Comments Add Comment

झिल्टुङ गाउँमा महाकवि देवकोटाको सम्झना

एकाबिहानै चिसो हुस्सु फाट्दै गरेको झिल्टुङ गाउँ (नुवाकोट) को दुईपीपल डबली गुञ्जिन थाल्यो, देवकोटाको यात्री कवितामा बनेको गीतले ।

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो…

जब गीत सकियो, तब माइकमा बोल्न थाले ज्वालामुखी लामिछाने र डबलीतिर जम्मा भएका लेखक, कवि, कलाकार, साहित्यकार र स्थानीय जनसमुदाय ।

उनीहरु डबलीमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्म जयन्तीको अवसरमा जुटेका हुन् । देवकोटाको मामा ससुराली घर रहेको झिल्टुङ गाउँमा उनले पहाडी जीवन निबन्ध र कुञ्जिनी खण्डकाव्य श्रृजना गरेका थिए । उनले यस सिर्जनामा झिल्टुङ गाउँको कथा र पात्रको जनजीवन समेटेका छन् ।

देवकोटा साहित्य प्रतिष्ठान र देवकोटा लुसन प्रज्ञा प्रतिष्ठानको आयोजनामा विचार गोष्ठी तथा स्रष्टा सम्मान तथा सिर्जना वाचन कार्यक्रम नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका ६ दुईपीपल डबलीमा सम्पन्न भएको हो ।

कार्यक्रममा देवकोटाको वैचारिक दृष्टिकोण बारेमा देवकोटा-लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाईले एक कार्यपत्र पेश गरेका थिए । प्रा. डा. रमेश भटराईले देवकोटाको राजनीतिक दृष्टिकोणको बारेमा प्रकाश पारेका थिए । देवकोटा र समकालीन यथार्थताबारे साहित्यकार सुनिल पोखरेल, कृष्णहरि बराल लगायतका वक्ताले थप चर्चा गरे ।

कार्यक्रममा लेखक तथा साहित्यकार मातृका पोखरेलले कुञ्जिनी काव्यको वाचन, साहित्यकार खेम थपलियाले देवकोटाको माओ कविताको वाचन र जनगायक ढुण्डीराज अधिकारीले भिख माग्दिनँ बोलको गीत गाए ।

देवकोटा साहित्य प्रतिष्ठान झिल्टुङ दुईपिपलले हरेक बर्ष गर्दै आएको स्रष्टा सम्मान यो वर्ष कवि निभा शाह, लेखक अभय श्रेष्ठ र वृत्तचित्रफिल्म सम्पादक तथा मेकर लव प्याकुरेललाई प्रदान गरिएको थियो ।

साहित्य र कलाको माध्यमबाट सामाजिक जागरण र परिवर्तनको अभियानमा योगदान पुर्याएकोमा ती स्रष्टाहरुलाई सम्मान गरिएको आयोजकको भनाइ छ ।

कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपमेयर कविता ढुंगानाले सहिदगोविन्द लामिछानेको तस्वीर उहाँकी जीवन संगीनीलाई हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा कवि तथा लेखक बाबा बस्नेत, प्रगतिशील लेखक संघ नुवाकोटका अध्यक्ष राजकुमार अर्याल (पुत्ला), कवि अग्नीराज पौडेल, पत्रकार भगवती लामा, कवि गायत्री भट्टराई र प्रमिला परीले आफ्ना सिर्जना वाचन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलकोटगढी नगरपालिकाका उपमेयर ढुंगानाले यस प्रकारका कार्यक्रमले सामाजिक जागरण ल्याउन सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताइन् । उपमेयर ढुंगानाले आगामी दिनमा नगरपालिकाले देवकोटाले साहित्य श्रृजना गरेको स्थानको संरक्षण र प्रवर्द्धनमा हातेमाले गर्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा नारायण नेपालद्वारा लिखित कञ्चना काव्य साहित्यकार चापागाईं र उपमेयर ढुंगानाले संयुक्तरुपमा विमोचन गरेका थिए ।

झिल्टुङ गाउँको महत्व र यस क्षेत्रमा रहेका सम्पदा एवं संस्कृतिबारे चर्चा गर्दै प्रतिष्ठानका सचिव नारायण नेपालले दीगो ग्रामीण साहित्य पर्यटनका यो क्षेत्र महत्वपूर्ण रहेको बताए ।

देवकोटा साहित्य प्रतिष्ठानका अध्यक्ष केदार नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई बेलकोटगढी नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष चन्द्रबहादुर लामा (जनम), ५ का वडाअध्यक्ष अनन्तराम नेपाल, कामरु उच्च माविका प्राचार्य विष्णुलाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment