Comments Add Comment

गण्डकी प्रदेशको कास्की र नवलपुरमा धेरै उद्योग

७ कात्तिक, पोखरा । केन्द्रीय तथ्यांक विभागले गण्डकी प्रदेशको अघिल्लो वर्षसम्मको यथास्थितिबारेको तथ्यांक बिहीबार सार्वजनिक भएको छ । नेपालको आर्थिक अवस्था तथा रोजगारीबारे जानकारी लिने हेतुले केन्द्रीय तथ्यांक विभागले गत वर्ष देशव्यापी तथ्यांक संकलन गरेको थियो ।

तथ्यांक अनुसार प्रदेशभर सबैभन्दा औद्योगिक प्रतिष्ठान कास्कीमा र त्यसपछि नवलपुरमा देखिएको छ । गण्डकी प्रदेशभर भएका जम्मा १ लाख औद्योगिक प्रतिष्ठानमध्ये कास्कीमा मात्रै ३० हजारवटा रहेको तथ्यांक कार्यालय कास्कीले जनाएको छ । नवलपुरमा १२ हजार प्रतिष्ठान छन् ।

‘सबैभन्दा कम औद्योगिक प्रतिष्ठान भएका जिल्लामा मनाङ र मुस्ताङ छन्,’ तथ्यांक कार्यालय कास्की प्रमुख जग्गुलाल बस्यालले भने, ‘मनाङमा जम्मा ४ सय र मुस्ताङमा ७ सय छन् ।’ उनले तथ्यांक लिँदा दर्ता भएका र नभएका सबै प्रकारका प्रतिष्ठानलाई गणना गरिएको जानकारी दिए ।

महिलाको सहभागिता कम

नेपालभर सञ्चालित औद्योगिक प्रतिष्ठानमा महिलाको सहभागिता कम रहेको तथ्यांकले देखाएको छ । १८ वटा शीर्षकमा विभागले लिएको तथ्यांकमा महिलाको सहभागिता कम देखिएको हो ।

कृषि, वन तथा माछापालन व्यवसायमा दर्ता भएका १२ हजार प्रतिष्ठानमध्ये कुल जनसंख्यामध्ये ४ हजारमात्रै महिला सहभागिता देखिएको बस्यालले बताए । ‘वित्तीय तथा बिमा कारोबारबाहेक सबैमा महिलाको सहभागिता महिलाको संख्याभन्दा कम छ,’ उनले भने, ‘कुल प्रतिष्ठानमा आवद्ध संख्याको ४४ प्रतिशतमात्रै महिलाको सहभागिता देखिन्छ ।’ उनले महिला व्यवस्थापक भएर काम गरेको प्रतिष्ठान ३९ प्रतिशत रहेको बताए । पोखरा महानगरका औद्योगिक प्रतिष्ठानका १ लाख जनशक्ति मध्ये ४२ हजारमात्रै महिला छन् ।

कास्कीको स्थानीय तहको तथ्यांक हेर्दा पोखरा महानगर नै अग्रस्थानमा देखिएको छ । जिल्लाभर भएका ३० हजार प्रतिष्ठानमध्ये २८ हजार प्रतिष्ठान पोखरा महानगरमै सीमित भएको बस्यालले जानकारी दिए । ‘सबैभन्दा कम रुपा गाउँपालिकामा देखियो । रुपामा २ सय ९२ वटामात्रै प्रतिष्ठान छन् । ती अधिकांश कृषि उद्योगसँग सम्बन्धित छन्,’ उनले भने ।

दर्ता नगरेरै व्यवसाय सञ्चालन गर्ने व्यवसायी पनि उत्तिकै पाइएका छन् । कास्की जिल्लामा बिनादर्ता व्यवसाय चलाउने पोखरा महानगरमै बढी देखिएका छन् । कुल संख्यामध्ये ११ हजार प्रतिष्ठान दर्ताबिना नै सञ्चालन भइरहेको बस्यालले जानकारी दिए ।

‘यो कुल संख्यामध्ये ३६ प्रतिशत हो । दर्ताबिनै व्यवसाय चलाइरहेका प्रतिष्ठानलाई करको दायरामा ल्याउन जरुरी देखिन्छ,’ उनले भने । उनले गण्डकी प्रदेशमा २०७० सालयता प्रतिष्ठानको स्थापनामा उल्लेख्य वृद्धि भएको बताए । त्यसयता प्रदेशमा १९ हजार प्रतिष्ठान स्थापना भएको तथ्यांकले देखाएको छ ।

अर्काको घर तथा कोठा भाडामा लिएर प्रतिष्ठान खोलेकाहरु कास्कीमै बढी देखिएका छन् । कसल ४५ हजारमध्ये कास्कीमा २० हजारले भाडाको भवन तथा कोठामा व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । प्रदेशमा लेखास्रेस्ता नराखेर व्यवसाय गर्ने ३८ प्रतिशत छन् । ‘कास्कीमा २२ प्रतिशत प्रतिष्ठानले लेखा नै नराखी व्यवसाय गरिरहेको पाइयो,’ बस्यालले भने ।

केन्द्रीय तथ्यांक विभागका तथ्यांक अधिकृत महेश प्रधानले नेपालभर भएका ९ लाख प्रतिष्ठानमध्ये काठमाडौंमा मात्रै १३ प्रतिशत रहेको सुनाए । उनले सबैभन्दा बढी थोक तथा खुद्रा व्यापारमा संलग्न रहेको बताए । ‘५३ प्रतिशत थोक तथा खुद्रा व्यापारमै छन् । दोस्रोमा होटल रेस्टुरेन्ट देखिएको छ,’ उनले भने । ३७ प्रतिशत महिलामात्रै प्रतिष्ठानको पहुँचमा रहेको उनले जानकारी दिए ।

‘धेरै व्यक्ति संलग्न भएको प्रतिष्ठानको व्यवस्थापकमा पुरुष नै छन्,’ प्रधानले भने, ‘१ वा २ सम्म व्यक्ति संलग्न भएको प्रतिष्ठानको व्यवस्थापकमा मात्रै महिलाको सहभागिता छ ।’ थोरै व्यक्ति भएकोमामात्रै महिला व्यवस्थापक देखिएकाले अब महिलालाई पनि सक्षम बनाइ सहभागि गराउन जरुरी रहेको औंल्याए ।

कार्यक्रममा योजना आयोग गण्डकी प्रदेश उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले संगठित रुपमा काम गर्ने चलन नेपालमा विकास नभइसकेकाले बाधा उत्पन्न भइरहेको बताए । ‘हामी सधैं अरुको उत्पादन ल्याएरमात्रै बेच्छौं । आफैंले उत्पादन गर्नेबारे सोच्दैनौं,’ उनले भने, ‘सानासाना प्रतिष्ठानमा रमाइरहेका छौं । अब सानोबाट ठूलो प्रतिष्ठानमा विकास गर्न जरुरी छ ।’ उनले कृषिमा मात्रै महिलाको संख्या बढी हुनुमा कार्यगत शैली परिवर्तन गर्नुपर्ने र युवालाई मौका दिनसमेत सुझाए ।

प्रतिष्ठानमा महिला सहभागिता

गण्डकी प्रदेश

व्यवस्थापक लिंग प्रतिष्ठान संख्या प्रतिशत
पुरुष ६१, २९३ ६०
महिला ३९,३६३ ३०.१०

कास्की जिल्ला

व्यवस्थापक लिंग प्रतिष्ठान संख्या प्रतिशत
पुरुष १८,७४३ ६१
महिला ११,९८२ ३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment