Comments Add Comment

व्यक्तिमा अड्किएर अगाडि बढ्न सकिन्न : पारस

म आईसीसीको निलम्बन फुकुवाको मिति कुरिरहेको थिएँ

आज मैले कप्तानी त्याग गरेँ । तर, यो अनायास लिएको निर्णय होइन । म कप्तान भएको भएर नेपाली क्रिकेट यहाँसम्म आइपुगेको पनि होइन र मैले कप्तानको भूमिका छाड्दैमा नेपाली क्रिकेट फेरि पछि धकेलिने पनि होइन ।

मैले राजीनामाको बारेमा आफ्ना निकटका व्यक्तिहरुसँग छलफल गरेँ । के गर्दा ठीक हुन्छ, के गर्दा बेठिक हुन्छ भनेर राय लिएँ । त्यसपछि निर्णयमा पुगेको हुँ । हिजै मात्र नेपाली क्रिकेटको लागि एउटा सकारात्मक समाचार आयो । आईसीसीले नेपालको निलम्बन फुकुवा गर्‍यो । म यही निर्णयको प्रतिक्षामा बसिरहेको थिएँ । अर्कोतर्फ, क्यानमा नयाँ नेतृत्व आएको छ । त्यसैले यो (पदत्याग गर्ने) सही समय हो भन्ने लाग्यो । सही निर्णय लिएँ भन्छु ।

हाम्रो ध्यान भनेको को कप्तान बन्यो, को अध्यक्ष बन्यो ? कसले कति रन हान्यो ? कसले जित्यो भन्नेमा हुन्छ । नेपाली क्रिकेट समग्रमा अगाडि बढ्ने हो भने हामी व्यक्तिभन्दा बाहिर निस्किनु पर्ने बेला आएको छ । पदाधिकारी जो पनि होस्, कप्तान जो पनि होस् अथवा खेलाडी जो होस् सबैको सोच भनेको नेपाली क्रिकेट अगाडि कसरी बढ्छ भन्ने हुनु पर्‍यो । त्यो हुने हो भने हामी अवश्य अहिलेको भन्दा पनि राम्रो नतिजा निकाल्न सक्छौं ।

आफुले गरेको कप्तानीमा म निकै सन्तुष्ट छु । विशेषगरी प्रशिक्षक र खेलाडीको साथ महत्वपूर्ण रह्यो । मेरो लागि सबैभन्दा बलियो पक्ष भनेकै खेलाडी र प्रशिक्षकहरु हुनुहुन्थ्यो । रोय डायस, पुबुदु दासानायकेदेखि उमेश पटवालसम्म । त्यस्तै, जगत टमाटा लगायत सबैले मलाई उतिकै साथ र सहयोग गर्नुभयो ।

०००

मेरो त सपना पनि थिएन नेपालको लागि क्रिकेट खेल्ने । तर भाग्यमा अर्कै लेखेको रहेछ । उमेर समूह खेल्दै गएपछि राष्ट्रिय टिमसम्म पुग्दा राम्रो गर्दै गएँ ।

२००४ मा नेपाली सिनियर टिममा डेब्यु गरेको हुँ । त्यसबेलादेखि अहिलेसम्मको यात्रालाई पछाडि फर्किएर हेर्दा आफैं अचम्भित हुन्छु । मलाई के लाग्छ भने हामीले हाम्रो घरेलु संरचनालाई बलियो बनाउने हो भने आगामी दिनमा टेष्ट मान्यताप्राप्त राष्ट्र बन्न सक्छौं । त्यसको लागि सबै अहिलेदेखि नै लाग्नु पर्छ ।

यो पनि पढ्नुहोस निर्विकल्प कप्तानको पदत्याग

मैले कप्तानबाट मात्रै राजीनामा दिएको हुँ । अवश्य म देशको लागि अझै खेल्ने छु । केही दिन विश्राम गर्छु । तर अझै पनि नेपाली क्रिकेट टिमको लागि खेल्ने इच्छा छ । अब आउने नयाँ टिम कमिटीले निर्णय गर्ने हो पारस खड्का खेल्न सक्छ कि सक्दैन भनेर । क्रिकेट भनको मेरो लागि सबैभन्दा शुद्ध चिज हो । यो क्रिकेटलाई म केहीसँग पनि साट्न सक्दिनँ ।

साढे तीन वर्षदेखि क्यान निलम्बनमा परेपछि क्यानको कोहीसँग कुरा पनि भएको छैन । त्यस्तो नराम्रो भएको पनि छैन । हामी क्रिकेट खेलिरहेका थियौं । आईसीसीले हाम्रो लागि समन्वयनकारी भूमिका खेलेको थियो । हामीले विगतमा के भयो भन्दा पनि अब के ? भन्नेतर्फ लाग्नुपर्छ ।

पहिले पैसा थिएन । यो छैन, त्यो छैन भन्ने ठाउँ थियो । तर अहिले त्यस्तो छैन । क्यानले काम गरेन भने समर्थक र क्रिकेटप्रेमीले आवाज उठाउन सक्छन् । नेपाली क्रिकेटलाई चाहिने सबै स्रोत र साधनहरु छन् । अब यो स्रोत र साधन कसरी सदुपयोग गर्ने भन्ने जिम्मेवारी क्यानको हो, पदाधिकारीको हो ।

जिन्दगीमा केही कुरा पनि स्थायी हुदैन । तर एउटा कुरा हामीले स्थायी बनाउन सक्छौं । त्यो हो, नेपाल क्रिकेटको प्रगति । सबैले कडा परिश्रम गर्नु पर्छ । तर अब नेपाली खेलाडीहरुको मेहनतले मात्रै पुग्दै पुग्दैन । सबैले एउटै विचार, धारणा राखेर अघि बढ्नु पर्छ । क्रिकेट संघमा आएका जो जो व्यक्तिहरु हुनुहुन्छ उहाँहरुले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने हुन्छ ।

०००

पारस खड्का भनेको नेपाली क्रिकेट होइन । यहाँ धेरै राम्रा खेलाडी छन् । मैले अवसर पाएँ । म भाग्यमानी थिएँ । सहि स्थानमा राम्रो प्रदर्शन गरेँ, त्यसैले म यो स्थानमा छु । भोलि गएर एउटा व्यक्तिमा अड्किने हो भने हामी कहिले पनि अगाडि बढ्न सक्दैनौं ।

मेरो कप्तानीमा नेपालले गरेको उपलब्धि २०१४ को टी–२० विश्वकप हो । यो मेरो लागि स्मरणीय क्षण मान्छु । अर्को ठूलो उपलब्धि भनेको एकदिवसीय मान्यता पाउनु जस्तो लाग्छ । मेरो कप्तानीमै नेपाललाई एकदिवसीय मान्यता दिलाएँ । हामी सबैको सपना थियो । त्यो पूरा भयो ।

यो पनि पढ्नुहोस सबैका प्रिय कप्तानले लिएको अप्रिय निर्णय

जतिबेला नेपाली क्रिकेट हार्छ, त्यसैलाई खराब क्षण मान्छु म । जस्तो केही महिनाअघि हामी टी–२० विश्वकप ग्लोबल छनोटमा सिंगापुरसँग हार्‍यौं ।

अब टिमले राम्रो गर्दैन भने पदाधिकारीले जति नै राम्रो गरे पनि काम छैन । फेरि, खेलाडी मात्रै राम्रो भएर पनि क्रिकेट टिम राम्रो हुन्छ भन्ने हुँदैन । क्रिकेट संघले खेल र खेलाडीलाई सबैभन्दा प्राथमिकतामा राख्नु पर्‍यो । त्यो प्राथमिकतामा राखेर अघि बढ्दा धेरै कुराहरु पुग्छ ।

हामी नयाँ सोच र संरचनाका साथ अगाडि बढ्दै छौं । यो कुरामा कुनै दुई मत नै छैन । २०२० को जनवरी र फेब्रुअरीमा अमेरिका, ओमान नेपाल आउँदै छन् । आईसीसी विश्व क्रिकेट लिग–टु को पहिलो राउण्ड सुरु हुदैछ । अब हामीले यतातर्फ ध्यान दिनु पर्छ । हाम्रो भविष्य यसले पनि निर्धारण गर्छ ।

नयाँ नेतृत्वले अब नयाँ सोच र नयाँ ढंगले अघि बढ्नु पर्छ । त्यसको लागि मेरो तर्फबाट जति सक्छु सहयोग गर्छु । नेपाली क्रिकेट हामी सबैको हो । नेपाललाई चिनाउने एउटा ठूलो माध्यम बनेको छ । आफ्नो तर्फबाट सबैले इमानदारीपूर्वक भूमिका खेल्नु पर्छ ।

०००

क्रिकेटले नै मलाई परिचय दिएको छ । क्रिकेटले नै मैले सोच्न नसक्ने सपनाहरु पूरा गरेको छ । सबै कुरा दिएको छ ।

क्रिकेटमा म कुनै न कुनै पक्षमा आबद्ध भइहाल्छु । क्रिकेटमा यो गर्ने त्यो गर्ने भनेर मेरो कुनै ठूलो लक्ष्य पनि थिएन । जब अवसर पाएँ आफूलाई राम्रो गर्दै गएँ । पहिले हामी सचिन तन्दुलकर भन्थ्यौं अहिले विराट कोहली छ । नेपालमा अहिले पारस खड्का छ, भोलि सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी जो कोही होला । सबैले आफ्नो जिम्मेवारी पूरा गर्ने हो ।

मेरो कप्तानीमा ५० ओभरको विश्वकप खेल्न पाएको भए अझ राम्रो हुने थियो । हाम्रो जुन संरचना छ त्यो संरचनाबाट यहाँसम्म आइपुग्दा कहिलेकाहीँ अचम्मै लाग्छ आफुलाई पनि । हाम भन्दा अहिलेका युवा पुस्ता प्रतिभावान छन् । त्यसैले उमेर समूहदेखि नै राम्रो व्यवस्था गर्दै जाने हो भने नेपाली क्रिकेटले राम्रो फड्को मार्न सक्छ ।

अब कप्तान को बन्छ भन्ने मेरो हातमा हुँदैन । मलाई पनि भनिएको थिएन कि तपाई कप्तान बन्दै हुनुहुन्छ, तयार हुनु भनेर । मलाई क्यानले २००९ मा कप्तानको जिम्मेवारी दियो र मैले जतिसक्दो इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने प्रयास गरे । आगामी दिनमा कप्तान को बन्छ भन्ने कुरा अधिकारीहरु र प्रशिक्षकरु बसेर गर्ने निर्णय हो । कप्तान जो बनेपनि नेपाल क्रिकेटको हित हुनु पर्छ । अहिले नेपाली क्रिकेट जहाँ छ प्रशिक्षक र खेलाडीको ठूलो भूमिका छ ।

मेरो विचारमा अबको कप्तान भनेको ज्ञानेन्द्र मल्ल हो । उनी अनुभवि खेलाडी हुन् नेपाली टिमका लागि । उनको आवश्यकता धेरै छ । म अब फेरि कप्तानको भूमिकामा देखा पर्दिन ।

(राजीनामा घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आज आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment