Comments Add Comment

तरुण दल स्थापना दिवसमा समानान्तर चियापान !

५ कात्तिक,काठमाडौं । एकले अर्कोलाई कारवाही घोषणा गरेका तरुण दल अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले तरुण दल स्थापना दिवसमा एकै ठाउँमा अलग अलग कार्यक्रम गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कात्तिक १० गते एकै दिन दुवै पक्षले कार्यक्रमका लागि स्थान मागेका छन् । महासचिव शाहीले चियापान तथा तरुण भेलाका लागि आफूले केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जानकारी गराइसकेको बताए ।

महासचिव शाहीले उपत्यकास्तरीय तरुण भेला आयोजना गरेर कात्तिक १० गते स्थापना दिवस मनाउने घोषणा गरेका हुन् । सोही दिन संगठनको तर्फबाट चियापान कार्यक्रम केन्द्रीय कार्यालयमै राखिएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताएका छन् ।

गत भदौ २८ गते एकअर्कालाई कारवाहीको घोषणा गरेका अध्यक्ष बस्नेत र महासचिव शाहीले तरुण दलको स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम स्थल पनि एउटै तय गरेपछि दुवै पक्षबीच झडपको सम्भावना समेत बढेको छ ।

बस्नेतले जारी गरेको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयमा चियापान समारोह आयोजना गरिने उल्लेख छ भने शाहीले पनि सोही दिन पार्टी केन्द्रीय कार्यालयमै चियापान कार्यक्रम आयोजना गरिने प्रतिक्रिया दिएका छन् ।

महासचिव शाहीले वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यता र महामन्त्री डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा आयोजना गरिने भेलाका लागि आफ्नो नेतृत्वमा सबै जिल्ला अध्यक्ष सदस्य रहेको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको बताएका छन् ।

उनले चियापान कार्यक्रममा नेताहरु प्रकाशमान सिंह,डा. रामशरण महत, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइरालालगायतका नेताहरुलाई आमन्त्रण गरिएको बताए ।

ती सबै नेता देउवा विरोधी खेमाका हुन् । अध्यक्षलाई कारवाही गरिसकेकाले आफूलेनै अध्यक्षको हैसियतमा तरुण दल चलाइरहेको दावी उनको छ । उनले पार्टी केन्द्रीय कार्यालयमै चियापान गरिने बताए ।

बस्नेत पक्षले गरेको चियापानमा सभापति शेरवहादुर देउवा लगायतका नेताहरुलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment