Comments Add Comment

भोटेकोशीबाट असोजभित्रै ४५ मेगावाट विद्युत् उत्पादन

२८ असोज, मेलम्ची । जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महिना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो ।

आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिए । जुरे पहिरोमा विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महिना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो । आयोजनाले टावर मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भए पनि विसं २०७२ को भूकम्पमा आयोजनामा पुनः क्षति पुगेको थियो । भूकम्पमा क्षति भएको आयोजना पुनःनिर्माण शुरु हुँदै गर्दा भोटेकोशीको बाढीले आयोजनामा धैरै क्षति पुर्‍याएको थियो ।

आयोजनाको अहिले हेडवर्क्सका काम सकिएको र पानी भर्ने काम भइरहेको स्थापितले जानकारी दिए । ‘हामी अहिले हेडवर्क्सको परीक्षणमा छौँ’, स्थापितले भने, ‘विद्युत् गृह परीक्षणको प्रक्रियामा छौँ ।’

असोजभित्र पुनःनिर्माण सकेर कात्तिक पहिलो सातादेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी भइरहेको स्थापितले जानकारी दिए । शुरुमा पहिलो युनिट परीक्षण गर्ने र त्यसपछि अरू युनिट पनि चलाउने तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।

साढे चार वर्षदेखि विद्युत् आयोजना अवरुद्ध हुँदा अर्बौं क्षति भएको आयोजनाले जानकारी दिएको छ । आयोजना पुनःनिर्माणका लागि सात अर्ब रुपैयाँ खर्च हुने महाप्रबन्धक स्थापितले जानकारी दिए  । ‘यो रकम नयाँ आयोजना निर्माण गर्दा लाग्ने खर्च जत्तिकै भयो’, महाप्रबन्धक स्थापितले भने, ‘क्षति धेरै भयो, लागत पनि बढ्यो ।’

आयोजनाको हेडवर्क्स, सुरुङ र पेनस्टक पाइपमा समेत क्षति पुगेको थियो भने इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेको आयोजनाले जानकारी दिएको छ । भूकम्पमा अन्य संरचनामा मात्रै क्षति भए पनि बाढीले भने बाँध र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ ।

आयोजना बन्द हुँदा कति क्षति भयो त्यो अहिले भन्न नमिले पनि भूकम्पले मात्रै तीन अर्ब बढी क्षति भएको आयोजनाका महाप्रबन्धक स्थापितले बताए । आयोजनाले शुरुमा ३६ मेगावाट मात्रै विद्युत् उत्पादन गरे पनि सन् २०११ मा विद्युत् खरीद सम्झौतापछि ४५ मेगावाट उत्पादन गरेको थियो ।

जुरे पहिरोले भोटेकोशी बन्द भए पनि शेयर माग गर्दै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए । पछि त्यतिबेलाका प्रमुख तीन पार्टीकै नेतृत्वमा भोटेकोशीविरुद्ध आन्दोलन चर्किएपछि जिल्लावासीलाई छ प्रतिशत शेयर दिन भोटेकोशी तयार भएको थियो ।

शेयर दिन तयार भए पनि आयोजना पुनः बन्द भएपछि त्यसको प्रक्रिया अघि बढेको छैन । आयोजना पुनः सञ्चालनमा आएपछि आफूहरुसँग गरेको सम्झौता कार्यान्वयनमा दबाब दिने स्थानीयवासीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment