Comments Add Comment

स्टाफ कलेजद्वारा प्रधानसेनापति र सशस्त्रका आईजीपी सम्मानित

१ कात्तिक, काठमाडौं । नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजले विशिष्ट स्थानमा पुगेका तीन पूर्वविद्यार्थीलाई सम्मान गरेको छ ।

शिवपुरीबाट स्टाफ कलेज तालिम लिएका प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरीकै अवकाश प्राप्त शैलेन्द्रकुमार श्रेष्ठ सम्मानित भएका हुन् ।

शुक्रबार आयोजित कार्यक्रममा प्रशंसा पत्रसँगै सम्मान स्वरुप कलेजको ‘हल अफ फेम वाल’ मा तीनै जनाको तस्वीर राखिएको हो ।

प्रधानसेनापति थापाको शिवपुरी स्टाफ कलेजबाट तालिम लिएका पहिलो सेनापति हुन् । उनी स्टाफ कलेज तालिम लिने चौथो ब्याजका २४ जना मध्येका हुन् । सशस्त्र प्रहरी बलका पूर्व आईजीपी श्रेष्ठ पनि तालिममा थापासँगै थिए । खनाल भने १३ ब्याजका ६३ विद्यार्थी मध्येका एक हुन् ।

कार्यक्रममा बोल्दै थापाले कामको सिलशिलामा सफलता र नैरास्यता दुवै परिस्थितिको सामना गर्नु पर्ने तथा जस्तोसुकै विषम तथा प्रतिस्पर्धात्मक परिस्थितिमा पनि इमान्दार रही सही ढंगबाट कार्य सम्पादन गर्न सुझाव दिए ।

साथै, उनले सैनिक जीवन पश्चात पनि मर्यादित जीवनयापन गर्न तथा आइपर्न सक्ने अकल्पनिय परिस्थितिको सफलतापूर्वक सामना गर्न समेत तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कलेजबाट हालसम्म ९७२ जना तालिम लिइसकेका छन् । तीमध्ये ७३ जना विदेशी अधिृकत र ४८ जना अन्य सुरक्षा निकायका अधिकृत रहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment