Comments Add Comment

घर पोत्ने माटो खन्नेक्रममा ढिस्कोले पुरिएर बालिकाको मृत्यु 

८ कात्तिक, राजविराज । तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीया छोरी पुष्पाकुमारी सरदारको रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन बालिका दीपावली (तिहार)को लागि घर लिपपोत गर्ने भन्दै कञ्चनरुप नगरपालिका–११ स्थित गोरपारमा कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा बालिका पुष्पा कुमारीको मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन् ।

सोही ठाउँका लागू सरदारकी १५ वर्षीया छोरी मन्त्रिता सरदारको देब्रे खुट्टा पूरै चुँडिएर घाइते छन् । त्यस्तै मनिलाल सरदारको १७ वर्षीया छोरी सुस्मिता सरदारको समेत हार र खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक मिश्रले बताए ।

घाइते मन्त्रिताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment