+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

जाउलाखेलमा गोदावरी पुष्प मेला सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते १८:४७

१ कात्तिक, काठमाडौं । फूलहरुको चाड तिहार आउनै लाग्दा ललितपुरमा फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुक्रबारबाट प्रदर्शनी सुरु भएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गरेका थिए । त्यस क्रममा उनले पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री खनालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि गर्नुपर्ने नीतिगत र लगानीलगायत विषयसहितको प्रस्ताव लिएर आउन फ्यानसँग आग्रहसमेत गरे ।

‘सातवटै प्रदेशमा पुष्प व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गर्दा उपयुक्त हुन्छ वा केन्द्रमार्फत नै काम गर्न सकिन्छ, आवश्यक सुझावसहित प्रस्ताव लिएर आउनुहोस्, मन्त्रालय तत्काल प्रक्रिया अघि बढाउन तयार छ,’ मन्त्री खनालले भने ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले पुष्प व्यवसायको विकास, विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग जारी रहने बताए । बाँझो रहेको कृषि भूमिमा पुष्पखेती गरी उत्पादन बढाएर निर्यात गर्न सकिने उनको भनाइ थियो ।

फयानका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसायको प्रवर्द्धनका लागि विगतमा फयानले अघि सारेका कतिपय परियोजना बजेट अभावका कारण अलपत्र अवस्थामा रहेको भन्दै परियोजनाको निरन्तरताका लागि मन्त्री खनालको ध्यानाकर्षण गराए ।

उनका अनुुसार फयानले अघि बढाएको लालीगुराँसको व्यवसायिक उत्पादन, रैथाने फूलजन्य उद्योग स्थापना लगायतका कार्य अलपत्र अवस्थामा छन् । फयानका अध्यक्ष कुमार कसजु श्रेष्ठले पछिल्लो समय सरकारले पुष्प क्षेत्रलाई वेवास्ता गरेको गुनासो गरे ।

जावलाखेलको खेल मैदानमा आयोजित १३ औ पुष्प प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेला ३५ हजारले अवलोकन गर्ने र करिब ५० लाख रुपैयाँबराबरको कारोबार अपेक्षा रहेको बताए ।

यस वर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?