Comments Add Comment

वीरगञ्जबाट ३ हजार थान लागूऔषध बरामद

३० असोज, वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले झण्डै ३ हजार थान अवैध लागूऔषध बरामद गरेको छ । बोधगया–पटना– काठमाण्डौ चल्ने नेपाल भारत मैत्री बसमा चेकजाँचको क्रममा ३ हजार थान लागूऔषध बरामद गरेको हो । डाईजोपाम, नोफिन, फेनारगन १/१ हजार गरी ३ हजार थान लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खड्काले जानकारी दिए ।

लागूऔषध ल्याउने व्यक्तिलाई भने सशस्त्र प्रहरीले पक्राउ गर्न सकेन । सशस्त्र प्रहरी नायब उपरीक्षक खड्काले सोधपुछका क्रममा बसमा भएका कसैले पनि समानको दाबी नगरेको बताए ।

‘चेकजाँचको क्रममा बसमा बेवारिसे अवस्थामा लागु औषध फेला पर्‍यो,’ उनले भने, ‘अध्यागमन कार्यालयबाट अनुमति लिएर आएका दुई जना तेस्रो मुलुककासहित भारतीय नागरिक बसमा थिए । कसैले पनि समान आफ्नो भएको स्वीकार गरेनन् । विदेशी पाहुना बोकेको गाडी धेरै बेर रोकेर केरकार गर्दा गलत म्यासेज जान्छ भनेर उनीहरुलाई जान दियौं ।’

वीरगञ्ज १६ स्थित भन्सार मुलगेटमा चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको बा. ४ ख. २३९९ नम्बरको बसबाट लागूऔषध बारामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म हे.क्वा (राजश्व तथा भन्सार गस्ती सुरक्षा) पर्साको टोलीले भन्सार मूल गेटमा चेकजाँच गर्दै आएको छ ।

बस भित्र वेवारिसे अवस्थामा भेटिएको लागूऔषध आवश्यक कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment