Comments Add Comment

सत्य निरुपणको अध्यक्षमा रमन श्रेष्ठको ‘च्याप्टर क्लोज’

सरकारले राष्ट्रिय मानवअधिकार आयोगसँग छलफल गर्ने

५ कात्तिक, काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउने शीर्षनेताहरुको सहमति गर्भमै तुहिएको छ । अब नयाँ अध्यक्षको खोजी सुरु भएको उच्च स्रोतको दाबी छ ।

४ भदौमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकमा श्रेष्ठको नाममा अनौपचारिक सहमति जुटेको थियो ।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता बनेका श्रेष्ठलाई त्यसपछिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लामो समय निरन्तरता दिएका थिए । यसले गर्दा श्रेष्ठ दुबै नेताका लागि स्वीकार्य बने ।

प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले भने श्रेष्ठलाई नरुचाएको बताइन्छ । यद्यपि सत्य निरुपण आयोगमा प्रचण्ड र देउवाबीच हुने सहमतिलाई स्वीकार गर्न तयार भएका प्रधानमन्त्री ओलीले रमनको नाममा सुरुमा सहमति जनाएका थिए ।

तर, श्रेष्ठका नाममा द्वन्द्वपीडितहरु र मानवअधिकार आयोगसमेतले असहमति जनाएपछि सरकार एक कदम पछि हटेको छ । सुरुमा असन्तुष्ट पक्षलाई मनाउने प्रयास गरिए पनि त्यो असफल भएकाले अब श्रेष्ठ सत्य निरुपण आयोगको अध्यक्ष बन्ने होडबाट बाहिरिएको स्रोतको दाबी छ ।

श्रेष्ठभन्दा अगाडि अधिवक्ता गोबिन्द बन्दी र सूर्य ढुंगेलको नाम पनि चर्चामा आएको थियो । तर, बन्दीलाई कांग्रेस र ढुंगेललाई नेकपा नेतृत्वले स्वीकार नगरेपछि श्रेष्ठको नाम अगाडि सारिएको थियो ।

सोमबार बालुवाटारमा बसेको दुई दलका शीर्षनेताहरुको बैठकमा रमण श्रेष्ठको विकल्पमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश, मानवअधिकार आयोग लगायत सबैलाई स्वीकार्य हुने व्यक्तिको खोजी गर्ने सहमति भएको छ ।

शीर्षनेताहरुले दुबै आयोगका पदाधिकारी चयन र संयक्रमणकालीन न्यायबारे मानवअधिकार आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने तयारी पनि गरेका छन् ।

सहमति खोज्ने जिम्मा चार नेतालाई

दुबै आयोगका पदाधिकारी मात्र होइन, ऐन संशोधनमा पनि दलहरुबीच सहमति हुन बाँकी छ । विधेयक संशोधन गर्नुपूर्व सात प्रदेशमा सुझाव संकलन गर्न तयारी छ । ऐन संशोधन र सुझाव संकलनबारे गृहकार्य गर्ने जिम्मा चार नेतालाई दिइएको छ ।

नेकपाबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उर्जामन्त्री वर्षमान पुन तथा कांग्रेसका रमेश लेखक र मिनेन्द्र रिजाल तोकिएका छन् । चार नेता पछिल्लो समय संक्रमणकालीन न्यायका विषयमा लगातार छलफलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment