Comments Add Comment

दङ्ग इन्दु, रुविना पनि खुसी !

७ कात्तिक, काठमाडौं । पहिले पटक आयोजित वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटको उपाधि चितवन राइनोजले आफ्नो पोल्टामा पार्न सफल भयो ।

चितवनले उपाधिसँगै सात लाख रुपैयाँ पाउँदा उपविजेता बनेको क्याट क्वीन्स काठमाडौंले तीन लाखमा चित्त बुझाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको फाइनलमा चितवनसामू ४५ रनको हार व्यहोरेको काठमाडौंका कप्तान रुविना क्षेत्री थोरै निराश र, धेरै उत्साहित छिन् ।

टस जितेर फिल्डिङ रोज्दै गर्दा काठमाडौंकी कप्तान रुविनालाई विश्वास थियो, उपाधि जित्छौं । नभन्दै चितवनलाई ४ विकेटको क्षतिमा ११२ रनमै रोक्यो । अग्रपंक्तिका ब्याट्सवुमनले ३०–४० रन बनाएर उपाधि जित्ने रणनीति तयार भयो ।

ओपनिङमा आए कप्तान रुविना र शोभा आले । तर टिमको ९ रन हुँदा शोभा आले आउट भइन् । त्यसपछि लगातार रोमा थापा, कप्तान रुविना र नितु भण्डारी आउट भइन् । टिमको स्कोर १५ रन हुँदा महत्वपूर्ण ४ विकेट गुमाएपछि काठमाडौं कुनै पनि बेला खेलमा फर्किन सकेन र ६७ रनमा अलआउट भयो ।

आफूहरुले सानो सानो गल्ती गरिरहँदा टिम हार्न पुगेको कप्तान रुविनाले स्वीकारिन् । उनले भन्छिन्, ‘हाम्रो सुरुवात राम्रो हुन सकेन । सुरुको २–३ ओभर निकै खराब खेल्यौं । कुनै पनि खेलाडीले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सकेनन्’ उनले भनिन् ‘मुख्य कुरा हाम्रो टिम सिनियरमा निर्भर भयो । सिनियर आउट भएपछि जुनियर खेलाडी अलिक आत्तिएको जस्तो देखियो ।’

विजेता टिम चितवनकी कप्तान इन्दु बर्मा दंग छिन् । भन्छिन्, ‘उपाधि नै जितिन्छ भन्ने लगेको थिएन । तर उपाधि नै जितियो । खुशी कसरी बयान गरुँ ?’

उनीआफ्नो रणनीति सफल भएको मान्छिन् । ‘हामीलाई दबाब चाहिँ थियो । अगाडिको दुई–तीन ओभरमा राम्रो रन बनिरहेको थिएन । पछि राम्रो गर्दै गयौं’, उनले थपिन्, ‘काठमाडौं ब्याटिङमा आउँदा हामीले सुरुवातै दबाब दिएर बलिङ गरिरहेका थियौं । हामीले जस्तो नतिजा खोजेका थियौं, त्यस्तै पायौं ।’

विपक्षी टिमको कुन गल्तीले उपाधि जित्न सहज भयो भन्ने प्रश्नमा इन्दु भन्छिन्, ‘फाइनलमा उहाँहरुले टस जितेर फिल्डिङ रोज्नु नै गल्ती भयो जस्तो लाग्छ ।’

सुमनको प्रशंसा

प्रतियोगितामा काठमाडौंकी कप्तान रुविना क्षेत्री प्लेयर अफ द सिरिज घोषित भए । स्कुटर र ५० हजार नगद पाइन् । तर रुविनाले विपक्षी टिमकी सुमन खतिवडाको प्रदर्शनको प्रशंसा गरिन् । भन्छिन्, ‘आज मैले मेरो उत्तरदायित्व पूरा गरेको भए टिमले जित्ने थियो । तर राम्रोसँग खेल्न सकिन ।’

फाइनलमा प्लेयर अफ दि म्याच बनेकी चितवनकी अलराउण्डर सुमनले फाइनल खेलमा सर्वाधिक २९ रन बनाउनुका साथै बलिङतर्फ पनि तीन विकेट लिएकी थिइन् । उनले प्रतियोगितामा बलिङतर्फ कुल ६ विकेट लिइन् भने ब्याटिङतर्फ ७४ रन बनाइन् ।

काठमाडौंकी कप्तान रुविनाले भनिन्, ‘सुमनले क्याम्पमा पनि निकै राम्रो प्रदर्शन गरिरहेको थियो । उनी अहिलेको इमर्जिङ खेलाडी पनि हुन् । उनीमा महिला क्रिकेटलाई लिड गर्नसक्ने क्षमता देखेँ । यो महिला क्रिकेटका लागि संकेत पनि हो ।’

प्रतियोगितामा चितवनकी काजल श्रेष्ट उत्कृष्ट ब्याट्वुमन बन्दा उत्कृष्ट बलर कविता गौतम घोषित भइन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment