Comments Add Comment

वीरगञ्जमा २९ लाखसहित ६ हुण्डी कारोबारी पक्राउ

८ कात्तिक, काठमाडौं । वीरगञ्जमा ठूलो रकमसहित हुण्डी कारोबारीहरु पक्राउ परेका छन् । पछिल्लो पाँच दिन यता प्रहरीले २९ लाख २३ हजार ५६० रुपैयाँ नगद र अन्य सामानसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

चाडपर्वको मौका छोपी हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले शुक्रबार वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट भारत विहारका ४६ वर्षीय गोपालप्रसाद अग्रवाललाई ९ लाख र वीरगञ्ज महानगरपालिका-१४ का २५ वर्षीय मन्टुकुमार साह कानुलाई ४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको छ ।

बिहीबार मात्रै सोही ठाउँबाट प्रहरीले २ वटा मोटरसाइकलमा आएका ३ जनालाई १० लाख नगद र ५ थान मोवाइलसहित नियन्त्रणमा लिएको थियो ।

भारत रामगढवा थाना ग्राम रामगढवाका ६० वर्षीय सकिर मियालाई ५ लाख, बारा खटुवा प्रसौनी गाउँपालिका-२ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह र बाराकै बारागढी गाउँपालिका-२ दौरुवाटोलका २६ वर्षीय शनी जैसवाललाई अढाइ/अढाइ लाख नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि गत सोमबार वीरगञ्ज-१६ रजतजयन्त्रीबाट भारत विहार जिल्ला मोतिहारी, थाना रामगढवा-१६ घरभइ वीरगञ्ज-१६ नगवा बस्ने ४८ वर्षीय कृष्ण मोहन कलवार ५ लाख ८३ हजार ५६० रुपैयाँसहित पक्राउ परेका थिए ।

ना५३प ७१५९ नम्बरको स्कुटीसहित पक्राउ परेका कलवारको साथबाट सुन जस्तो देखिने २ वटा सिक्का र गणेशको एउटा लकेटसँगै बिभिन्न बैंकका चेकबुक, भौचर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment