Comments Add Comment

काठमाडौंको फोहोर अब टेकुमा नथुपारिने

३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनबाट फोहोर हटाएको छ । महानगरले लामो समयसम्म थुपारेको फोहोरको दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध गरेका थिए ।

आइतबार टेकुमा राखिएको करिब ३ मेट्रिक टन फोहोर उठाएर ठाउँ पानीले पखालेको महानगरपालिकाले जानकारी दिएको छ । आइतबार मध्यान्ह स्टेशनको अन्तिम फोहोर उठाउने बेला महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेसहित वातावरण व्यवस्थापन विभागका अधिकारी टेकु पुगेका थिए । दुर्गन्ध नफैलियोस् भनेर पखाली सकेपछि फिनेल र चुना छर्किएको न्यौपानले जानकारी दिए ।

उनले अबदेखि ट्रान्सफर स्टेशनमा फोहोर नगर्नेसमेत बताएका छन् । ‘ट्रान्सफर स्टेशन भनेको एकछिन बिसाएर, नमिलेको फोहोर मिलाउने ठाउँमात्रै हो । अब यसको प्रयोग त्यहीअनुरुप हुनेछ’ न्यौपानेले भने, ‘प्राविधिक समस्या मिलाउनुपर्‍यो भने १ दिनसम्म राख्न सकिन्छ, त्योभन्दा बढी ट्रान्सफर स्टेशनमा फोहोर बस्दैन ।’

यसअघि २०७२ भदौ २२ गते पनि ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाइएको थियो । फोहोर लगेर खन्याउन समस्या हुने हुँदा टेकुमा जम्मा हुने गरेको थियो ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment