Comments Add Comment

काठमाडौंका सडक अलपत्र पार्ने १५ कम्पनीलाई विभागले सोध्यो स्पष्टीकरण

३ असोज, काठमाडौं । सरकारले काठमाडौंका विभिन्न महत्वपूर्ण सडक तथा पुलको निर्माण र स्तरोन्नतिमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्त बुझ्दो नभए उनीहरुलाई कालोसूचीमा राख्न सिफारिस गरिने सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंले बताएको छ ।

एकैपटक विभिन्न १६ आयोजनामा ढिलाइ गर्ने १५ ठेकेदारसँग स्पष्टीकरण सोधिएको हो । उनीहरुलाई ठेक्का किन नताड्ने ? भन्नेबारे मनासिव कारण पेश गर्न भनिएको छ ।

स्पष्टिकरण पत्रमा सात दिनभित्र ‘माइलस्टोन’ सहितको अद्यावधिक कार्यतालिका लिएर विभागमा आउन भनिएको छ । यस्तै त्यो तालिकासँग मेला खाने भरपर्दो श्रोत परिचालन योजना पनि पेश गर्न विभागले ठेकेदारहरुलाई भनेको छ ।

मनासिव कारणसहित स्वीकार योग्य योजना पेश नभए विभागले कम्पनीहरुमाथि कारवाही गर्ने बताएको छ । उनीहरुमाथि ठेक्का सम्झौताका शर्त उल्लंघनको आरोप छ । काममा चरम ढिलासुस्ती गरेको भन्दै विभागले उनीहरुलाई जमानत रकम पनि असुल गर्ने चेतावनी दिएको छ ।

यस्तै बाँकी काम सम्पन्न गर्ने लागत रकम कम्पनीबाटै असुल्ने र निर्माण स्थलको सुरक्षाका लागि लाग्ने खर्च पनि कम्पनीलाई नै तिराइने चेतावनी विभागको छ । सार्वजनिक निकायले बेहोर्ने थप खर्च सरकारी बाँकी सरह असुल गरिने पनि विभागले बताएको छ ।

विभागले यी कम्पनीलाई पटक–पटक समयमै काम गर्न निर्दशन दिँदै आएको थियो । तर, ठेकेदारहरुले कानमा तेल हालेर निर्देशन नमानेपछि कारवाही गर्न लागिएको डिभिजन प्रमुख कैलाशकुमार श्रेष्ठले बताए ।

‘काममा ज्यादै ढिलाइ गरिएपछि कारवाहीका लागि प्रक्रिया अघि बढाएका हौं,’ उनले भने ।

आकाशेधारा–राममन्दिर–कृष्णमन्दिर सडक र सुन्दरबस्ती आदर्शनगर–चुनिखेल–टुसाल–जगडोल–राष्ट्रिय शहीदपार्क सडकमा ढिलाइ गर्ने शैलुङ कन्स्ट्रक्सनलाई ७ दिने सूचना दिइएको छ ।

सात तले भण्डारी गार्मेन्ट–आकाशेधारा–बालुवाखानको ठेकेदार दिवा/शैलुङ जेभी, विष्णु बुढानिलकण्ठ–उत्तर शिवपुरी निकुञ्ज सडकका ठेकेदार स्वच्छन्द–पञ्चकन्या जेभीलाई पनि यस्तो चेतावनी दिइएको हो ।

स्पष्टीकारण माग भएका ठेकेदारको सूचीमा बीटी/अजम्बरी जेभी पनि छ । यो कम्पनीले कपनमार्ग–बुढानिलकण्ठको सडक निर्माणमा ढिलाइ गरिरहेको छ ।

बुढानिलकण्ठ–निलोपुल–शिवपुरी निकुञ्ज सडकमा ढिलासुस्ती गर्ने वरुवा कन्स्ट्रक्सन प्रालि, महांकाल–भृकुटीचोक–तेन्जिङचोक–चपली–बुढानिलकण्ठ सडक अलपत्र पार्ने तुँदी/प्रेरा जेभी र मनोहरा करिडोर सडकको बेहाल बनाएर छाड्ने एसएमएनएस र जयबाबा एलसीएसपीएस जेभीलाई पनि कारवाहीको चेतथावनी दिइएको छ ।

टोखा–त्रियोग स्कुल–धापासी–चक्रपथ सडक बनाउन अलमल गर्ने भण्डारी विल्डर्स, र कामख्या/धिताल जेभी, गोंगबु र रमणबस्ती जोड्ने विष्णुमती पुलमा लापरवाही गर्ने सिरुवा कन्स्ट्रक्सन, चक्रपथ–सामाखुसी–टोखा गुर्जुभञ्ज्याङ सडक निर्माण्मा ढिलाई गर्ने सुनौला खिम्ती/रफिना जेभी पनि कारवाही गर्न लागिएका कम्पनीको सूचीमा छ ।

खहरे–मूलपानी–गान्धीमार्ग सडकलाई बिजोक बनाएर छाड्ने मोतिदान/दी कञ्चनजंगा जेभी, पेप्सीकोला–ब्रम्हखेल सडक निर्माणमा अल्मलिएको महालक्ष्मी/वल्र्डवाइड/भण्डार थोडुङ जेभी, पञ्चकन्या मार्ग–देउवा निवास–गिरिजाप्रसाद कोइराला शान्तिपार्क सडकमा ढिलाइ गर्ने गजुरमुखी/मोतीदान– बानियाँ जेभी, साततले–मिलनचोक–अग्निगुम्बा पश्चिम कपन सडक अलपत्र छाड्ने मृतसंजिवनी/वाइवा एण्ड लामा जेभी तथा सिसडोल–बञ्चरेडाँडा सडक निर्माणमा ढिलाइ गरिरहेको कान्छाराम–सुनकोसी जेभीसँग पनि स्पष्टीकरण मागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment