Comments Add Comment

‘हिँड्नेलाई मान्छे गन्दैन यो शहर’

पैदलयात्रु नै डराउनुपर्ने काठमाडौंका सडकपेटी !

८ कात्तिक, काठमाडौं । काठमाडौंमा सडक विस्तारको काम तीव्र हुँदै गर्दा नयाँ बानेश्वरका रमेश राजथलालाई लागेको थियो, अब त शानदार फुटपाथमा हिँड्न पाइन्छ । तर, घरहरु भत्काएर बनाइएका फुटपाथ सोचेजस्ता त बनेनन् नै बनेकामा हिँड्न पनि उनले कम्ता कष्ट भोग्नुपर्दैन ।

‘काठमाडौंमा कतै हिँडेर पुग्छु भन्यो भने जाँदा–जाँदै दिक्क लागिसक्छ,’ उनी भन्छन्, ‘न हिँड्ने पेटी गतिलो छ, न सडक क्रस गर्दा गाडीले हिँड्नेहरुलाई मान्छे गन्छन् ।’

अहिले काठमाडौंका अधिकांश सडकका फुटपाथ पैदलयात्रुको लागि धरापजस्तै छन् । पैदलयात्रुका लागि बनेका भए पनि फुटपाथ वैज्ञानिक छैनन् । त्यसमाथि भएको फुटपाथको व्यवस्थापन सही ढंगले नगरिँदा शहर कुरूप मात्रै बनेको छैन यात्रुले पनि हन्डर खेप्ने गरेका छन् ।

काठमाडौंका सडकपेटी पनि अहिले दूरावस्थामा छन् । टायल टाँसिएका पेटी पनि पैदलमैत्री छैनन् । धेरैजसो क्षेत्रका टायल उप्किसकेका छन् । कति ठाउँमा त पेटीका टायल उप्किएर साइडमा चाङ लगाएर राखिएका छन् ।

मेलम्चीले पनि धेरै पेटीहरुको टायल उप्काएर पाइप बिछ्यायो । तर, काम सकिएपछि तत्कालै पुनः बिछ्याउन उसले पनि चासो दिएको छैन । बिछ्याएका ठाउँमा पनि टायल उप्किएर यत्रतत्र छरिएका छन् ।

अहिले पेटीमा बिछ्याएका टायल क्षतविक्षत अवस्थामा छन् । धेरै स्थानमा फुटपाथको टायलको अस्तित्व नै देखिँदैन । राज्यले खर्चेको करोडौं रुपैयाँ लगानी गरेको फुटपाथमा खाल्डाहरु परेका छन् ।

सडकपेटीमा प्रयोग हुने टायल ठूलो चाप थेग्न सक्ने हुनुपर्छ । तर, यसमा प्रयोग भएका टायल नै गुणस्तरहीन भएकाले यस्तो अवस्था आएको आरोप स्थानीयको छ । कतिपय स्थानमा बिछ्याउँदा नै ध्यान नपुर्याएकाले पनि फुटपाथको टायल उप्किएर हराएका छन् ।

पेटीमै सवारी साधन हुँइक्याउने अराजक संस्कृति फुटपाथको बिजोक हुनुको अर्को कारण हो । त्यसलाई विचार गरेर टायल बाक्लो र बलियो खालको हाल्नुपर्ने हो । तर, अत्यन्तै पातलो टायल प्रयोग भएको देखिन्छ, जसलाई टाँस्ने काम पनि गतिलोसँग भएको पाइँदैन ।

पेटीको दुर्दशामा सरकार र निर्माण व्यवसायी मात्रै दोषी छैनन् । पैदलयात्रुले पनि उप्किएका टायललाई पुनः त्यसै ठाउँमा हाल्ने कष्ट गर्दैनन्, बरू सरकारलाई गाली गरेर हिँड्छन् ।

सडकपेटीमै व्यापार गरिरहेकालाई पनि पेटीको सुरक्षा र सफाइ चासोको विषय बनेको छैन । न स्थानीय बासिन्दाले सडकपेटीलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

अन्य क्षेत्रमा त यो बेथिति छँदै नै छ, सिंहदरबार र संसद् भवनसँगै रहेका पेटीमा पनि यही हालत देखिन्छ । यसले राजधानीको मात्रै होइन, देशकै प्रतिष्ठामा आँच पु‍र्याइरहेको हेक्का भएर पनि काम गर्नेहरू हात बाँधेरै बसेका छन् ।

पेटी व्यापारीको !

काठमाडौंमा धेरैजसो सडकपेटीमा व्यापारीको कब्जा छ । पेटीभरि सामान फिँजाएर व्यापारीहरु ग्राहक कुर्दै बस्छन् । पेटी यसरी पैदलयात्रुलाई सडकबाट नहिँडी सुखै छैन । पैदलयात्रुले केही बोले व्यापारीहरुको उल्टै हप्की खेप्नुपर्छ । विभिन्न स्थानका सडकपेटीमा ग्यारेज र ग्रिल उद्योग नै चलिरहेका छन् ।

‘न महानगरले हेर्छ, न सडक विभागले । हामी बोल्यौं भने मारिहाल्छन् कि जसरी कराउँछन्,’ सुन्धाराकी मनमाया थापा भन्छिन्, ‘सडकमा हुने व्यापारले हामी महँगोमा सटर भाडामा लिएर चलाउनेको व्यापार पनि सुकिसक्क्यो ।’

सवारी फुटपाथमा, यात्रु सडकमा

सडकपेटीमा व्यापार गर्ने मात्रै हैन, निर्माण सामग्री थुपार्ने समस्या पनि उस्तै छ । धेरै पेटीमा अहिले निर्माण सामग्रीको चाङ छन् । त्यसलाई हटाउन पनि जिम्मेवार निकायको कुनै पहल छैन ।

निर्माण सामग्रीलाई व्यवस्थापन गर्नेगरी कुनै निकायले योजना पनि बनाएका छैनन् । हप्तौंसम्म पेटीमा थुपारेर राखिने ढुंगा, गिट्टी, बालुवा, छड, सडक दुर्घटनाको कारण बनिरहेका छन् ।

काठमाडौंमा सडकपेटीमा मौलाउँदो पार्किङको सवाल पनि उत्तिकै पेचिलो छ । पैदलयात्रुलाई सडकमा हिँड्न बाध्य बनाएर फुटपाथमा पार्किङ गर्नेप्रति ट्राफिक प्रहरीले पनि ‘एक्सन’ लिन सकिरहेको छैन । देशको मुख्य प्रशासनिककेन्द्र सिंहदरबारसँगैको अनामनगरमा त्यसको विशेष नमूना देख्न पाइन्छ । यात्रुलाई सडकमा झार्न बाध्य पार्नेगरी पेटीमा भएको पार्किङ हटाउने आँट ट्राफिकले पनि गरेको भेटिन्न ।

अवैज्ञानिक निर्माण

काठमाडौंमा धेरैजसो सडकपेटीको निर्माण नै अवैज्ञानिक छ । सडक फराकिलो बनाउने नाममा पेटीलाई खुम्च्याइएको छ । विभिन्न भागमा त सडकपेटी बीचमै हराउँछन् । कतिपय सडकपेटी पसलभित्र पुगेर टुंगिएका छन् ।

सडक विस्तार भएका अधिकांश सडकमा बनेका पेटी अवैज्ञानिक छन् । कतिपय ठाउँमा त आधा फुटका पेटी छन् ।

‘नेपालमा सडकपेटी बनाउँदा यो पैदल हिँड्नेहरुको लागि हो भनेर डिजाइन गरेको भेटिँदैन’, पुरानो बानेश्वरका राजीव बान्तवाको गुनासो छ, ‘विदेशतिर त सडकभन्दा ठूला पेटी हुन्छ अरे, हाम्रोमा पेटी नै हटाएर सडक बनाउँछन् ।’

हुन पनि काठमाडौंमा कतिपय पेटी घरभित्र नै पुगेर टुंगिन्छन् । केही स्थानमा सडक विस्तारका लागि माथिल्लो तल्ला नभत्काउन पेटीमा पर्ने भागलाई मात्रै खुला गरिदिँदा सुरुङजस्तो पेटी पनि बनेका छन् । घरका पिल्लर पनि नहटाइ खोलिएका ती पेटी काम नलाग्ने त छँदै छन्, देख्दा उत्तिकै हास्यास्पद पनि लाग्छन् ।

सडकपेटीमा देखिने बेथिति यति मात्रै छैनन् । आकाशेपुलमा फस्टाएको व्यापार, मेटिएका जेब्राक्रसलगायतले पनि पैदलयात्रुलाई कम्ता सास्ती दिँदैन ।

सडकपेटीका अवैज्ञानिक रेलिङ र सडकछेउमा असरलल्ल बनेका तार यात्रुलाई हिँड्न रोक्ने कारक बनेका छन् ।

दृष्टिविहीनलाई झन् कष्ट

दृष्टिविहीन शान्ति दर्लामीलाई पनि काठमाडौंका फुटपाथले कम्ता सास्ती दिँदैन । उनी भएका स्थानमा ट्याकटाइल टायल (ब्रेलमार्ग) लाई पछ्याउँछिन् । तर, पूर्ण रूपमा यसको भरपर्दा उनी कहिले खाल्डोमा पर्छिन् त कहिले पार्किङको मोटरसाइकल र गाडीमा गएर ठोकिन्छिन् ।

दृष्टिविहीनलाई हिँड्डुलमा सहज बनाउने उद्देश्यले करोडौं खर्चेर पहेँलो रंगको डाँडीसहित बीचको भाग उठेका ब्रेलमार्ग टायल बिछ्याइएको छ, काठमाडौंमा । सम्भावित दुर्घटनाबाट बचाउन बिछ्याइएका ब्रेलमार्गलाई धेरै विश्वास गरेर हिँड्दा धेरै दृष्टिविहीनले दुर्घटना भोगेका छन् ।

त्यसैले ब्रेलमार्गका ‘टायल’को पूरा विश्वास गरेर दृष्टिविहीन हिँड्न सक्दैनन् । हिँडे दुर्घटनामा पर्ने जोखिम छ ।

ब्रेलमार्गमा दृष्टीविहीनहरूलाई सेतोछडी प्रयोग गरेर हिँड्न सहज हुनुपर्ने हो । तर, बिछ्याउँदा नै कतै पोलमा ठोक्किने गरी बिछ्याइयो त कतै बारमा लगेर टुंग्याइयो । अब त त्यही ब्रेलमार्ग पनि हत्तपत्त भेटिँदैन ।

विभिन्न स्थानमा ब्रेलमार्गमा पर्ने फलाम, पोल अड्याउने तारलगायतका धरापहरु हटाइएको छैन । अघिल्लो भागमा आउने जोखिमबारे सूचना दिन राखिने ‘इन्टरचेन्ज’ टायलहरू पनि उप्किइसकेका छन् ।

सोही कारण दृष्टिविहीनहरू बिजुलीको पोलमा ठोकिने, नालामा पर्ने, सीधा गाडी गुडिरहेको सडकसम्मै पुग्ने अवस्था देखिन्छ ।

साँघुरो ठाउँमा पनि ब्रेलमार्ग बिछ्याइएको छ, त्यसैले कतिपय ठाउँमा बीचमै पगेर टुंगिन्छ । यसको भरपर्दा त दृष्टिविहीनको लड्ने र खुट्टा मर्किने समस्या पनि उत्तिकै छ ।

अधिकांश ठाउँमा ब्रेलमार्गका टायल उप्किसकेका छन् । ‘टायलहरू फुटेर र उप्किएर बाटो भेट्न पनि मुस्किल हुन थालिसक्यो,’ दर्लामी भन्छिन्, ‘बनेको एक वर्ष नहुँदै ब्रेलमार्गको हालत त्यस्तो भयो, अझै बनाइएको छैन ।’

काठमाडौं महानगरपालिका भने वडा कार्यालयमार्फत सडकपेटी व्यवस्थापको काम भइरहेको दाबी गर्छ । महनगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सडकपेटीमा हुने व्यापार नियन्त्रण गर्न र पेटीलाई खुला राख्न महानगरपालिकाले दैनिक रूपमा अनेकन प्रयास गरिरहेको बताए ।

उनले आमनागरिकको सोचमा परिवर्तन नआएसम्म सडकपेटीको अतिक्रमण र अव्यवस्था हटाउन गाह्रो पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment