Comments Add Comment

उपचुनावको अंकगणित : नेकपाका २८, कांग्रेसका १४ सीट दाउमा

यस्तो छ उपनिर्वाचन हुने ५२ स्थानको शक्ति सन्तुलन

५ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते तीन तहका कुल ५२ सीटमा हुन गइरहेको उपनिर्वाचनमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसवीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर, विगतमा एमाले र माओवादीले बेग्लाबेग्लै उम्मेद्वारी दिएको हुनाले यसपालिको चुनावमा एकीकृत नेकपासँग भिडन्त गर्नु नेपाली कांग्रेसका लागि फलामको च्यूरा चपाएसरह हुने देखिएको छ ।

यद्यपि प्रस्तुत समाचारमा हामीले आगामी चुनावको विश्लेषण गरेका छैनौं । यहाँ केवल उपनिर्वाचन हुन लागेका ५२ स्थानमा विगत २०७४ सालको चुनावमा कुन दलले कति स्थान जितेका थिए भन्ने अंकगणीय प्रस्तुती मात्र दिने प्रयास गरिएको छ ।

आगामी मंसिर १४ मा उपचुनाव हुने कुल ५२ सीटमध्ये तत्कालीन एमालेले जितेका २६ सीट र माओवादीकेन्द्रले जितेका २ सीट गरी कुल २८ वटा सीटहरु नेकपाका तर्फबाट चुनावी दाउमा लागेका छन् ।

नेकपाले जितेर रिक्त भएका २८ सीटमध्ये एउटा प्रतिनिधिसभा, दुईवटा प्रदेशसभा, एउटा उपमहानगरको मेयर, एउटा गाउँपालिका अध्यक्ष र एउटा उपाध्यक्षसमेत छन् ।

त्यस्तै, एमालेले जितेका नगरपालिकाका ११ र गाउँपालिकाका १० गरी कुल २१ वटा वडाध्यक्ष पदहरु चुनावी दाउमा लागेका छन् । माओवादीले जितेका गाउँपालिकाका दुईवटा वडाध्यक्ष पद चुनावी दाउमा होमिएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ०७४ को चुनावमा जितेका १४ वटा सीटहरु चुनावी खालमा परेका छन् । कांग्रेसले जितेका एउटा गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, ७ नगरपालिकाका वडाध्यक्ष र ५ वटा गाउँपालिकाका वडाध्यक्ष पदहरु यसपालि चुनावी दाउमा लागेका छन् ।

राष्ट्रिय जनमोर्चाले जितेको एउटा प्रदेशसभा सदस्य र एक गाउँपालिकाको वडाध्यक्ष जोगाउनुपर्ने उसलाई चुनौती छ । त्यस्तै राजपाले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष जोगाउनुपर्ने चुनौती छ भने सत्तारुढ समाजवादी पार्टीले दुईवटा वडाध्यक्ष जोगाउनुपर्ने चुनौती छ ।

कास्कीमा मुख्य चासो

आगामी उपनिर्वाचनमा दलहरुको सबैभन्दा बढी ध्यान कास्की २ मा देखिने छ । नेकपाका युवा नेता एवं पूर्वमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको प्रतिनिधिसभाको यो सीटमा ०७४ को चुनावमा कांग्रेस र एमालेवीच निकै लामो ‘ग्याप’ थियो ।

विगतको त्यो ‘ग्याप’ लाई कायमै राख्नुपर्ने नेकपालाई चुनौती छ भने त्यो फरकलाई साँघुरो बनाउनुपर्ने कांग्रेसलाई चुनौती छ । साझा पार्टी लगायतका तेस्रो शक्तिले पनि कास्कीतिर नजर लगाइरहेका छन् । तर, सत्तारुढ नेकपासँगको चुनौती अन्य दलहरुका लागि असम्भवै नभएता पनि सजिलो देखिँदैन कास्कीमा

प्रदेशमा कांग्रेसले केही गुमाउँदैन

मंसिर १४ गते तीन वटा प्रदेशसभामा उपचुनाव हुँदैछ । ०७४ को चुनावमा यी तीनवटै प्रदेशसभामा नेपाली कांग्रेसले एक सीट पनि नजितेको हुनाले उसले यसपटक प्रदेशसभामा गुमाउने केही पनि छैन ।

तर, प्रदेशभाका तीनवटै सीटमा नेपाली कांग्रेस नै दोस्रो स्थानमा रहेकाले उसले जीतको सम्भावनालाई छुन सक्छ कि सक्दैन भन्ने दृश्यले प्रदेशसभाको चुनावलाई रोचक बनाउने छ । र, यहाँ विपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपावीचको जनमतको परीक्षा राम्रोसँग हुनेवाला छ यसपालि ।

०७४ को चुनावमा तीनवटा प्रदेशसभामध्ये भक्तपुर, बाग्लुङ र दाङ सबै ठाउँमा नेपाली कांग्रेस दोस्रो स्थानमा थियो । अर्कोतर्फ, भक्तपुर र दाङका दुई सीट यसअघि एमालेले जितेको हुनाले ती सीट जोगाउनुपर्ने नेकपालाई चुनौती अहिले थपिएको छ ।

उता बाग्लुङको प्रदेशसभा सीट यसअघि चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा -राजमो) ले जितेको थियो । त्यहाँ राजमोले पहिलेजस्तै तालमेल गर्न नेकपालाई आग्रह गरेको छ । राजमो र नेकपावीच तालमेल भएन भने त्यहाँ कांग्रेसका लागि जित हात पार्ने मौका आउन सक्छ ।

धरान नेकपाका लागि ‘सुरक्षित जोन’ मा

स्थानीय तहमध्ये यसपालि धरान उपमहानगरपालिकामा मेयर पदका लागि उपचुनाव हुँदैछ । यसअघि त्यहाँ माओवादीले नसघाउँदा पनि एमालेले भारी मतान्तरले जीत हात पारेको हुनाले यो उपमहानगरपालिका नेकपाका लागि ‘सुरक्षित जोन’ मानिन्छ ।

धरानमा नेपाली कांग्रेसले यसपटक निकै नै जोड गर्न खोजेको छ । तर, उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग तालमेल नगर्ने हो भने धरानमा कांग्रेसले चुनाव जित्न जादू नै हुनुपर्ने देखिन्छ । तथापि नेकपा अलोकपि्रय भएकाले विगतको गणित उलट-पुलट हुने दाबी कांग्रेसका नेताहरुले गरिरहेका छन् ।

४ गाउँपालिका सिंगै चुनावमा होमिँदै

आगामी मंसिर १४ मा चारवटा गाउँपालिकाहरु अंशमा मात्र नभएर पूर्णरुपमा चुनावमा होमिँदैछन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिका पूर्णरुपमा चुनावमा होमिन लागेका हुन् ।

फाल्गुनन्द, मकालु र पिपरामा गाउँपालिका अध्यक्ष पदका लागि उपचुनाव हुँदैछ भने खार्पुनाथमा उपाध्यक्षको पदपूर्तिका लागि चुनाव हुँदैछ ।

कांग्रेस, नेकपा र राजपाले जीतेका एक/एक वटा गाउँपालिका अध्यक्ष पदहरु चुनावी दाउमा परेका छन् । खार्पुनाथको उपाध्यक्ष पद  नेपाली कांग्रेसकै तर्फबाट चुनावी दाऊमा लागेको छ ।

नगरपालिकाका २२ वडामा रोचक भिडन्त

आगामी उपचुनावको अर्को रौनक देशभरिका विभिन्न नगरपालिकामा देखिनेवाला छ । देशभरिबाट नगरपालिकाका २२ सीटमा उपचुनाव हुँदैछ । जसमध्ये एमालेले जितेका ११ सीट, कांग्रेसले जितेका ७ सीट, मधेस केन्दि्रत दलले जितेका ३ सीट र स्वतन्त्रले जितेका १ सीटका लागि विभिन्न नगरपालिकामा चुनावी भिडन्त हुँदैछ ।

यीमध्ये भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका एक/एकवटा वडाध्यक्ष पदमा समेत चुनाव हुने भएकाले चुनावी रौनकले ठूला शहरलाई पनि छुने पक्कापक्की छ । नगरपालिकाका वडाहरुको चुनावमा धेरै सीटको सुरक्षा गर्नुपर्ने दायित्व सत्तारुढ नेकपाकै काँधमा देखिन्छ, प्रतिपक्षी कांग्रेसको भन्दा ।

गाउँपालिकाका २१ वडामा चुनाव हुँदै

विभिन्न गाउँपालिकाका २१ वडाध्यक्ष मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । गाउँपालिकाका २१ वडाध्यक्षमध्ये गत स्थानीय चुनावमा नेकपाले १० सीट र माओवादीले २ सीट गरी जम्मा १२ सीटमा जित हात पारेका थिए । आगामी चुनावमा १२ सीट जोगाउँदै अरु थप्ने लक्ष्य नेकपाले लिने देखिन्छ भने कांग्रेसले यसअघि जितेका ५ सीट जोगाउँदै अरु हात पार्नुपर्ने चुनौती छ ।

राजपा, समाजवादी, राजमो र स्वतन्त्रले जितेका एक/एक सीटमा उपचुनाव हुँदैछ । यसपटक साना पार्टीले यी सीटहरु जोगाउलान्, नजोगाउलान्, अहिल्यै भन्न सकिँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment