Comments Add Comment

होचा सन्तानका आमाबुवाको याचना– जेठोलाई काम, कान्छोलाई गिनिज बुकमा नाम !

७ कात्तिक, काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ बस्ने रामबहादुर श्रेष्ठ र रमा श्रेष्ठ आफ्ना दुई छोराहरुलाई लिएर काठमाडौं आइपुगेका छन् । श्रेष्ठ दम्पत्तिले आफ्ना दुई छोराका साथ विहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन नै गरे ।

गाउँबाट आएको सामान्य परिवारले पत्रकार सम्मेलन गर्नुको उद्देश्य थियो– आफ्ना दुईछोरा राजु श्रेष्ठ र कल्याण श्रेष्ठको दयनीय अवस्थाबारे सरकार र लोकलाई सुनाउनू ।

रामबहादुर र रमाका तर्फबाट ०४७ सालमा जेठो छोरा राजु र ०४८ सालमा कान्छो छोरा कल्याणको जन्म भएको हो । बुबा रामकुमारले भने, ‘छोराहरुको वास्तविक अवस्था बाहिर ल्याउनका म उहाँ उपस्थित भएको छु ।’

रामबहादुरका अनुसार दुबै छोरा राजु र कल्याणको जन्मपछि शारीरिक र मानसिक बृद्धिमा रोकावट आयो । विभिन्न अस्पतालमा उपचार गराउँदा थाइराइड, हर्माेनको कमीले शारीरिक बृद्धिमा अवरोध आएको चिकित्सकहरुले जवाफ दिए ।

रामबहादुरले भने, ‘२०÷२२ वर्षसम्म त बढलान् कि भन्ने आशा रह्यो । तर, ती आशाहरु निराशामा परिवर्तन भए ।’

छोराहरु जवान बनेर सहारा देलान् भन्ने अवस्थामा आमाले खेतीपाती, व्यापार व्यवसाय सबै छाडेर दुई भाइ छोराको स्याहार–सुसार गरिरहनुपरेको श्रेष्ठले सुनाए ।

दुवै छोराहरु हातखुट्टा धुन, शौचालय जान, नुहाउन, लुगा धुन, खाना पकाउन, भित्र र बाहिर गर्न, कपडा लगाउन र बोल्नसमेत असक्षम रहेको आमाले बताइन् । उनले भनिन्, ‘कान्छोको त झनै दयनीय अवस्था छ ।’

कान्छो छोरा कल्याण विश्वकै होचो र कम तौल भएको वयस्क व्यक्ति हुन सक्ने भन्दै उनको नाम गिनिज बुकमा लेखाइदिन पिता रामबहादुरले सहयोगको याचना गरे । उनको पालन पोषणका लागि सरकारसँग पनि उनले अनुनय माग गरे । बुबा रामबहादुरका अनुसार कान्छो छोरा कल्याणको तौल १० केजी र उचाई २९ इञ्च मात्र छ । अहिलेसम्म शारीरिक परिवर्तन, जस्तै–दाह्री, जुङ्गा आउने दाँत साटिने, बोलीमा धोद्रोपन आउने, बौद्धिक तथा यौन परिपक्वता आदि कुनै लक्षणहरु देखिएका छैनन् ।

उचाइ ४२ इन्च र तौल २३ केजी रहेका र इशाराले मात्र कुरा गर्न सक्ने जेठा छोरा राजुलाई योग्यताअनुसारको रोजगारी उपलब्ध गराइदिन पिता रामबहादुरले आग्रह गरे ।

उनले भने, ‘जेठो छोराले शिक्षाशास्त्र संकायमा १२ कक्षा उतीर्ण गरेर ६ महिने आधारभुत कम्प्युटर तालिम पूरा गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment