Comments Add Comment

युनेस्को मिसन नेपालमा, सम्पदा पुनर्निर्माणबारे अध्ययन गर्दै

१ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) मिसन नेपाल आएको छ । नेपालका विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाको अडिट/अध्ययनका लागि सो मिसन आएको हो ।

युनेस्कोको ‘रियाक्टिभ मोनिटरिङ मिसन’ले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग शुक्रबार भेटघाट गर्‍यो । काठमाडौं उपत्यकामा रहेका ७ वटा विश्व सम्पदा सूचीलाई खतराको सूचीमा राख्ने प्रस्ताव यूनेस्कोको ४३ औं सेसनमा प्रस्तुत भएको थियो । तर, नेपालले पुनर्निर्माण जारी रहेको भन्दै तत्काल खतराको सूचीमा नराख्न आग्रह गरेपछि १ वर्ष समय थपिएको छ ।

युनेस्कोले अडिट मिसनले दिने प्रतिवेदनका आधारमा निर्णय गर्ने भन्दै एक वर्षका लागि खतराको सूचीमा नराख्ने निर्णय गरेको थियो । सोही अनुसार युनेस्कोको मिसन नेपाल आएको हो ।

प्राधिकरणका सीइओ ज्ञवाली र यूनेस्को टोलीबीच भूकम्पबाट क्षति भएका काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका सम्पदा पुनर्स्थापना र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भएको छ । उक्त अवसरमा प्राधिकरणका सीइओ ज्ञवालीले सम्पदा पुनर्निर्माणलाई विशेष प्राथमिकता दिइएको बताए । उनले काठमाडौं उपत्यकाका तीन र बाहिरका तीन परम्परागत सम्पदा बस्तीको विकास तथा रानीपोखरीको मौलिक पुनर्निर्माणलाई समेत अघि बढाइएको जानकारी गराए ।

मिसनका लागि विश्व सम्पदा केन्द्रको प्रतिनिधित्व गरेका इन्टरनेशनल सेन्टर फर द स्टडी अफ दि प्रिजर्भेसन एण्ड रेस्टोरेसन अफ कल्चरल प्रोपर्टिज (इक्रोम) का अन्तर्राष्ट्रिय विज्ञ गामिनी विजिसुरियाले सम्पदा संरक्षणको अवसर रहेको भन्दै पुनर्निर्माण कार्यको अभिलेखीकरणसमेत गर्न सुझाव दिए । इन्टरनेसनल काउन्सिल अन मोनुमेन्टस् एण्ड साइट्स (इकोमस) की अन्तर्राष्ट्रिय विज्ञ क्याथरिन फोर्ब्सले गुरुयोजना निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै आगामी फेब्रुअरीमा पुरातत्व विभागले पठाउने रिपोर्टमा विस्तृत प्रगति समेट्न सल्लाह दिइन् ।

छलफलमा युनेस्को काठमाडौं कार्यालयका नेपाल निर्देशक क्रिस्टियन म्यानहार्टले युनेस्कोले सम्पदा पुनर्निर्माण गर्दा गतिमा भन्दा गुणस्तरमा ध्यान दिने उल्लेख गर्दै पुरातत्व विभागलाई नीति निर्माण गर्न अझ सक्षम हुने गरी बलियो बनाउन सुझाव दिए ।

भूकम्पबाट काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रका १४० वटा सम्पदामा क्षति पुगेको थियो । हालसम्म ९० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेका छन् । अन्यको पुनर्निर्माण जारी छ ।

काठमाडौं उपत्यकाभित्र पशुपति, स्वयम्भूनाथ, हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार, चाँगुनारायण र बौद्धनाथ क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत छन् । प्राधिकरणले काठमाडौं उपत्यकाका सांखु, बुङमती र खोकना तथा काठमाडौंबाहिरका गोरखा दरबारवरिपरि, नुवाकोट दरबार वरिपरि र दोलखा बजारलाई सम्पदा बस्तीका रुपमा विकास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment