Comments Add Comment

किन अष्ट्रेलियाका सबै अखबारको पहिलो पृष्ठमा कालो पोतियो ?

४ कात्तिक, काठमाडौं । अष्ट्रेलियाका अखबारहरूले सोमबार आफ्नो पहिलो पृष्ठमा कालो पोतेर सरकारको विरोध गरेका छन् ।

सञ्चार माध्यमहरूलाई सरकारले लगाम लगाउन खोजेको भन्दै त्यहाँका अखबारहरूले पहिलो पृष्ठमा कालो पोतेका हुन् ।

बीबीसी हिन्दीका अनुसार, सोमबार प्रकाशित देशका सबैभन्दा ठूला अखबार र तिनका प्रतिस्पर्धीले मुख्यपृष्ठमा छापिएका समाचारमा कालो पोतेर लालमोहर लगाउँदै ‘सिक्रेट’ लेखेका छन् ।

न्युज कार्प अष्ट्रेलियाका कार्यकारी अध्यक्षले आफ्नो अखबारको पहिलो पृष्ठको तस्वीर ट्विट गर्दै सरकार हामीबाट के लुकाउन चाहन्छ भनेर प्रश्न गर्न जनतासँग आग्रह गरेका छन् ।

सरकारविरुद्ध किन उत्र्ँदैछन् अष्ट्रेलियका सञ्चारमाध्यम ?

अष्ट्रेलियाली सरकारले अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)को मुख्यालयसँगै एक पत्रकारको घरमा छापा मारेपछि त्यहाँका सञ्चारकर्मी संघर्षमा छन् । उनीहरूले गत जूनमै यो प्रकरणले प्रेसमाथि हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा पहिलो पृष्ठमा कालो पोतेका थिए ।

सरकार र सञ्चारमाध्यमबीच गत जूनदेखि देखापरेको यो तिक्तता घट्नुको साटो थप बढेको छ र त्यहाँका देशभरका सञ्चारमाध्यमहरू विरोधमा उत्रिएका छन् ।

अस्ट्रेलियाले बितेका दुई दशकमा कडा सुरक्षा कानून बनाएको र त्यसले खोज पत्रकारितामा खतरा सिर्जना गरेको पत्रकारहरूको दाबी छ । गत वर्ष लागू गरिएको राष्ट्रिय सुरक्षा कानूनले रिपोर्टिङलाई रोकेको र गोपनीयताको संस्कृति सिर्जना गरेको ठहर त्यहाँका पत्रकार तथा सञ्चार माध्यमको छ ।

त्यहाँका अखबारहरूले प्रेस स्वतन्त्रताको वकालत गर्दै ‘राइट टू कोएलिशन’ अभियान सञ्चालन गर्दै आइरहेका छन् । अखबारले थालेको यो अभियानमा पछिल्लो समय त्यहाँका टेलिभिजन, रेडियो र अनलाइन समूहहरू पनि समर्थनमा देखिएका छन् ।

अष्ट्रेलियाली सरकारले भने प्रेसलाई संकुचन गराउन खोजेको आरोपको खण्डन गर्दै आइरहेको छ । प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध भए पनि कानूनभन्दा माथि कोही पनि नरहेको त्यहाँको सरकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment