Comments Add Comment

छेन्दु पुगेर मुख्यमन्त्रीले भने : नेपाल–चीन सम्बन्ध नयाँ ढंगले अघि बढ्छ

२८ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालैको नेपाल भ्रमणले नेपाल-चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् । उनले सीको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए ।

चीनको छेन्दुमा विकास र सहकार्यका लागि बीआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको मंगलबार आयोजित उद्घाटन समारोहमा बोल्दै उनले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गरे । ‘दुई मुलुकबीच भाइ-भाइको सम्बन्ध छ, त्यही अनुसार सहकार्य र सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध चिनियाँ राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ ।’

उनले छिमेकको विकासलाई साथ साथै अघि बढाउन चीनले अघि सारेको बीआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि बीआरआई महत्वपूर्ण रहेको बताए । सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउँदै लुम्बिनी भ्रमणको लागि अनुरोध गरे । सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदान प्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उनले बताए । सिचुवान र प्रदेश ५ बीच तीन महिना अघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment