Comments Add Comment
मेरो कथा :

बिट मार्ने तयारीमा थिएँ, सागले फर्कायो

प्रायः खेलाडीलाई अन्तर्वार्तामा सोधिने प्रश्न हुन्छ- तपाईंलाई परिवारको कत्तिको सपोर्ट छ ? यसकारण कि धेरै खेलाडीले संघर्षकालमा परिवारबाट समर्थन पाएका हुँदैनन् । एकातिर खेलकुदमा लागेर भविश्य सुरक्षित नदेख्नु र अर्कोतिर खेलकुदमा लागेर छोराछोरीले पढाइ विगार्ने डर आमाबाबुलाई हुन्छ ।

मेरो कथाचाहिँ ठीक उल्टो छ । म आफ्नो इच्छाविपरीत परिवारको करकापमा खेलकुदमा होमिएकी हुँ । मेरो बुवाले जोड नगर्नुभएको भए म आज तेक्वान्दो खेलाडीको रुपमा सायदै चिनिने थिएँ । ओलम्पिक त सपनामा पनि नचिताएको कुरा ।

मैले न त तेक्वान्दोमा भविश्य देखेकी थिएँ, न ओलम्पिक खेल्ने सपना थियो । तर यही तेक्वान्दोले नै मलाई चिनारी दियो । अन्तिम क्षणसम्म संघर्ष गर्न सिकायो । जितमा नमात्तिन, हारमा नआत्तिन सिकायो । अनि, मेरो निरुद्देश्यीय जीवनलाई बाटो देखायो ।

म कसरी यो स्थानसम्म आएँ भन्ने त बताउने नै छु । त्योभन्दा अगाडिचाहिँ रियो ओलम्पिकको अनुभव सुनाउँछु, जुन मेरो खेल करिअरको उत्कर्ष विन्दु थियो ।

****

एक दिन अभ्यास सकेर घर फर्किदै थिएँ । मोबाइलको घण्टी बज्यो । यसो हेरेँ । हङकङबाट राजु खड्का गुरुको फोन रहेछ ।

‘हेलो नमस्कार गुरु’ भन्न नपाउँदै उताबाट आवाज आयो, ‘लु बधाई छ है, रियो ओलम्पिक २०१६ मा वाइल्ड कार्डबाट छनोट भएकोमा ।’

म त ट्वाँ… परेँ ।

सुरुमा विश्वास नै गर्न गाह्रो भयो । सपना जस्तो पनि लाग्यो । ओलम्पिक खेल्ने कुरा मेरोलागि सपनाजस्तै थियो ।

उहाँसँग कुरा सकेर हतार-हतार ओलम्पिक कमिटीमा फोन हानेँ ।

सोधेँ, ‘रियो ओलम्पिकमा मेरो नाम छनोट भएको छ रे हो ?’

उहाँहरुलाई अत्तोपत्तो रहेनछ । एकजनाले ‘चेक गरेर भन्छु’ भन्नुभयो । केहीबेरपछि फोन आयो, सकारात्मक जवाफसहित । मेरो खुशीको सीमा रहेन । एकछिन त हावामा उडेजस्तो भएँ ।

इन्चोन एसियन गेम्स २०१४ मा गरेको प्रदर्शनका आधारमा मलाई रियो ओलम्पिकको लागि नेपाल ओलम्पिक कमिटीले छात्रावृत्ति मिलाइदिएको थियो । त्यसपछि मैले लामो समय अभ्यास गरेँ । फिलिपिन्समा २०१६ मै भएको ओलम्पिक छनोट प्रतियोगिता खेलेँ । त्यो छनोट प्रतियोगितामा नराम्रो हार व्यहोरेपछि मेरो ओलम्पिक खेल्ने सपना चकनाचुर भएको थियो । मेरोलागि ओलम्पिक खेलकुदमा भाग लिने ढोका बन्द भइसकेको ठानेकी थिएँ । मभन्दा सिनियर खेलाडीले नपाएको छात्रावृत्ति मैले पाएकी थिएँ । त्यसमा न्याय गर्न सकिनँ भनेर मनमा धेरै दिनसम्म थकथकी लागिरहेको थियो ।

****

यहाँ हौसला दिनेभन्दा पनि आरिस गर्नेको जमात ठूलो छ । मैले वाइल्ड कार्डबाट ओलम्पिक खेल्ने अवसर पाउँदा धेरैलाई पचेन । आत्मबल बढाउनेभन्दा पनि ‘डोमिनेट’ गर्ने धेरै पाएँ । भाग्यको बलमा अवसर पाएको भनेर कुरा काट्थे । मौका पाएपनि ‘गर्न सक्ने केही होइन’ भन्ने आशय व्यक्त गर्थे उनीहरु ।

यस्ता कुराले मलाई दुःखी र निराश बनाएको थियो । निकै दबाब महसुस गरेँ । म पनि छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि निरन्तर आफ्नो तौल समूहमा स्वर्ण पदक जितेकी खेलाडी हुँ । तर अरुले होच्याउँदा मन खिन्न मात्रै हैन, दुख्दो रहेछ ।

जे भए पनि मन बलियो बनाउनुको विकल्प थिएन । कुरा काट्नेहरुको मुख थुन्छु भन्ने अठोट गरेँ । कडा अभ्यास गर्न थालेँ ।

आफूभन्दा सिनियर दाइ-दिदीहरुलाई पन्छाउँदै मैले २० वर्षको उमेरमा ओलम्पिक खेलेँ । नेपालको प्रतिनिधित्व गर्दै ब्राजिलमा भएको रियो ओलम्पिकमा भाग लिएकी थिएँ । विश्व नम्बर एक खेलाडीदेखि चर्चित हस्तीहरु थिए त्यहाँ । टाइसिट पनि आयो । म विश्व नम्बर एक खेलाडी चिनकी जिहेङ सुयिनसँग परेँ ।

तालिका आउँदा नै हार्ने निश्चित जस्तो भयो । तर, सजिलै नहार्ने र जसरी भए पनि तीन राउण्ड नै खेल्ने मैले उद्देश्य लिएँ । नकआउट नहुने अठोट गरेँ ।

****

शुक्रबार अगष्ट १९ तारिख २०१६ ।

यो दिन मेरोलागि यादगार छ । विश्व नम्बर १ खेलाडी सुयिनविरुद्ध म रिङमा उत्रिएकी थिएँ । खेल तीन राउण्ड नै चल्यो । म उनीसँग दुई नम्बरले हारेँ ।

यो मेरोलागि उत्कृष्ट प्रदर्शन थियो । सबैले राम्रो खेल्यौ भनेर बधाई दिनुभयो । खेल त हारेँ, तर सबैको मन जितेँ । यो नै मेरोलागि सबैभन्दा ठूलो उपलब्धि थियो ।

मलाई हराएकी सुयिन फाइनलसम्म पुगेको भए मैले अर्को खेल खेल्न पाउने थिएँ । त्यसको लागि म भगवानलाई जप्दै बसेँ । ब्राजिलमा विहानको साढे ११ बजेतिर मेरो पहिलो खेल भएको थियो । रातिको साढे सात बजेतिर सुयिन फाइनलमा पुगिन् । मैले फ्रान्सकी ग्वालिड्स इपाङउईसँग खेल्ने भएँ ।

यो मेरोलागि अर्को अवसर थियो । त्यो रिङमा मैले धेरै कुरा सिक्ने मौका पाएँ । फ्रान्सकी खेलाडीसँग पनि मेरो खेल प्रतिस्पर्धात्मक नै भएको थियो । पहिलो सेटमा उनले तीन अंक पाइन् । दोस्रो सेटमा म तीन अंक बटुल्न सफल भएँ । तेस्रो राउण्डमा एक नम्बरले चुकेँ । अझ ध्यान दिएर खेल्न सकेको भए जित्ने रहेछु जस्तो लाग्यो । तर प्राविधिक पक्षमा हामी निकै पछि रहेछौं ।

****

मैले रियो ओलम्पिकको अनुभव त सुनाएँ । तर, त्यो स्थानसम्म आफूलाई कसरी पुर्‍याएँ भन्ने पनि त तपाईंको मनमा जिज्ञासा होला । सन् २०१४ मा नेपालमै भएको दोस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय प्रतियोगिताबाट म तेक्वान्दोमा चिनिन थालेकी हुँ । यो प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीले २०१४ मै कोरियामा हुने एसियन गेम्समा भाग लिन पाउने थियो । मैले आफ्नो तौल समूहमा स्वर्ण पदक जित्दै इन्चोन एसियन गेम्सको टिकट पक्का गरेकी थिएँ ।

त्यसपछि कडा परिश्रम गर्दै कोरियाको लागि तयारी थालेँ । त्यो बेला म जुनियर थिएँ । भरखरै छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेर क्याम्पमा परेको । अनुभवको कमी थियो । पहिलो पटक अन्तर्राष्ट्रिय भूमिमा ठूलो प्रतियोगिता खेल्दै थिएँ ।

त्यो एसियन गेम्समा मेरो पहिलो प्रतिस्पर्धा मकाउसँग थियो । जुनान वाङ भन्ने खेलाडीसँग म ११-४ को स्कोरमा हार्न पुगेँ । त्यो बेला अनुभवको कमीले होला, होश नपुर्‍याई बाङबुङ खेल्ने गर्थें । तर पनि म प्रतियोगितामा पाँचौं हुन सफल भएँ ।

मैले २०१८ को इन्डोनेसियामा भएको जाकार्ता एसियन गेम्स पनि खेल्ने अवसर पाएँ । सन् २०१६ मै भारतमा आयोजना भएको सागमा खेल्ने ठूलो धोको थियो । साग गेम्स भनेर अन्तिम समयसम्म क्लोज क्याम्पमा रहेर मैले कडा मेहनत गरेकी थिएँ ।

तर भारतले आफ्नो पदक आउने आशा गरेको तौल समूह मात्र समावेश गरेको हुँदा मेरो तौल समूह छुट्यो । सबै साथीहरु सलोङ जाँदा म भने घरमै ।

त्यसमाथि भारतमा नेपाली खेलाडी फाइनल पुग्दै स्वर्ण पदक जित्न चुकेको खबरले मन भतभती पोल्थ्यो । मैले आफ्नो समूहमा खेल्न पाएको भए… जस्तो लाग्थ्यो ।

घरेलु प्रतियोगिताको कुरा गर्दा मैले पाँचौं राष्ट्रिय खेलकुददेखि खेल्न थालेकी हुँ । पाँचौमा दोस्रो भएँ भने छैटौं र सातौंमा स्वर्ण पदक जित्न सफल भएँ । तर म अमेरिकामा भएकीले आठौं राष्ट्रिय खेलकुद  प्रतियोगिता भने खेलिनँ ।

यो साग खेलकुदकै लागि भनेर मात्रै म आएकी हुँ । खेलाडी जीवनलाई विट मार्ने योजना थियो । तर तेक्वान्दोबाटै टाढिएको भने होइन । अमेरिकामा तेक्वान्दो सिकाउने काम गर्थें । खेलकै दौरानमा अमेरिका गएकी हुँ । त्यहाँ एक सम्मान कार्यक्रममा २०१६ मै गएको थिएँ । त्यसपछि फेरि एप्लाई गरेर गएँ । भिसा अझै तीन वर्षसम्म छ । म जहाँ गए पनि तेक्वान्दो छोड्दिनँ । तेक्वान्दोले नै मलाई यहाँसम्म ल्याएको छ । जे गर्छु तेक्वान्दोमै गर्छु ।

****

यो त भयो विगतको कुरा ।

अहिले वर्तमानमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा जुटिरहेकी छु । ७३ केजीभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा गर्दैछु । मेरो अबको लक्ष्य सागमा स्वर्ण जित्ने नै हो । सागभन्दा पछि खेल्छु या खेल्दिनँ एकिन छैन ।

पहिले साधारण अभ्यास हुन्थ्यो । अहिले क्लोज क्याम्पमा राखेर सबै सुविधा दिएर कडा अभ्यास भइरहेको छ । पहिले हामी आफ्नो तरिकाले अभ्यास गर्थ्यौं, अहिले गुरुहरुको नियन्त्रणामा अभ्यास गरिरहेका छौं । पहिले दीपक (विष्ट) गुरुहरुको पालामा रेकर्ड तोडिएको थियो । हाम्रो पालोमा स्वर्ण पदक जित्न सकिरहेका छैनौं ।

हामी कहाँ कमजोरी छ, त्यसलाई सुधार गर्दै राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छौं । अब नखेल्ने भनेर छोडिसकेको म पनि सागमा स्वर्णको सपना देखेरै अभ्यासमा जुटेकी छु । किनकी मैले अहिलेसम्म साग खेलुकदमा भाग लिएकी छैन । त्यसैले पनि यो पटक उत्साहित छु । तयारीकै क्रममा दुई-चार दिनमा चीन जाँदैछौं । चीनमा हाम्रो अभ्यास करिब १५-२० दिनको हुनेछ ।

चीनको अभ्यासमा मेरो जोड टेक्निकहरुमा सुधार गर्नु हुनेछ । त्यहाँका खेलाडी कसरी खेल्छन्, कुन बेला कुन अवस्थामा कस्तो टेक्निक लगाएर खेल जित्छन्, त्यो पक्षलाई आत्मसात गर्नेछु । किनकी हामी हार्नुको मुख्य कारण पनि टेक्निकल कमजोरी नै हो । हामी प्रतियोगिता खेल्दै गर्दा निक्कै डराउँछौं पनि । अरु देशका खेलाडीहरु भने आत्मविश्वासका साथ खेलिरहेका हुन्छन् । म्याच एक्सपोजरको कमीले गर्दा पनि यस्तो भएको होला ।

यो सबका बाबजुद म स्वर्ण जित्ने लक्ष्यमा छु । मैले सागमा स्वर्ण पदक जितेँ भनेँ त्यो मेरो जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । अत्याधिक खुशीको क्षण हुनेछ । आफ्नो परिवार, आमाबाबा र गुरुहरुलाई खुशी बनाउने छु ।

****

मैले सुरुमै भनेँ कि म आफ्नो इच्छाविपरीत परिवारको करकापमा खेलकुदमा होमिएकी हुँ ।

यसको कारण मेरो बुवा हुनुहुन्छ । पुर्ख्यौली घर सुदूरपश्चिम अछाम भएपनि म काठमाडौंमै जन्मिएँ, हुर्किएँ । बुवा रोहित रावल नेपाल पुलिस क्लबको पूर्व एथ्लेटिक्स खेलाडी हुनुहुन्छ । भाइ निशान अहिले पनि एपीएफ क्लबबाट फुटबल खेल्छ । ऊ एन्फा एकेडेमीको उत्पादन हो । बहिनी एलिना रावल भलिबल खेलाडी हुन् । आर्मीबाट भलिबल खेल्दाखेल्दै पढाइको सिलसिलामा जापान पुगेकी छन् ।

सानोमा बाबाले मलाई केटाजस्तो बनाउने, कपाल काटिदिने गर्नुहुन्थ्यो । पछि साँगामा रहेको पुलिस स्कुलमा भर्ना गरिदिनुभयो । त्यो बेला म चार कक्षामा पढ्थेँ । पुलिस स्कुलमा धेरै खेलहरु एकै पटक ल्याइएको थियो । बास्केटबल, भलिबल, टेबलटेनिस, कराँते, तेक्वान्दोमध्येबाट मैले पनि एउटा खेल छान्नुपर्ने भयो ।

बाबालाई सोध्दा उहाँले तेक्वान्दो छान्न सुझाव दिनुभयो । त्यो समयमा नेपालमा संगिना वैद्य, दीपक विष्ट, आयशा शाक्यलगायतको निकै चर्चा थियो । त्यही माहोल देखेर बाबाले मलाई तेक्वान्दो छान्न भन्नुभएको रहेछ ।

तर मैले यसको महत्व बुझेकी थिइनँ । पुलिस स्कुलको पढाइ सकेर घर आएपछि खेलकुद चटक्कै छोडेर पढाइमा मात्र ध्यान दिन्छु भन्ने थियो । तर सोचेजस्तो भएन । बाबाले सातदोबाटोस्थित मैत्री तेक्वान्दो डोजाङमा भर्ना गरिदिनुभयो । नखेल्ने भन्दा-भन्दा भर्ना भएँ । एक हिसाबले मेरो रुचि विपरीत करकाप नै गर्नुभएको थियो । सायद मेरो भविश्य तेक्वान्दोमै देख्नुभएको थियो ।

छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेपछि भने मलाई पनि तेक्वान्दोमा मोह बस्यो । त्यसपछि पनि मैले ओलम्पिकसम्म पुग्छु भन्ने सोचेको होइन । बुवाले भने सधैं ओलम्पिक आउँदैछ, राम्रो गर भनिरहनु भयो । त्यसैले मैले पाएको सबै उपलब्धिको श्रेय मेरो बुवालाई नै जान्छ ।

प्रस्तुती : सरोज तामाङ

फोटो : शंकर गिरी

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला  ‘मेरो कथा’को ५९ औं अंकमा यो हप्ता तेक्वान्दो खेलाडी निशा रावलको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment