Comments Add Comment

२० वर्षअघिका बलात्कारी अमेरिकाबाट फिर्ता

पातालमा पुगे पनि जोगिएनन् अपराधी

६ कात्तिक, काठमाडौं । बुधबार बिहान टर्की एयरको विमान काठमाडौं विमानस्थलमा ओर्लनासाथ नेपाल प्रहरीको एक टोली त्यहाँ पुग्यो । विमानबाट ओर्लनेवित्तिकै अमेरिकाबाट नेपाल आइपुगेका एक युवकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो ।

झापामा आजभन्दा २० वर्ष पहिले एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा यी युवकलाई अमेरिकामै पक्राउ गरेर नेपाल ल्याइएको हो ।

दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका झापा चन्द्रगढी-३ का ४२ वर्षीय लीलाराज गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो ।

नेपाल प्रहरीले गरेको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए ।

सोही आदेश अनुसार उनलाई टर्कीस एयरबाट बुधबार काठमाडौं ल्याइएको हो ।

सामुहिक बलात्कारपछि रुखमा झुण्ड्याइयो

झापाको चन्द्रगढी- ३ बस्ने सन्ध्या राजबंशी वि.सं. ०५७ साल असोज २९ गते राति चारआली जंगल छेऊको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिइन् ।

सन्ध्यालाई सामुहिक बलात्कार गरेर घाँटी थिची हत्या गरी रुखमा झुण्ड्याइएको अभियोगमा प्रहरीले लीलाराज गौतम, मनोज खड्का र सीताराम बस्नेतलाई पक्राउ गरी मुद्दा चलायो । घटनाको भोलिपल्ट असोज ३० गते मृतकका बुवा राजकुमार राजबंशीले जिल्ला प्रहरी कार्यालय झापामा दिएको जाहेरीका आधारमा  तीन जनाविरुद्ध मुद्दा अगाडि बढेको थियो ।

तर, झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते लीलाराज गौतमलाई मुद्दाबाट सफाइ दियो । सोही साल चैत २८ गते पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्दै गौतमलाई जोगायो ।

हत्याको घटना भएको ९ वर्षपछि सर्वोच्च अदालतले ०६६ साल भदौ २९ गते  अर्को फैसला सुनायो । सर्वोच्चले तल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लीलाराज गौतम समेतलाई जन्मकैदको सजायँ सुनायो । सर्वोच्चले यस्तो फैसला सुनाउँदा गौतम प्रहरीको पञ्जाबाट उम्किइसकेका थिए ।

प्रतिवादी गौतम ०५७ कात्तिक १ देखि ०५८ साउन ३२ सम्म १० महिना थुनामा परेका थिए । सो अवधि कट्टा गरेर उनलाई १९ वर्ष २ महिना जेलमा राख्न सर्वोच्च अदालतले ०६६ सालमै फैसला सुनाउँदा उनी अमेरिका पुगिसकेका थिए ।

१८ वर्षपछि अमेरिकामा भेटिए

सर्वोच्च अदालतले १९ वर्ष दुई महिना कैद गर्न आदेश दिएका गौतम अमेरिकामा रहेको गत वर्ष मात्र खुलासा भएको हो । सन् २०१८ जनवरी ५ मा गौतम अमेरिकामा रहेको सुइँको नेपाल प्रहरीले पाएको थियो ।

०७४ साल असोज २६ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट गौतमलाई पक्राउका लागि रेड कर्नर नोटिस जारी गरिदिन इन्टरपोल वाशिंटनलाई पत्राचार गरिएको थियो । सोही पत्रका आधारमा मंसिर १२ गते रेड नोटिस जारी भएको थियो ।

नेपाल प्रहरीले इन्टरपोललाई उपलब्ध गराएका सम्पूर्ण कागज पत्रका आधारमा २०१८ फेबु्रअरी १३ मा गौतमलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको थियो । पक्राउ परेको करिब डेढ वर्षपछि उनी नेपाल प्रहरीको नियन्त्रणमा आइपुगेका छन् ।

पातालमा पुगे पनि जोगिएनन् अपराधी

झापाकी सन्ध्या राजबंशी जस्तै गत वर्ष कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तले अहिलेसम्म न्याय पाएकी छैनन् । निर्मलाका हत्यारालाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन ।

तर, प्रहरीले चाहने हो भने २० वर्ष पहिलेका बलात्कारी र हत्यारालाई संसारको जुनसुकै कुनामा लुकेर बसेको भए पनि समात्न सक्दोरहेछ भन्ने सन्देश यो घटनाले दिएको छ ।

भनिन्छ, अमेरिका पाताल लोक हो । तर, नेपाल प्रहरीको अथक प्रयासले अन्ततः पाताल लोकमा पुगेका अपराधीसमेत समातिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment