Comments Add Comment

कथा : उत्ताउली केटी

‘हेर्दाहेर्दै तिम्रो तस्वीर बोल्यो अनि रोएँ

अतीतका ती यादहरुले पोल्यो अनि रोएँ…’

मोबाइल चलाउँदै थियो, खै के थिचियो कुन्नि, अचानकै अञ्जु पन्तको गीत बज्न थाल्यो ।

यसै पनि तनावमा थियो ऊ । अफिसमा एउटा क्लाइन्टसँग राम्रै विवाद भएको थियो । पुरानो सम्झौतामा नयाँ बजार मूल्य कायम हुनुपर्ने अडान लिएपछि उसको पारो चढयो ।

‘डिल क्यान्सिल गरौं’ तत्काल केही फरक पर्दैन । तर, दीर्घकालीन असर पर्न सक्छ । ‘स्वीकार गरौं’ सम्झौता विपरीत थिए अडान उसका ।

मस्तिष्कमा दिनभरका घटनाले कुस्ती खेलिरहँदा निद्रा नलाग्नु स्वाभाविक थियो । टाउको गह्रौं भइरहृयो । सायद निकै छटपटी पनि थियो मनभित्र कताकता ।

बीसौं वर्षको व्यवसायिक अनुभवमा यस्तो कहिल्यै भएन उसलाई । कुनै पनि निर्णय लिन समय नै लिँदैनथ्यो । जे आइपर्छ, मनलाई सोध्थ्यो र तुरन्तै निर्णय गर्थ्यो । केही निर्णयले व्यवसाय र उसलाई प्रतिकूल प्रभाव पारे पनि त्यसभित्र पनि अनुकूलता खोज्न माहिर थियो ऊ । आफैंले आफ्नालागि गरेका निर्णय कहिल्यै गलत हुँदैनन् भन्ने थियो उसलाई ।

बेला बेला मनमनै गम्थ्यो- किन कि यो मेरो निर्णय हो !

झन्डै १२ बजेको हुँदो हो । परिवारका सबै सदस्य मस्त निद्रामा थिए । ऊ भने बिथोलिएको थियो नराम्रोसँग । आज अलि ढिलो पनि भयो घर आउन ।

“सधैंको बिजनेस, डेली भेटघाट, मिटिङ, अपोइन्टमेन्ट… मनै नभएपछि बहाना नाथेको के कमी ? जति पनि हुन्छन् । समय घर्किएपछि फिरेको बुद्धिको के काम ? जीवन आफ्नालागि मात्रै होइन ! एक्लै रमाउने मान्छे जोगी हुनु नि, किन गृहस्थी प्रवेश गरेको ?” संघारमै पड्किएकी थिई श्रीमती ।  “….आज छोरीको बर्थ डे । उसका साथीहरु आएका थिए । कम्तिमा मेरो नभए पनि बच्चाहरुको त ख्याल गर्नु नि…।”

यस्तै यस्तै कैयौं कुराहरु फकालिरही । ऊ सुनी मात्र रहृयो । सन्दर्भ के थियो ? गुनासो के बाँकी रह्यो ? मेसै पाएन ।

ऊ हतपत जवाफ फर्काउँदैन यसै पनि । आफैं तनावमा भएका बेला बोल्दै बोेल्दैन ।

‘हेर्दाहेर्दै तिम्रो तस्वीर बोल्यो अनि रोएँ,

अतीतका ती यादहरुले पोल्यो अनि रोएँ…’

अञ्जु पन्त गुन्जिरहिन् एकनाससँग । पहिलो पटक सङ्गीतले थोरै आनन्द दियो उसलाई । दोस्रो पटक सुन्यो । शब्द र भावले मस्त बनायो । तेस्रोपटक सुन्दा स्तब्ध भयो । विस्मृत जस्तै भएका सम्झनाका छालहरु उछालिएर आए ।

“आफ्नालागि जिऊ ! मनलाई पनि कहिलेकाहीँ खुसी राख । तिम्रो जीवन खै ? तिम्रो खुसी खै ?” त्यस दिन उसले भनेकी थिई ।

“जीवन आफ्नालागि मात्रै होइन ।” श्रीमतीको आवाज पनि गुन्जियो एकसाथ मस्तिष्कमा । “तिम्रो खुसी खै ? तिम्रो मनको चाहना बुझेका छौ ? यत्तिका काम केका लागि ? कहिलेकाहीँ मनको चाहना पनि बुझ्ने गर । आफ्नालागि पनि जिउने गर । त्यसले जीवनलाई स्वादिलो बनाउँछ ।” थपेकी थिई उसले ।

ऊ, उत्तरा अर्थात् उत्ताउली केटी ।

“इज दिस एप्रोपि्रट फर हर ?” काउकुती शैलीमा मुस्कुरायो ।

पहिलो भेटमा सालिन लागे पनि दोस्रो भेटदेखि उसलाई त्यो केटी खासै मन परेको थिएन । त्यही दिन उसको मनले भन्यो- उत्ताउली केटी !

****

“जीवनमा समय छ ?” व्यस्त कार्यक्रम तालिकाबीचमा पाएको थोरै समयमा साथीहरुमाझ उसले यो प्रश्न फ्याँकेको थियो ।

“लभ गर्ने समय छ ?” अनपेक्षित थियो उत्तरमा उत्तराको प्रश्न उसका लागि । उसले त्यति बेलै सोचेको थियो- कति उत्ताउली रैछे यो । कामको सिलसिलामा दोस्रो भेट थियो ऊसँग । प्रश्न अरु कसैलाई सोधिएको थियो । जबाफमा उत्तराले प्रश्न गरी ।

आफ्नो अकमक्कतामा उत्तरा भित्रभित्रै मुस्कुराएको महसुस गर्‍यो उसले ।

सोच्यो- प्रश्नको ठूलै बल्छी थापेको ठानी होली ।

वरपर उभिएका उसका मान्यवर, आरणीय, साथीभाइ, अनि थियो भने विशेष कोही । सबैले मुखामुख गरे तर आँट कसैले गरेनन् मुख खोल्ने ।

ऊ सोचिरहेको थियो- छ भनूँ कि छैन भनूँ ? छ भनुँ, यो उमेरमा पनि लभ गर्दै हिँड्दो रैछ भन्छन् कि भन्ने डर । छैन भनुँ कस्तो निष्प्रिह जीवन रैछ पारिवारिक बोझले थिचिएको । माया, प्रेम, स्नेहबिनाको जीवन मरूभूमितुल्य भन्ने होलान् भन्ने पिर उत्तिकै ।

प्रश्न अनपेक्षित त छँदै थियो । जीवनको भित्री पाटो पनि खोतल्ने भएपछि थप गम्भीर बनायो ।

पुरूष मनोदशाको विश्लेषण गर्दै उत्तरा मक्ख परी । सहज र सरल उसको व्यक्तित्वलाई जटिल मोडमा पुर्‍याएकोमा भित्रभित्रै गद्गद पनि थिई सायद !

“अँ, छ ।” बडो संवेदनशील, गम्भीर अनि सतर्कतासाथ उसले भन्यो ।

“ओ ! यस… । उसो भए जीवन खुसी र सुखी छ ।” २-४ जना मान्छे पन्छाउँदै उत्तरा ऊ नजिक पुगी ।

ऊ सत्य बोलिरहेछ भन्ने विश्वास गरिन उत्तराले । सांसारिक मायाजालको जिम्मेवारी र दायित्वबोधको थकान मात्र देखी उसले उसको अनुहारमा ।

ऊ यति थकित थियो कि भोकले व्याकुल अजिंगरले आफ्नै अगाडि आहारा आउँदा पनि मुख बाउन अल्छी माने जस्तै । पारिवारिक जिम्मेवारी अनि दायित्वबोधले थिचिएको उसको जीवन मेसिन हो कि मेसिन जीवन ? ठम्याउन सकेको थिएन । ऊ कहिले जीवनलाई मेसिन ठान्थ्यो, कहिले मेसिनलाई जीवन । मेसिनलाई सधैं अन गरिरहन्थ्यो ऊ- कुनै पनि बेला मेसिन अफ भयो भने जीवन सकियो । सायद जीवनप्रतिको बुझाइ त्यही थियो उसको । ‘काम….., सिर्फ मामका लागि ।’ ऊप्रतिको उत्तराको बुझाइ ।

“फेरि पनि समय व्यवस्थापन आफैंमा कठिन त छ नि !” उत्तराको आशङ्कालाई उसैले पुष्टि गर्‍यो ।

“अँधेरी रात मेरै हो । दिन अरुका लागि, रात आफ्नालागि । समयको सही व्यवस्थापन ।” उत्तरा छाती फुलाउँदै निर्धक्क बोली ।

अचानकै सन्नाटा छायो । निस्पट्ट अँध्यारोमा पनि मान्छेले आफूलाई चाहिँ देख्छ । सायद अचानकै सूर्य डुब्यो । तुरन्तै अध्याँरो भयो । अनि दुवैले आफैंलाई मात्रै देखिरहेका छन् त्यो अँध्यारोमा ।

निर्धक्क फुकेको उत्तराको छाती क्षणभरमै खुम्चियो नमस्ते झार जस्तै । सानी छँदा खरबारीमा घाँस काटेको सम्झी । घाँस काट्तै गर्दा बेला बेला मेसो छोडेर नमस्ते झार छुन जान्थी । उसै पनि मसिना पात ।

त्यसको कुनै टुप्पोमा छुनेवित्तिकै फिँजारिएका पात सबै खुम्चिन्थे । ऊ ठान्थी- झारले आफैलाई नमस्ते गरेको । सायद मपाइँत्व बोकेका सबै मान्छे यस्तै ठान्थे- झार हामीलाई नमस्ते गरिरहेछ । गजबको सन्तुष्टि, अनौठो आनन्द ।

झारले नमस्ते गरेको भ्रममा त्यस बेला ओठमा मुस्कान सवार भएथ्यो । अहिले मुस्कान हरायो क्षणभरमै । ओठ, मुख सुक्यो, स्वाभिमान डग्मगायो । आत्मविश्वास अल्भिmयो आफैले असावधानीपूर्वक थापेको बल्छीमा । भयभीत मनले रात्रिकालीन ठमेल सम्झियो । त्यहाँका सुन्दरी सम्झियो । ओ माइ गड ! थाइल्यान्डसम्म पुग्यो मन । पसिनाको खोलै बग्यो । गलत स्थान, गलत अभिव्यक्ति । यति अपरिपक्व यसअगि कहिल्यै थिइन उत्तरा ।

“बिहेपछि त समय व्यवस्थापन गाह्रै होला,” गम्भीर हुँदै भन्यो उसले ।

विचलित हुनबाट बँच्यो उत्तराको स्वाभिमानसँगै आत्मविश्वास । भयभीत मन मात्रै पुगेको रहेछ ठमेल । आलाकाँचा व्यक्तित्वको अपरिपक्व सोच मात्रै पुगेको रहेछ थाइल्यान्ड । उसको अभिव्यक्तिले ठूलै राहत दियो उत्तरालाई ।

बलियो भएको उत्तराको स्वाभिमानले सायद फेरि उसको मनलाई जिस्क्यायो ।

‘श्रीमतीलाई धेरै समय दिँदो रहेछ ? श्रीमतीले पनि त धेरै समय मागेको हुनुपर्छ । उसलाई धेरै समय दिनुपरेकाले काममा समय व्यवस्थापन गर्न कठिन भएको ? हुनै सक्तैन । काम त उसको प्राथमिकता हो । मेसिन जसरी काममा खटिन्छ । उसले जसरी कामलाई सबैले प्राथमिकता दिने हो भने नेपालको आर्थिक विकासको गति सतप्रतिशत बढ्छ । श्रीमतीलाई समय दिन नसकेकाले गुनासो सुन्नुपर्दा ऊ भित्रभित्रै खुम्चिएको छ । मरिच जस्तै । होइन, होइन, नमस्ते झार जस्तै ।’ उत्तराभित्र हाँसोको फोहोरा नै छुटयो होला भन्ने ठान्यो उसले ।

“त्यही त, सन्तुलन मिलाउन जान्नुपर्‍यो भनेको नि ।” समय व्यवस्थापनसँगै उत्तरा सम्बन्ध व्यवस्थापनको प्रशिक्षणमा लागी ।

“बिहेपछि त समय आफ्ना लागि भन्ने नै रहेन नि । श्रीमती, छोराछोरी, ससुराली, इष्टमित्र, बन्धुबान्धव, अनि व्यवसाय… सकियो जीवन । सकियो समय । कहाँ छ जीवनमा समय ?” पत्तै नपाइ उसले जीवनप्रतिको सारा असन्तुष्टि र दिग्दारी पोखिसकेको थियो ।

“त्यसैले त भनेको नि ‘लभ गर्ने समय छ’ भनेर ? अरुलाई लभ गर्न जाऊ, लभ गर्दै हिँड भनेको होइन । आफूले आफैलाई माया गर । आफैलाई प्रेम गर । आफ्नो मनको खुसीका लागि काम गर । चाहना के हो, बुझ । करले होइन, रहरले काम गर….।” उत्तरा थप्दै गई- “तिमीले आर्जन गरेको सम्पत्ति केका लागि ? कमाएको प्रतिष्ठा केका लागि ? तिमीले गरेको मेहनत र दुःख केका लागि ? सबै अरुका लागि ? खै त तिम्रो पोल्टामा के छ अहिले ? त्यसैले तिमी आफ्नालागि बाँच ।”

“सबै सम्बन्ध नाफाघाटाको सम्भावनाको खेल । खेलमैदानमा कहिले स्नेह निमोठिन्छ, कहिले बिरानासँगको निकटता वलिष्ठ हुँदै जान्छ । आफन्त र आफन्त ठानिएकाहरुसँगको सम्बन्धले कति बेला पल्टाबाजी खेल्छन्, थाहै हुँदैन । जीवन सङ्घर्षको बाटोमा जब समय व्यवस्थापनमा कमजोरी हुन्छ, सम्बन्धहरु उल्टिन्छन् । प्रयास गर्दागर्दै ती सम्बन्धले नमिठो पीडा दिन्छन् ।”

उत्तराको धाराप्रवाह प्रवचन बीचैमा रोकेर उसले पीडा बिसायो ।

“जति गर, संसार कहिल्यै तिम्रो हुँदैन । परिवारको गुनासोमा कमी आउला, अन्त्य हुँदैन । समयक्रमसँगै गुनासाका विषय थपिँदै जान्छन् । त्यसैले म फेरि पनि भन्छु- अब त कम्तीमा तिमी आफ्नालागि जिउने प्रयत्न गर । मनलाई पनि कहिलेकाहीँ खुसी राख । तिम्रो जीवन खै ? तिम्रो खुसी खै ? तिमी जुन समय खोजिरहेछौ, तिम्रो चाहनाभित्रै छ त्यो । तिम्रो मनभित्र छ । एक पटक मात्रै चाहना बुझ्ने कोसिस गर । मात्र एक पटक मनलाई सोध । तिम्रो ‘म’ के चाहन्छ ?” जीवन सुखको दर्शन नै पढाइ उत्तराले ।

“मेरो चाहना मात्रै ? यतिसम्म स्वार्थी हुन सक्छ मान्छे ?”

“अँ, तिमी जसरी बुझ । परिस्थितिहरु जब विपरीत हुन्छन्, तब व्यक्तिको प्रभाव र पैसा होइन मात्र ज्ञान, स्वभाव र सम्बन्ध काम आउँछ । नाफाघाटाभित्र स्वार्थ लुकेको हुन्छ । बढी नाफाले स्नेह र भावनालाई ओझेलमा पारी अहम्कारिता बढाउँछ । घाटाले मित्रतामा फाटो ल्याउन मद्दत गर्छ । समय समयभित्रै लुकेको हुन्छ । नाफाघाटाको सीमान्तभन्दा भिन्न ‘सुगन्धित सम्बन्ध’ ठम्याउने काम तिम्रो हो ।”

व्यस्त कार्यतालिकाको केही समय यत्तिकैमा सकिएको थियो । सायद उत्तराको समय र सम्बन्धको परिभाषा र बुझाइ पनि ।

****

समाज, संस्कृति र परम्पराभन्दा माथिको वास्तविक सम्बन्ध ‘सुगन्धित सम्बन्ध’ ले उसको माथिँगल रिँगायो निकै समय ।

त्यसपछि कैयौं पटक उत्तरासँगको भेटघाट जुरायो समयले, ऊप्रतिको धारणा भने परिर्वतन गराएन । ऊ थिई उत्ताउली केटी !

उसैले म्यासेन्जरमा पठाएका गीतका सयौं लिङ्कमध्येको एक थियो त्यो । जुन अचानकै ‘प्ले’ भएको थियो ।

“हेर्दाहर्दै तिम्रो तस्वीर बोल्यो अनि रोएँ,

अतीतका ती यादहरुले पोल्यो अनि रोएँ….”

उसले गीत पूरै सुन्यो । दोहोर्‍याइ, तेहेर्‍याइ सुन्यो । कल्पनामै रात छर्लङ्ग भइसकेको थियो । निद्रा त परेन तर ऊ बिलकुल फ्रेस थियो । जीवनप्रतिको नयाँ बुझाइसँगै ऊर्जा थपिएको महसुस गर्‍यो । अनि सायद प्रण गर्‍यो मनलाई सुखी पार्ने । आफ्नालागि जिउने ।

म्यासेन्जरमा आएका उसका सन्देश हेथ्र्यो, रिप्लाइ गर्दैनथ्यो । कतिपय लिङ्कहरु त उसले खोलेको पनि थिएन । आज भने उसले उत्तरा अर्थात् उत्ताउली केटीलाई सन्देश पठायो- “हिजो आज म साह्रै फुर्सदिलो भएको छु । आफैंलाई विश्वास नलाग्ने गरी ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment