Comments Add Comment

मधेस आन्दोलनका घाइतेको प्रश्न : नेताज्यू, वाचा गरेको ५० लाख खोई ?

मुख्यमन्त्रीले ज्ञापनपत्र नबुझेर अपमान गरेको गुनासो

१ कात्तिक, वीरगञ्ज । काठमाडौंमा नयाँ संविधान जारी भएको खुसीयाली मनाइरहँदा पर्साको बहुदरमाई नगरपालिका–२ सिसयाडीका विजय यादवलाई गोली लाग्यो । मधेस आन्दोलनमा सहभागी उनलाई सात ठाउँमा गोली लागेको थियो । शरीरमा अझै गोली बाँकी रहेको उनी बताउँछन् ।

त्यसबेला मधेस आन्दोलनको नेतृत्व गरिरहेको राजजा–समाजवादी (तत्कालीन फोरम) अहिले प्रदेश २ सरकारमा छन् । त्यही आन्दोलनका नेता लालबाबु राउत मुख्यमन्त्री छन् भने जितेन्द्र सोनलहरु प्रदेश सरकारमा मन्त्री ।

तर आन्दोलनका घाइते विजय खुसी छैनन् । उनी हातमा ज्ञापनपत्र पत्र बोकेर हिँडिरहेका छन् । प्रदेश नं २ का मुख्यमन्त्रीलाई बुझाउन चाहे पनि समय नपाएको गुनासो छ । ‘टेलिफोन मार्फत जानकारी गराएर असोज ३० गते ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री कार्यालय जनकपुर पुगेका थियौं, तर मुख्यमन्त्री अर्कै कार्यक्रमका लागि निस्किसक्नुभएछ’ उनले भने, ‘जानकारी गराएरै जाँदा पनि समय नदिँदा मुख्यमन्त्रीले वेवास्ता गरेको महशुस भएको छ ।’

मुख्यमन्त्री नभेटिएपछि घाइतेहरुले त्यहाँका कर्मचारीलाई ज्ञापनपत्र बुझाएर फर्किएका छन् ।

विजय जस्तै मधेस आन्दोलनका घाइते हुन्, रौतहटको गौर नागरपालिका वडा नं ४ टिकुलिया बस्ने लालबाबु प्रसाद पटेल । उनलाई २७ भदौ २०७२ मा आन्दोलनका क्रममा गोली लागेको थियो । पेटमा गोली लागेर घाइते भएका उनको परिवारले नेताहरुसँग हार गुहार गरेर ५ लाख २८ हजार उपचार खर्च पाए ।

तर परिवार पाल्ने सकस छ । प्रदेश सरकारले समेत वेवास्ता गरेको देख्दा मन रुने गरेको उनी सुनाउँछन् । ‘आन्दोलनमा होमिँदा नेताले प्रान्तीय सरकार गठन भएपछि ५० लाख दिन्छौं भनेका थिए । घाइतेहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र परिवारको भरणपोषणका लागि रोजगारीको व्यवस्था गरिदिन्छौं समेत भने’ पटेल भन्छन्, ‘उनीहरु सरकारमा गए, हामीले के पायौं ?’

मधेस आन्दोलनका घाइतेहरुले ज्ञापनपत्रमा शहीद र घाइतेको परिवारलाई ५० लाख रुपैयाँ दिनुपर्ने माग राखेका छन् । यस्तै शहीद परिवार र घाइतेहरुलाई जिल्ला सदरमुकाममा एकीकृत बस्ती निर्माण गरी आवासको व्यवस्था मिलाउनुपर्ने, छोराछोरीलाई उच्च शिक्षासम्म अध्ययन गर्न अनुदान दिनुपर्ने, घाउ निको नभएका घाइतेलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनुपर्ने माग गरेका छन् ।

भैंसी र पियनको जागिर दिएर अपमान गरियो

प्रदेश २ सरकारले आन्दोलनका शहीद तथा घाइते परिवारलाई हेर्दै नहरेको होइन । आर्थिक सहयोग पनि गरिरहेको छ । कसैलाई भैंसी त कसैलाई रोजगारी दिइएको छ ।

उनीहरुले शहीद तथा घाइतेका परिवारका सदस्यलाई पियन चपरासीको रोजगार दिएर प्रदेश सरकारले अपमान गरेको समेत उनीहरुले बताएका छन् । ‘हामी जिउँदा शहीद हौं, स्वतन्त्रता सेनानीको खोइ त कदर ?’ रौटहटका पटेल भन्छन्, ‘ मधेस आन्दोलनमा योगदान दिएको शहीद र घाइते परिवार भैसी चराउँदै हिँड्ने ? कम्तीमा मासिक ३० हजार रुपैयाँ आउने जागिर हुनुपर्छ ।’

संगठित हुने प्रयास

मधेस आन्दोन्दोलनका शहीद परिवार र घाइते परिवारले संगठित हुने प्रयास समेत थालेका छन् ।

पछिल्लो मधेस आन्दोलनमा ज्यान गुमाएका र घाइतेका परिवारलाई मात्र नभएर ०६२/६३ को आन्दोलन र पहिलो मधेस आन्दोलनका शहीद र घाइते परिवारलाई समेटेर लैजाने तयारी छ । ‘घाइते र शहीद नेपाल मधेस संगठन वा अरु कुनै नाम राख्छौं । विधान बनाएर संस्था दर्ता गर्ने तयारी छ’, विजय भन्छन् ।

अर्का घाइते पटेल मधेस आन्दोलनका घाइते र शहीद परिवारका लागि प्रदेश सरकारले विशेष कार्यक्रम नल्याए आन्दोलनमा जाने चेतावनी दिन्छन् । ‘नेताहरुले हाम्रो कुरा सुनिरहेका छैनन्, आफैंले गरेको वाचा पुरा गरिरेहेका छैनन्’ उनले भने, ‘छठलगत्तै मुख्यमन्त्री कार्यालयमा गएर अनशन बस्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment