Comments Add Comment

ईश्वरको प्रश्न– ओली–प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति कहाँ भएको छ ?

‘अध्यक्षद्वयबीच विवाद छैन, द्वन्द्वकालीन मुद्दा अलग हो’

८ कात्तिक, विराटनगर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेकपाका दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री हुने सहमति नभएको दाबी गरेका छन् । तर, उनले पार्टीको  जिम्मेवारी भने आवश्यताअनुसार हेरफेर हुनसक्ने बताए ।

‘नेकपाका अध्यक्षद्वयबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएको छ’, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका पोखरेलले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उल्टै प्रश्न गरे, ‘केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भनेर कहाँ सहमति भएको छ ?’

प्रधानमन्त्रीमा आलापालो नभए पनि पार्टी नेताको जिम्मेवारी भने आवश्यकता अनुसार हेरफेर हुनसक्ने पोखरेलले बताए ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच केही समयदेखि विवाद बढेको विषय बाहिर आएको छ । तर, रक्षामन्त्री पोखरेलले मिडियामा आएजस्तो पार्टी अध्यक्षद्वयबीच कुनै विवाद नरहेको दाबी गरे । ‘हाम्रो पार्टीका अध्यक्षद्वयबीच विवाद बढेको भनेर समाचारहरू लेखिएका छन्,’, पोखरेलले प्रस्टीकरण दिँदै भने, ‘अध्यक्षद्वयबीच निरन्तर संवाद भइरहेको छ । विवाद छैन ।’

फरक प्रसंगमा रक्षामन्त्री पोखरेलले विगत र आगतमा भएका जस्तासुकै अपराधको अनुहार नहेरी सरकारले अनुसन्धान गर्ने बताए ।

‘तथ्यसहित बाहिर आएका अपराधका घटनामा संलग्नको अनुहार र पद केही नहेरी सरकारले कारबाही गर्छ’, पोखरेलले भने । तत्कालीन माओवादीले चलाएको सशस्त्र जनयुद्धलाई भने अपराधसँग जोडेर हेर्न नहुने उनको मत छ ।

सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले सांसद् आफ्ताब आलमलाई पूर्वाग्रही बनेर पक्राउ गरेको कांग्रेस आरोप निराधार भएको बताए । विधि र प्रक्रिया अनुसार नै आलमलाई पक्राउ गरेको भन्दै उनले यसलाई सहज रूपमा लिन कांग्रेससँग अनुराेध गरे ।

पोखरेलले विप्लव माओवादीले हत्या हिंसाको घटना नत्यागेसम्म वार्ता हुन नसक्ने पनि  प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment