+
+
Shares

लाप्राकमा एनआरएनएले बनाएको नमूना वस्तीको काम रोकियो

विकास मरहट्टा विकास मरहट्टा
२०७६ कात्तिक ६ गते १३:३३

६ कात्तिक, गोरखा । निर्माण सामग्री अभावका कारण लाप्राकमा निर्माणाधीन एकीकृत नमूना वस्तीको काम रोकिएको छ । गत असोज १५ गतेदेखि काम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का ओभरसियर डिलप्रसाद गुरुङले बताए ।

‘स्टक सामान सकियो,’ उनले भने, ‘बाटोका कारण सामान ल्याउन सकेका छैनौ ।’ बर्खामा बिग्रिएको सडक मर्मत नहुँदा समस्या भएको उनले बताए ।

‘असोज महिनापछि बाटो खुल्छ भनेर त्यही अनुसार निर्माण सामाग्री स्टक राखेका थियौ,’ उनले भने, ‘तर बारपाकदेखि लाप्राक आउने सडक बनेन, सामान पनि सकियो ।’ सिमेन्ट अभावकै कारण काम रोकिएको उनले जानकारी दिए ।

बारपाक र लाप्राकबीच सीमा विवादका कारण सडक मर्मतको काम रोकिएको थियो । विवाद मिलाउन मंगलबार दुबै पक्षबीच सात वुँदे सहमति समेत भइसकेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको नमूना वस्तीमा ५ सय ७३ घर बनेका छन् । घरको संरचना तयार भइसकेको छ । अहिले शौचालय निर्माणको काम हुदैछ । ‘४१ वटा शौचालय निर्माण भइसक्यो, ३ सय ६० वटाको खाडल खनेर डीपीसी गरियो, सिमेन्ट नभएर अहिले काम रोकिएको छ,’ उनले भने ।

सडक मर्मत भएर सवारी आवागमन सहज नभएसम्म काम शुरु गर्न नसकिने उनको भनाइ छ । यसअघि शौचालय निर्माण गर्ने योजना एनआरएनएको थिएन । स्थानीयको गुनासो बढेपछि शौचालय निर्माण गर्ने निर्णय गरिएको हो । सामग्री आएको एक महिनाभित्र शौचालय निर्माणको काम सम्पन्न हुने एनआरएनएको दावी छ ।

घरभित्रको बुइगलमा काठ छाउने काम बाँकी रहेको इन्जिनियर लक्ष्मण अर्याल बताउँछन् । ‘काठ ल्याउने जिम्मा स्थानीयलाई दिएका थियौ तर कतिपयले काठ नल्याउँदा घरको दोस्रो तलामा काठ छाउने काम नै हुन सकेको छैन,’ उनले भने ।

त्यसका लागि समन्वय गरिदिन गाउँपालिकालाई आग्रह गरिएको उनले बताए । वस्तीमा खानेपानी वितरणका लागि हिमालको फेदी भुल्मेचेत मुहानबाट पानी ल्याइएको छ ।

वस्तीदेखि करिब सय मिटरमाथि रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ‘ट्याङ्कीमा पानी आइसक्यो, अब वस्तीमा ल्याउन मेन पाइपलाइन खन्ने काम भइरहेको छ,’ अर्यालले भने । करिव १८.३ हेक्टर क्षेत्रफलको सार्वजनिक जग्गामा वस्ती निर्माण भइरहेको हो ।

चिठ्ठा थुतेर लाप्राकीले नमूना वस्तीमा आफ्नो घर छनोटसमेत गरिसकेका छन् । जग्गा कित्ताकाट गरेर लालपुर्जा दिने प्रक्रिया अगाडि बढिसकेको एनआरएनएले जनाएको छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?