Comments Add Comment

भ्रमण वर्षका इभेन्ट : मुस्ताङमा आइस क्लाइम्बिङदेखि स्याङबोचेमा स्काइडाइभिङसम्म

२ कात्तिक, काठमाडौं । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकार जोडतोडले लागिरहेको छ । यसका लागि मन्त्रालय तहमा विभिन्नखाले रणनीति तथा कार्यक्रमहरु तय गरिएका छन् ।

नेपालमा पर्यटकीय आकर्षणका धेरै चिजहरु रहे पनि त्यसलाई विश्वसामु प्रचार गर्न सकिएको छैन । भ्रमण वर्षका क्रममा खासगरी साहसिक पर्यटनका लागि नेपाललाई उत्तम गन्तव्यको रुपमा चिनाउने सरकारको योजना छ । यसका लागि विभिन्न कार्यक्रमहरु तय गरिएका छन् ।

सरकारले अघि सारेका १० मुख्य प्रवर्द्धनात्मक कार्यक्रमहरु यसप्रकार छन् :

मनाङमा आइस क्लाइम्बिङ फेस्टिबल

विश्वका उत्कृष्ट आइस क्लाइम्बरहरुको सहभागितामा मनाङमा आइस क्लाइम्बिङ फेस्टिबल आयोजना गरिँदैछ । भ्रमण वर्ष सचिवालयका अनुसार १-१० फेब्रुअरी २०२० मा यो इभेन्ट राखिएको छ ।

दक्षिण एसियाकै मौलिक कार्यक्रमका रुपमा यस महोत्सवलाई प्रवर्द्धन गर्ने योजना बनाइएको छ । झरनाहरुको पानी जमेको समयमा भीरमा हुने यो साहसिक खेलले नेपालको ब्राण्डिङमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

गोक्यो तालमा आइस हक्की म्याच

सोलुखुम्बुको गोक्यो तालमा आइस हक्की प्रतियोगिता आयोजना हुने भएको छ । जाडो मौसममा जब तालको पानी जम्छ, त्यसबेला यो एक मैदानमा परिणत हुन्छ । सोही मैदानमा आइस हक्की खेल सञ्चालनको योजना बनाइएको छ ।

गोक्यो ताल

यो प्रतियोगिता आगामी फेब्रुअरी २०२० मा सञ्चालन गरिनेछ । यो ताल ४ हजार ७ सय ५० मिटर उचाइमा छ ।

यस इभेन्टका लागि फिनल्याण्डको अन्तर्राष्ट्रिय हक्की टीमले नेपाल आउने पक्का गरिसकेको छ । यो टोली लुक्लाबाट पदयात्रा गर्दै गोक्यो लेकसम्म पुग्ने छ ।

यसबाहेक सोही तालमा आइस स्केटिङ इभेन्ट पनि आयोजना गरिने छ । यस इभेन्टमा अमेरिकाबाट लेक स्केटरहरुलाई आमन्त्रण गरिएको छ । यस इभेन्टले अफसिजन ट्रेकिङ प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने सरकारको विश्वास छ ।

मुस्ताङ ट्रेल रेस

नेपालको मरुभूमी भनेर चिनिने सुन्दर भूमि मुस्ताङमा हाइ अल्टिच्यूड दौड प्रतियोगिता आयोजना गरिने छ । यस प्रतियोगितामा बिभिन्न ८ वटा इभेन्ट हुनेछन् । ४-१६ अपि्रल २०२० सम्म यो प्रतियोगिता चल्नेछ । यो इभेन्टले मुस्ताङलाई विश्वभर उजागर गर्न र लुकेको सुन्दरता बाहिर ल्याउन ठूलो भूमिका खेल्ने विश्वास सचिवालयको छ ।

सस्टेनेबल समिट २०२०

वातावरण संरक्षण र दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२० मा एक मेघा इभेन्ट आयोजना हुँदैछ । क्लाइमेट अलायन्स अफ हिमालयन कम्युनिटिजको आयोजनामा हुने यस इभेन्टमा अल्पाइन क्लब, ल्याण्ड तथा नेसनल पार्क म्यानेजरहरु, संरक्षण क्षेत्रका अभियन्ताहरु, पदयात्री तथा पर्यटन व्यावसायीलाई सहभागी गराउने योजना छ । यस इभेन्टले हिमाली भेगका दिगो पर्यटनसँग सम्बन्धित सम्पदाहरु संरक्षण गर्ने सम्बन्धमा बहस गर्नेछ । कार्यक्रममा विदेशी वक्ताहरुलाई आमन्त्रण गरिएको छ । यो कार्यक्रम १-५ जुन २०२० मा आयोजना हुने भएको छ ।

वर्ल्ड ट्रेल्स नेटवर्क कन्फ्रेन्स

विश्वभरका पदयात्रा भएका मुलुकहरुको सम्मेलन नेपालमा आयोजना गरिएको छ । संसारभरबाट व्यवसायी आमन्त्रित गरी प्रवर्द्धन गर्ने र पदमार्गहरु संरक्षणमा यो

इभेन्ट आयोजना हुँदै आएको छ । २-५ सेप्टेम्बर २०२० मा आयोजित यो कार्यक्रम नेपालका पदयात्रा प्रवर्द्धनमा महत्वपूर्ण सावित हुने विश्वास सचिवालयको छ ।

कर्णाली कायाक रेस

संसारकै उत्कृष्ट नदीका रुपमा चिनिने कर्णाली नदीमा कायाक रेस आयोजना गरिने भएको छ । दैलेखको राकमदेखि बर्दियासम्म कायाक आयोजना हुन लागेको हो । यस रेसमा २० देखि २५ राष्ट्रिय-अन्तर्राष्ट्रिय टोली सहभागी हुने छन् ।

एउटा टीममा ५ जना कायाकर्स रहने छन् । कायाक रेसका विभिन्न इभेन्ट यस दौरान आयोजना हुने छन् । यस इभेन्टले सुदूरपश्चिम भेगको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछ । जल पर्यटनका माध्यमबाट पर्यटक आकर्षित गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । अक्टोबरमै यो रेस आयोजना हुने सचिवालयले उल्लेख गरेको छ ।

हट एयर बेलुन फेस्टबल

लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हट एयर बेलुन फेस्टिबल आयोजना हुने छ । अक्टोबर २०२० मा यो इभेन्ट आयोजना गर्ने तयारी भइरहेको छ । लुम्बिनीमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा आएको सन्देश विश्वभरका पर्यटक समक्ष पुर्‍याउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको हो । विश्वभरका १० उत्कृष्ट हट एयर बलुनर्सलाई नेपालमा भित्राएर बेलुनबाट जमिनमा जम्प गराउने योजना बनाइएको छ । यस कार्यक्रमले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन हुने र मास टुरिजम प्रवर्द्धनमा योगदान पुग्ने विश्वास लिइएको छ ।

कालिगण्डकी करिडोरमा माउन्टेन बाइक

कालिगण्डकी करिडोर अहिले निकै तीव्रताका साथ निर्माणको क्रममा छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो सडकले नेपाललाई उत्तर-दक्षिण जोड्नेछ । कालिगण्डकी करिडोरको कागबेनी-मार्फा-तातोपानी-कालिगण्डकी नदी करिडोरमा माउन्टेन बाइक इभेन्ट आयोजना गरिदैछ । डिसेम्बर २०२० मा आयोजना हुने यो इभेन्टमा सहभागीले विश्वकै सबैभन्दा गहिरो गल्छीमा साइकल कुदाउने अवसर पाउने छन् ।

गोल्डेन ट्रेल सिरिजको फाइनल

विश्वचर्चित सालोमन गोल्डेन ट्रेल वर्ल्ड सिरिज नेपालको अन्नपूर्ण क्षेत्रमा आयोजना हुने छ । २६ अक्टोवर २०१९ मा आयोजना हुने यस इभेन्टलाई ‘अन्नपूर्ण ट्रेल म्याराथन’ नाम दिइएको छ । ४२ किलोमिटर लामो यस म्याराथन गोल्डेन ट्रेल वर्ल्ड सिरिजको ग्राण्ड फाइनल हो । संसारभर आयोजना भएका विभिन्न ६ क्वालिफाइङ रेसबाट टप १० मा पुगेका धावक यस इभेन्टमा सहभागी हुने छन् ।

स्याङ्बोचेमा स्काइडाइभिङ

भ्रमण वर्ष २०२० को ब्यानर बोकेका युवा सगरमाथाको आकास माथिबाट हावामा उड्ने तयारी गरिरहेका छन् । सोलुखुम्बुको स्याङ्बोचेमा यो कार्यक्रम राखिएको छ ।

भ्रमण वर्ष सचिवालयका अनुसार भ्रमण वर्षको लोगोसहित हुने स्काई डाइभलाई भिडियो र तस्वीरमा कैद गरी प्रवर्द्धन गर्ने योजना बनाइएको छ । यस इभेन्टका लागि अमेरिकासहित विभिन्न मुलुकबाट चर्चित स्काई डाइभरहरुलाई आमन्त्रण गरिएको छ । यो इभेन्ट अक्टोबरमै सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment