Comments Add Comment
विचार :

एनआरएनएको चुनाव होस्, पार्टीको नहोस्

राजनीति हावी भएपछि एजेण्डामा कसैको ध्यान जाँदैन

हामीले जुनबेलामा सन् २००३ मा एनआरएनए स्थापना गर्‍यौं, त्यसबेलादेखि नै विदेशमा नेपालीहरुका धेरै संघ संस्थाहरु थिए । सामाजिक संस्था, जातीय, क्षेत्रीय, राजनीतिक, धार्मिक संस्थाहरु हुँदाहुँदै पनि ती छरिएर रहे र केही सीमित कुराहरुमा मात्र व्यस्त भए ।

नेपाल बाहिर बसेका नेपालीहरुले देशका लागि धेरै योगदान गर्न सक्छन् भनेर हामीले छलफल थाल्यौं । त्यही छलफलपछि हामीले क्षेत्रीय, जातीय, राजनीतिकभन्दा फरक ढंगको साझा संस्था बनाएका हौं । यसको मुख्य उद्देश्य भनेकै देशको समृद्धिमा कसरी अगाडि बढ्ने र देशलाई समृद्ध बनाउनका लागि के-कस्तो भूमिका खेल्न सकिन्छ भनेर हामीले सुरुवात गरेका हौं ।

गैरआवासीय नेपालीहरुको यो संस्थामा सिद्धान्तको झगडा छैन । राजनीति भनेको सैद्धान्तिक कुरामा बहस हुन्छ, सैद्धान्तिक कुरामा भिन्नता हुन्छ । यो एनआरएनमा कहीँ पनि सैद्धान्तिक कुरामा फरक मत छैन र हुनुहुँदैन ।

संस्था ठूलो भएपछि यसमा विभिन्न किसिमका उतार-चढावहरु आउनु स्वाभाविक नै हो । तर, सुरुदेखि नै सबै साथीहरुमा एउटा के समझदारी थियो भने यो संस्थालाई राजनीतिकरणबाट टाढा राख्नुपर्छ ।

यसको मतलव, राजनीति गर्ने व्यक्तिहरु संस्थामा आउनै हुँदैन भनेको होइन । तर, कुनै विशेष राजनीतिक पार्टीका कुराहरु र राजनीतिक सिद्धान्त यो संस्थामा हावी गर्न दिनुहुँदैन भनेर हामीले त्यही अनुसार नै १६ वर्षसम्म यसलाई बचाउँदै आएका छौं ।

तीन महिना झेल्न गाह्रो !

हाम्रै एनआरएनएका साथीहरु नै बेलाबेलामा राजनीतिक दलका नेताकहाँ दौडन र सहयोग माग्न थालेपछाडि त अवस्य पनि उहाँहरुले त्यसमा सक्रिय भाग लिएको देखिन्छ । यस्तो भएपछि हामीबाट यो अभियानको जुन सुरुवात भयो, यसको केही मतलवै रहँदैन

अवश्य पनि के छ भने हामीले प्रत्येक दुई वर्षमा महाधिवेशन गर्छौं । एनआरएनका लागि यो २४ महिनामा खास गरेर अगस्ट, सेप्टेम्बर र अक्टोबरमा तीन महिना हाम्रा लागि अलि बढी कठीन समय रहने गरेको छ ।

हरेक २४ महिनामा पछिल्ला तीन महिना सबैलाई काम गरे पनि, नगरे पनि उसले एनआरएनका बारेमा थाहा पाए पनि, नपाए पनि चुनावमा लड्न खोज्छ । कुनै न कुनै पोजिसनमा आउन खोज्छ । यसले गर्दा हामीलाई अप्ठ्यारोजस्तो महसुस भएको हो ।

मेरो प्रयास अहिले पनि छ कि एनआरएनको नेतृत्व सकेसम्म सहमतिबाट होस् । त्यसो भएन भने पनि चुनाबै हुनुहुँदैन भन्ने मेरो भनाइ होइन । तर, चुनाव भएपछि एनआरएनएको चुनाव होस्, पार्टीहरुको चुनावचाहिँ नहोस् भनेर मैले प्रयास गर्दै आएको हो र यही प्रयासलाई म अगाडि बढाउन चाहन्छु ।

एनआरएनएलाई १६ वर्षको दौरानमा प्रत्येक दुई-दुईवर्षमा यी तीन महिनामा बचाउनुपर्ने, जोगाउनुपर्ने चुनौती आउने गर्छ । यी तीन महिनाभन्दा अगाडि पनि यस्तो समस्या हुँदैन र पछाडि पनि हुँदैन । तर, यो तीन महिनामा चाहिँ यस्तै समस्या हुन्छ ।

अहिले पनि म यो भन्न चाहन्न कि एकदमै राजनीतिकरण नै भइसक्यो । तर, अहिलेको यो जुन माहौल भइरहेको छ कि एनआरएनको चुनाव भन्दा पनि राजनीतिक चुनावजस्तो हुन लागेको छ । यसमा राजनीतिक दलका नेताहरुको कुनै कमजोरी होइन, उनीहरुले प्रभाव पार्न खोजेर यस्तो भएको भन्न म चाहन्नँ ।

हाम्रै एनआरएनएका साथीहरु नै बेलाबेलामा राजनीतिक दलका नेताकहाँ दौडन र सहयोग माग्न थालेपछाडि त अवस्य पनि उहाँहरुले त्यसमा सक्रिय भाग लिएको देखिन्छ । यस्तो भएपछि हामीबाट यो अभियानको जुन सुरुवात भयो, यसको केही मतलवै रहँदैन । देशको समृद्धिभन्दा पनि राजनीतिका कुराहरु बढी हुन थाल्छन् ।

बहस हुनुपर्ने विषयहरु

सबैभन्दा डरलाग्दो कुरा नै के हो भने संस्थामा राजनीति हावी हुन थालेपछि एजेण्डामा कसैको ध्यान जाँदैन । दुईवर्षको दौरानमा काम पनि धेरै हुन सक्दैन । किनभने, फुट भइसकेको हुन्छ, काम गर्न खोज्नेलाई कसरी रोक्ने भन्नेतिर संस्था जान्छ । योचाहिँ डरलाग्दो हो ।

अहिले एनआएनएका प्रतिनिधिहरु नेपाल आएका बेलामा बहस हुनुपर्ने ७० प्रतिशत बहस हुनुपर्ने नेपालको समृद्धिमा हुनुपर्ने हो । लगानीका अवसरहरुका बारेमा बढी बहस हुनुपर्ने हो । २० प्रतिशतचाहिँ संस्थालाई कसरी सुदृढ गर्दै जाने भन्नेबारेमा बहस हुनुपर्छ । विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुका समस्याबारे छलफल गर्ने र वैदेशिक रोजगारीमा जाने साथीहरुका समस्यामा फोकस गरेर छलफल गर्नुपर्छ । र, १० प्रतिशतचाहिँ नेपाल सरकारले लागानीका लागि एनआरएनलाई कस्तो वातावरण बनाइदिने हो भन्नेबारे छलफल हुनुपर्छ । यसमा धेरै बहस गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन ।

अहिले मलाई सबैभन्दा दुःख भनौं वा चिन्ता केमा बढेको छ भने हामी एनआरएनएलाई ७० लाख नेपालीहरुको संस्था भन्छौं तर, चुनावमा ४०/५० हजार सदस्य भएको संस्थाका रुपमा ७० लाख नेपालीहरुले देखेको सपना र लिएका उद्देश्यहरुमा उहाँहरुलाई निरुत्साहित गरिदिनभएन । हामी आफूमा चुनाव भए पनि फरक पर्दैन, तर, चुनावचाहिँ राजनीतिकरण हुनु भएन ।

१६ वर्षलाई फर्केर हेर्दा

पहिले नेपालीहरु बाहिर बसेर ‘नेपाल खत्तम भयो, राजनीतिक स्थायित्व भएन’ आदि-इत्यादि कुराहरु मात्र गर्थे भने । अहिले उनीहरुमा मैले आफ्नो देशका लागि केही गर्नुपर्छ, म जुनै देशको नागरिक भए पनि पहिला नेपाली हुँ भन्ने सकारात्मक सोचाइ आएको छ । यो एनआरएनएको १६ वर्षको इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हो ।

यो पनि पढ्नुहोस आज एनआरएनए चुनाव : पन्त र आचार्यको प्यानलमा काे-काे ?

यस्तो भावनाको विकाससँगै अहिले माहौल के बनेको छ भने कतिपय साथीहरुले सामुहिक रुपमा त कतिपयले व्यक्तिगतरुपमा नेपालमा लगानी गर्न सुरु गरिसकेका छन् । अब लगानी गर्ने माहौल बनिसकेको हुनाले लगानीको प्रतिवद्धता बढ्दै गइराखेको छ ।

मैले संसारका विभिन्न देशमा गएर देखिराखेको छु, नेतृत्वमा भएका एनआरएनले मात्रै होइन, विदेशमा अलिकति व्यवसाय गरेर बसिरहेका, प्रोफेसनल काम गरेर बसिरहेकाहरु पनि नेपालमा आएर लगानी गर्नुपर्छ भन्न थालेका छन् ।

धेरैजना एनआरएनहरुले हाम्रो संविधानमा जुन दोहोरो नागरिकताको विषय आएको छ, त्यसलाई पनि पर्खेर बसिराखेका छन् । त्यो हुने वित्तिकै धेरै उच्चस्तरका व्यवसायीहरु, ठुल्ठूला मल्टिनेसनलमा काम गर्ने नेपालीहरुले पनि नेपालमा लगानी गर्न सुरु गरिसक्छन् । हाम्रो सबभन्दा ठूलो उपलब्धी यो हो ।

सरकारलाई पर्खिराख्नुपर्दैन

हामी नै लण्डन गयौं भने एयरपोर्टमा ४ घण्टादेखि ६ घण्टासम्म धैर्यका साथ कुरेर बस्छौं, एक शब्द पनि बोल्दैनौं। नेपालमा चाहिँ कसैलाई १५/२० मिनेट लाइनमा बस्नुपर्‍यो भनेदेखि ओ हो यहाँ त देशै खत्तम भयो भनेको मैले कत्तिपल्ट सुनेको छु

म के मान्यता राख्छु भने सरकारले लगानीको वातावरण बनाइदिन्छ अनि म नेपालमा लगानी गरौंला भनेर पर्खिराख्नुपर्दैन । कुनै पनि देशको विकास गर्ने हो भने लगानी गर्दै जानुपर्छ । नीति नियमहरुमा पनि सुधार हुँदै जान्छन् । तर, सुधार भएपछि मात्र सबै लगानी आउँछ भनेर पर्खेर बस्यो भने कहिल्यै पनि हुँदैन । लगानी गर्न थालिसकेपछि र धेरै लगानी भएपछि धेरै कुराहरु आफैं ठीक हुन्छन् ।

अहिले लगानीकर्ताहरु कम छन् । धेरै समस्या ब्युरोक्रेसीबाट अनि सरकारका ऐन नियमहरु खराब भएर आएका होइनन् । लगानीकर्ताहरु कम छन्, भएकाहरु पनि आपसमा झगडा गर्छन्, अनि अरुले मौकाको फाइदा उठाउँछन् । तर, लगानीकर्ताहरु धेरै भएपछि ब्युरोक्रेसी हाबी हुँदैन । सरकारले पनि नियम कानुनहरु परिवर्तन गर्दा एकजनाका लागि गरेको महसुस गर्दैन ।

त्यसकारण म के पक्षमा छु भने गैरआवासीय नेपालीहरुले नेपालमा व्यक्तिगत लगानी बढाउनुपर्‍यो । सामुहिक लगानीहरु पनि गर्दै जानुपर्छ । अहिले गैरआवासीय नेपालीहरुका लागि माहोल राम्रो छ ।

एनआरएनहरुले आफ्नो बानी सच्याउनुपर्छ

अरुलाई सल्लाह दिन सजिलो हुन्छ, व्यवहारमा देखाउनचाहिँ एकदमै अप्ठ्यारो हुन्छ । गैरआवासीय नेपालीहरुले नेपालमा आएर खाली सल्लाह दिने मात्रै काम गर्नुहुँदैन, आफ्नो व्यवहार पनि देखाउन सक्नुपर्छ । व्यवहार देखाएर सल्लाह दियो भने मात्र त्यो सल्लाहको मतलव रहन्छ .

हामी नै लण्डन गयौं भने एयरपोर्टमा ४ घण्टादेखि ६ घण्टासम्म धैर्यका साथ कुरेर बस्छौं, एक शब्द पनि बोल्दैनौं। नेपालमा चाहिँ कसैलाई १५/२० मिनेट लाइनमा बस्नुपर्‍यो भनेदेखि ओ हो यहाँ त देशै खत्तम भयो भनेको मैले कत्तिपल्ट सुनेको छु ।

यो धैर्यताको अभाव हो । अरुको देशमा चाहिँ एकदमै धैर्य गर्ने, तर आफ्नो देशमा ती कुरालाई भोग्नुपर्‍यो भने एकदमै अप्ठ्यारो मान्ने बानीलाई हामीले हटाउनुपर्छ ।

नवौं सम्मेलनलाई सुझाव

यो सम्मलेनका बेलामा म सुझाव के दिन चाहन्छु भने एनआरएन भनेको विदेशमा रहेका ७० लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्था हो । यसले गर्दा सबै गैरआवासीय मित्रहरुले के हेर्नुपर्छ भने हाम्रो उद्देश्य के हो ? उद्देश्य नै बुझेको छैन भने पहिला उद्देश्य स्पष्ट हुनुपर्‍यो । हाम्रो उद्देश्य एउटै हो- देशको समृद्धिको बाटोमा कसरी सहभागी हुन सक्छौं । देशलाई अलिकति भए पनि कसरी अगाडि बढाउन सक्छौं .

यसकारण, विभिन्न राजनीतिक विचारधारा राखे तापनि गैरआवासीय नेपाली अभियानभित्र पसिसकेपछि त्यो आफ्नो राजनीतिक सिद्धान्तलाई अलग्गै राखिकन देशको समृद्धिको बाटोमा सबैजना मिलेर अगाडि बढ्नुपर्छ । सबैजना नेपालीहरु मिलेर अगाडि बढ्नुपर्छ भन्ने भावनाले प्रतिस्पर्धामा आउनुपर्छ ।

सकेसम्म नेतृत्वको चयन सहमतिबाट हुनुपर्छ, सहमतिमा हुन सकेन भने पनि स्वच्छ प्रतिस्पर्धाका आधारमा गैरराजनीतिक भावनाका आधारमा जो छानिएर आउँछन्, तिनलाई पूर्णरुपमा सहयोग गर्ने गरी स्वीकार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment