Comments Add Comment

बुटवलका युवाले बनाए व्याट्रीबाट चल्ने चारपाङ्ग्रे बाइक

२८ असोज,बुटवल । बुटवल देवीनगरका एक युवाले व्याट्रीबाट चल्ने चार पाङग्रे मोटरसाइकल बनाएका छन् । बुटवलको अक्सफोर्ड मावि कक्षा १२ का विद्यार्थी कपिल ज्ञवालीले एटीभी क्वाड नामको चार पाङग्रे मोटरसाइकल बनाएका हुन् ।

ज्ञवालीले नेपालमा पहिलोपटक आफूले यस्तो मोटरसाइकल बनाएको दावी गरे । विद्युत चार्ज गरेर चलाउन सकिने यो मोटरसाइकल प्रतिघण्टा करिब ६५ किलोमिटर गतिमा गुड्ने उनले दाबी गरेका छन् ।

मोटरसाइकलमा दुईजना बसेर यात्रा गर्न सकिन्छ । मोटरसाइकलको साइज २३५ सेन्टिमिटर लम्बाइ तथा ११५ सेन्टिमिटर चौडाई रहेको छ ।
लेथ मेसिनको प्रयोगबाट वेल्डिङ, वायरिङ आफैले गरेर मोेटरसाइकल तयार गरेको उनले बताए ।

मोटरसाइकल बनाउन अहिलेसम्म करिब ३ लाख रुपैयाँ खर्च भएको र फिनिसिङसहित अन्तिम रुप दिन अझै एक लाख रुपैयाँ जति लाग्ने उनले बताए । हाल लिड एसिड व्याट्रीको प्रयोग गरिएको र पछि लिथेनियम व्याट्री प्रयोग गर्ने उनको भनाइ छ ।

लिथेनियम व्याट्री प्रयोग गर्दा बाइकको गति वृद्धि हुन्छ । आफूले बनाएको मोटरसाइकल मंगलबार ज्ञवालीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीबाट टेष्ट ड्राइभ गराएका छन् ।

स्थानीय जनप्रतिनिधि र राज्यका विभिन्न निकायका अधिकारीहरुले सहयोग भए थप प्रोत्साहन हुने उनको भनाइ छ । ‘पर्याप्त पुँजी र उपकरण भए नेपाली मौलिकता अनुसारको विद्युतीय सवारीसाधन नेपालमै बनाउन सकिन्छ,’ ज्ञवालीले भने ।

सानैदेखि नयाँनयाँ कुरा खोज गर्ने कपिलले सरकारको सहयोग भएमा नयाँ आविष्कार गरेर देशलाई योगदान गर्ने बताउँछन् । ज्ञवालीले यसअघि रिमोटबाट उडाउन मिल्ने चारवटा पखेटा भएको क्वाड कप्टर बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment