी तेस्रो प्राधिकरण आफैंले बनाइरहेको अन्तिम आयोजना हो । अब प्राधिकरणले आयोजनाको निर्माण कम्पनी मोडलमा मात्रै गर्ने घोषणा गरिसकेको छ ।

विभिन्न कारणले प्राधिकरणलाई आर्थिक बोझ बनिरहेका चमेलिया र त्रिशुली थ्री ‘ए’ ले उत्पादन थाले पनि कुलेखानी तेस्रो आयोजना अन्योलमा थियो । तर, दशैंअघिबाट परीक्षण उत्पादन सुरु गरेपछि अन्योलग्रस्त आयोजनाले पार पाएको बताउँछन्, आयोजना प्रमुख सुवासकुमार मिश्र ।

‘हामी यो आयोजनाको परीक्षणमा छौं, यहाँबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणमा जोडिइसक्यो,’ उनले भने, ‘कुलेखानी १ र २ चलेका बेलामा मात्रै तेस्रो आयोजना चलाउन सकिने भएकाले त्यसैअनुरुप परीक्षण भइरहेको छ ।’

उनले केही समयभित्रै परीक्षण सकाएर आयोजनाको निर्माण सकिएको आपचारिक घोषणा गरिने बताए । अनिश्चितताको भूमरीबाट निकालेर आयोजना सम्पन्न गर्ने अवस्थामा ल्याउन प्राधिकरणले निकै महिनेत गर्नुपरेको उनको भनाइ छ । ठेकेदार कम्पनी फिल्डमै नआउने र दुई-चार जना कामदार लगाएर छाडिदिएको विषम परिस्थितिबाट एक-एक काम ताकेता गरी-गरी सम्पन्न गरिएको उनी बताउँछन् ।

‘अन्योलहरुकै बीचमा निकै मिहिनेतका साथ आयोजना सम्पन्न गर्न सक्यौं,’ मिश्रले भने, ‘म आफैं चार वर्ष यो आयोजनामा बसेँ, यहाँ चुनौतीका बीच काम गर्दा एउटा डिप्लोमा नै हासिल गरेको जस्तो अनुभव भयो । ‘

यो आयोजना चिनियाँ ठेकेदार कम्पनीको बेवास्ताको शिकार भएको थियो । त्यसमाथि यसअघिको प्राधिरकणको नेतृत्वले आयोजना व्यवस्थापनामा ध्यान दिएन ।

हाईड्रो तथा इलेक्ट्रोमेकानिकल तर्फको ठेकेदार चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले यो आयोजनामा चरम लापरवाही गरेको थियो । प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट असुल्ने निर्णय प्राधिकरणले गरिसकेको छ ।

आयोजनाको शुरुको लागत अढाइ अर्ब रुपैयाँ अनुमानित थियो । निर्माण अवधि लम्बिँदा साढे चार अर्ब रुपैयाँ बढी खर्च भएको छ । कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् ।

पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगावाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा पुर्‍याएर १४ मेगावाट उत्पादन हुँदैछ ।

अपि्रल २००८ देखि सुरु भएको आयोजनाको निर्माण डिसेम्बर २०११ सम्ममा सक्ने लक्ष्य थियो । तर, तोकिएको समय गुज्रेकै ८ वर्षपछि आयोजनाले बल्ल परीक्षण उत्पादन थाल्न सकेको छ । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो ।

नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको हो । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत करिब ५ अर्ब पुगेको अनुमान छ ।

यो आायेजनाको निर्माण लागत प्रतिमेगाट ३३ करोड बढी पर्ने अनुमान छ । समान्यतया अहिले प्रतिमेगावाट करिब २० करोड खर्च हुन्छ ।

अहिले पनि प्राधिकरण अन्तरगत आयोजना निर्माणका लागि दर्जनभन्दा पनि कम्पनी तथा सहकार्य कम्पनी स्थापना भएका छन् । चिलिमेबाट थालिएको कम्पनी मोडलमै माथिल्लो तामाकोसी लगायतका आयोजना बनिरहेका छन् ।

यसअघि सिधा प्राधिकरणमार्फत बनाइएका प्रायः सबै आयोजनाहरुमा समस्या आएको थियो । मकवानपुरको सुगम स्थानमा रहेको १४ मेगावाटको आयोजना बनााउन झण्डै १२ वर्ष लाग्नुले नै यसको पुष्टी गर्छ ।

गत वर्षबाट मात्रै उत्पादन थालेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘ए’ पनि प्राधिकरणको ‘ऐँजेरु’ बनेको थियो ।

३ वर्ष अघिसम्म प्राधिकरण अन्तरगत बनिरहेका चमेलिया, माथिल्लो त्रिशुली थ्री ए र कुलेखानी आयोजना अति रुग्ण आयोजनामा सूचीमा थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ व्यवस्थापनपछि रुग्ण आयोजनाहरुलाई टुंगोमा पुर्‍याउन प्राथमिकता दिँदै आएका छन् ।

आयोजनाको व्यवस्थापनदेखि उच्च अधिकारीहरु समस्या समाधानका लागि फिल्डमा आफैं खटिने तथा काम नगर्ने ठेकेदारसँग सम्झौता तोडेर कालोसूचीमा राख्ने लगायतमा काममा प्राधिकरणले सक्रियता देखाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment