Comments Add Comment

यी युवतीले नेपालमा पर्यटक पठाउलिन् त ?

दुबईबाट हेर्दा नेपाल भ्रमण वर्ष २०२०

कात्तिक ८ गते बिहीवार बेलुकीको ८ बज्नै लागेको थियो । काठमाडौंस्थित नेपालको एक मात्र अन्तरास्टि्रय विमानस्थलको प्रस्थान कक्ष हुँदै एअर अरेबियाको बेलुकीको ९ बजेर १० मिनेटको न्ढ-छघड उडान मार्फत यूएईको शारजाह आउँदै थिएँ । बोर्डिङ पास लिने क्रममा मसँगै लाईनमा उभिएकी एक नेपाली युवतीको लगेज तोकिएको भन्दा ६ केजीले बढी भयो । प्रतिकेजी १५ सयको दरले बढी भएको ६ केजीको ९ हजार रुपैयाँ बुझाउनेउनीसँग पैसा थिएन ।

उनी लाइनबाट बाहिरिएर नजिकैको कुर्सीमा बसेर लगेज खोल्न खोज्दै थिइन् । पहेँलो ज्याकेट लगाएका एकजना कर्मचारी भलाकुसारी गर्न त्यहीँ पुगे । युवतीका अनुसार ती कर्मचारीले ६ केजी सामानको लागि ३ हजार रुपैयाँ घुस मागे । तर, त्यति पैसा पनि साथमा नभएकाले उनले ती सामान आफुसँग यूएई ल्याउन पाइनन् ।

अध्यागमन डेस्क पार गरेर म अन्तिम सुरक्षा जाँच गर्ने लाइनमा उभिएँ । सुरक्षा जाँच क्षेत्र भित्रबाट बाहिर निस्कँदै गरेकी एक महिला कर्मचारीलाई एकजना विदेशी युवतीले केही जिज्ञासा राखिन् । ती महिला कर्मचारीलाई उभिएर ती पर्यटक महिलाको प्रश्नको उत्तर दिने समय थिएन ।

ती महिला पर्यटक आश्चर्य भाव मुद्रामा पछिपछि जाँदै उनलाई बोलाइरहिन् । महिला कर्मचारी निकै हतारमा थिइन् । बुझ्ने गरी उत्तर नपाएपछि ती विदेशी महिला पर्यटक निकै निराश देखिन्थिन् र आक्रोशित पनि ।

घटना सामान्य हुन् । कसैलाई सामान्य लाग्न सक्लान् । वा सामान्य नहोलान् पनि । तर, हामी अहिले भिजिट नेपाल २०२० मनाउने तयारीमा छौं ।

नेपालले सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’ भनेर पर्यटन बर्षको रुपमा मनाउने घोषणा गरेको छ । पर्यटन बर्षको यस एक बर्षे अवधीमा बीस लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष लिएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले ‘एक बिदेशी नेपाली, एक पर्यटक’ भन्ने नारासहित विदेशमा बस्ने नेपालीहरुलाई पर्यटन बर्ष सफल पार्न आह्वान गरेका छन् ।

गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग प्रत्येक गैर आवासीय सदस्यले एक पर्यटक नेपाल भित्र्याउने सम्झौता गरेको छ । यदि साँच्चिकै बिदेशिएका नेपालीहरुले दत्त चित्तले नेपाल सरकारलाई सहयोग गर्ने हो भने बीस लाख मात्रै हैनन् ५० औँ लाख बिदेशी पर्यटकलाई नेपाल भित्र्याउने ल्याकत राख्छन् । सायद यही कुरालाई बुझेर नै पर्यटन मन्त्री भट्टराईले यस्तो आहृबान गरेको हुनुपर्छ ।

तर, कर्मचारीलाई ३ हजार घुस दिन नसकेर एअरपोर्टमै सामान छोडेकी ती युवतीले एक पर्यटक भित्र्याउलिन् भन्नेमा चाँही शंका लागेको छ । आफूले राखेको सामान्य जिज्ञासामा समेत सहयोग नपाउने ती विदेशी महिला पर्यटकले अर्की महिलालाई नेपाल घुम्न जाउ भनेर भन्लिन् भनेर शंका लाग्छ ।

विदेशिएका नेपालीले आफू रहेको देशका बिदेशी साथीहरुलाई नेपाल घुम्न जाऔ भन्ने बाताबरण बनाउनको लागि नेपाल सरकारले पनि केही न्यूनतम कार्यहरु गर्नुपर्ने हुन्छ । तर, त्यो भन्दा बढी नेपाली आफैंले सु”नि भने जरुरी छ । नेपाली कर्मचारीको बानी बेहोरामा सुधार ल्याउन पनि उत्तिकै जरुरी छ ।

नेपालले सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’ भनेर मनाइरहँदा यूएई सरकारले भने ‘एक्स्पो २०२०’ को आयोजना गरेको छ । हरेक ५ बर्षमा आयोजना हुने विश्वको सबै भन्दा पुरानो र ठूलो प्रदर्शनी केन्द्रको आयोजनामा दुबई सरकारले ९ बिलियन डलर खर्च गर्ने बताएको छ । ६ बिलियन डलर भन्दा बढी त आयोजना स्थलको निर्माणमा खर्च गर्नेछ । ४३८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रलाई एक्स्पो सम्पन्न भए पश्चात दुबई सरकारले ‘जिल्ला २०२०’ नामाकरण गर्ने भएको छ । एक्स्पो सम्पन्न भए पश्चात पनि उक्त क्षेत्रलाई बिकशित शहरको रुपमा बिस्तार गर्ने भएको छ । यसको अर्थ यूएई सरकारसँग एक्स्पो २०२० सम्पन्न गर्ने असल भिजन छ ।

सन् २०२० को अक्टोबर २० तारिखदेखि शुरु हुने यो एक्स्पोले विश्वको भविश्यलाई डोर्‍याउनेछ । नेपालसहित विश्वका दुई सय भन्दा धेरै देशहरु, अन्तरास्टि्रय स्तरका विभिन्न कम्पनीहरु, आविश्कार केन्द्र हरु, विश्वप्रख्यात ब्यक्तित्वहरु सम्मिलित यो एक्स्पोले धेरै नयाँ चमत्कारिक कुराहरु दिनेछ भन्ने विश्वास गरिएको छ । आयोजकले यो अवधिमा विश्वभरका अढाइ करोड मानिसहरुले अवलोकन गर्ने अपेक्षा गरेको छ ।

रमाइलो कुरा त के छ भने पुग नपुग १ करोड जनसंख्या भएको यूएईमा ७० प्रतिशत अर्थात ७० लाखभन्दा बढी जनसंख्या बिदेशी अर्थात आप्रबासी छन् । यसरी ३० लाख नागरिक पनि नभएको एउटा सानो मुलुकले ६ महिनाको अवधीमा अढाई करोड पर्यटक भित्र्याउने लक्ष लिएको छ । यही ६ महिनाको अवधिको चलायमान अर्थतन्त्रले उसले आफ्नो भविश्य देखेको छ ।

सन् २०१८ मा मात्र युएईमा १ करोड ६० लाख पर्यटक भित्रिएका थिए । मरुभूमिको वीचमा रहेको यूएईको दुबई राज्यको मुख्य आय श्रोत नै पर्यटन रहेको छ । दुबईको ग्राहस्थ उत्पादनको झण्डै ७० प्रतिशतको हाराहारी पर्यटनले धानेको छ । दुबई राज्यको अर्थतन्त्रको ७ प्रतिशतको हाराहारीमा मात्र पेट्रोलियम पदार्थको योगदान छ ।

यसबाट के बुझ्न सकिन्छ भने यूएईस्थित दुबई राज्य सरकारले पर्यटनको बिकासमा नै आफ्नो भविश्य देखेको छ । यसैलाई प्रवर्द्धन गरेर उसले आफ्नो देशको अर्थतन्त्रलाई बलियो बनाउन लागिपरेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१७ साल भरीमा ९ लाख ४० हजार पर्यटकहरुले नेपाल भ्रमण गरे भने सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकहरु नेपाल भ्रमणमा आए । त्यसैगरी सन् २०१८ को जनवरी महिनामा ७३ हजार पर्यटक नेपाल आएका थिए भने यो बर्षको सोही महिनामा पर्यटक आगमनको संख्या बढेर झण्डै ९२ हजार पुगेको थियो । यही हिसाबले हेर्ने हो भने सन् २०१९ को अवधिमा १५ लाखको हाराहारीमा पर्यटक नेपाल आउने छन् । अलिकति बल गर्ने मात्रै हो भने सन् २०२० मा २० लाख संख्या पुर्याउन नेपाल सरकारलाई कुनै गाह्रो छैन ।

नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउने तयारीका लागि विभिन्न क्षेत्रमा खर्च गर्न जम्मा ५ अर्ब बजेट अनुमान गरेको छ । सरकारले एक प्रदेशमा कम्तिमा १० गरी देशभरिमा १ सय पर्यटकीय क्षेत्रहरुको पहिचान र बिकास गरेको छ । उक्त क्षेत्रहरुमा विदेशी र आन्तरिक पर्यटकहरुको आगमनले हुने आर्थिक गतिविधिले समग्र नेपालको अर्थतन्त्रलाई टेवा दिने विश्वाश छ । साथै नेपाल सरकारले बिभिन्न देशहरुमा गई नेपाल पर्यटन बर्षको प्रचार-प्रसार समेत गरेको छ ।

पर्यटन बोर्डको टोली केही महिनाअघि यूएई आएर प्रचार-प्रसार पनि गरे । प्रचार-प्रसारको क्षेत्रमा नेपालले प्रशस्तै काम गरेको छ । तर, बिदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न लोभ्याउने प्राकृतिक छटाबाहेक भ्रमण अवधिमा हुनुपर्ने सुविधाका यावत व्यवस्थापनमा सरकारले कत्तिको अग्रसरता देखाएको छ ? त्यसले पनि पर्यटन वर्ष २०२० को सफलताको अनुमानित मूल्यांकन गर्न सकिन्छ । एउटा पर्यटक नेपाल आउनु मात्र ठूलो कुरा भएन । नेपाल बसाइको अवधि र उक्त अवधिमा प्रतिदिन उसले गर्ने खर्चले ठूलो महत्व राख्छ ।

नेपालको अन्तराष्ट्रिय विमानस्थलमा उत्रने बित्तिकै देखेको एअरपोर्टको नराम्रो हालतले उसले नेपालप्रतिको पहिलो धारणा बनाउनेछ । एयरपोर्टबाट बाहिर निस्केपछि ट्याक्सी पार्किङ क्षेत्रमा हुने गतिविधिले मन अमिलो बनाउनेछ । एअरपोर्टबाट बाहिरिँदै गर्दा उसमा पर्ने दोश्रो नजर भनेको बाटोघाटोमा नै हो । देश बिकासका सूचकहरु मध्ये पूर्वाधारको अवस्थाले नै नेपाल कस्तो देश हो भन्ने कुराप्रति पर्यटकहरुको धारणा बन्ने गरेको छ ।

एक बर्ष अगाडिदेखि नै मेरो कार्यालयका हाकिम, जो दक्षिण भारतीय हुन्, उनले नेपाल घुम्न मन लागेको कुरा सुनाउँथे । उनले नेपाल हुँदै मानसरोबरको यात्रामा जाने ईच्छा प्रकट गरेका थिए । तर, म भने नचाहेरै पनि मौन थिएँ । किनभने मलाई थाहा थियो, उनी नेपाल पुगेर आएपछि नेपालका बारेमा कस्तो प्रतिकृया जनाउने छन् भनेर । जुन म सुन्न चाहन्न थिएँ ।

एकमात्र अन्तराष्ट्रिय एअरपोर्टमा काला धुवाँ लागेका भित्ताहरु अझै छन् । ठाउँ ठाउँमा माकुराका जालो अझै पनि देख्न सकिन्छ । इमिग्रेसन डेस्क त्यस्तै पुराना काठका छन् । सरकारले आधुनिक स्टाइलको पुनर्निर्माण गरेको छैन । नेपालको आफ्नै मौलिकखालको संस्कृति झल्कने सजावट पनि गरेको देखिन्न ।

एअरपोर्ट बाहिर ट्याक्सी ड्राइभरहरु भिडमभिड गरेर उभिएका छन् । आलोपालो मिटरमा हैन, भाडामा मोलमोलाई गर्छन् । उस्तै परे अपाच्य शब्द प्रयोग गरी यात्रुलाई गालीसमेत गर्छन् । पर्यटकको यो नै पहिलो देखाइ र भोगाइ हुन्छ ।

यसपालि आफैँ नेपाल घुम्न गएका यी मेरा हाकिमको अनुभब पनि यस्तै रहृयो ।

एअरपोर्टबाट बाहिरिनेवित्तिकै सडकको दुरावस्था, ट्राफिकको अवस्था, धुवाँ उडाउँदै गुडेका सवारी साधनहरु, सडकको पेटीमा थुपि्रएको फोहोर अनि मान्छेहरुको अनियन्त्रित भिडभाड आदिलाई उनले नजिकबाट नियाले । पीच नगरिएका र भत्किएका बाटाहरु, पानी पर्दाको हिलो र घाम लाग्दाको धुलो उनले गरेको अर्को अनुभव हो ।

मैले ‘नेपालमा यस्तै हो’ भनेर लाचारीपन देखाउनु बाहेक अरुथोक भन्न र गर्न सकिनँ ।

हो, उनले पशुपतिनाथको दर्शन गरे, मुक्तिनाथको दर्शन गरे, सेता हिमालको अवलोकन गरे, कैयौं दिनको पैदल यात्रामा रमाए । तर, पनि उनले देखेको बिर्सन नसक्ने अविकसित नेपालको दुरावस्थाले मेरो मन दुखेको छ ।  यो त एउटा उदाहरण मात्र हो ।

सन् २०१५ मा नै २०२० लाई ‘भिजिट नेपाल २०२०’ को रुपमा पर्यटन वर्ष मनाउने घोषणा गरेको नेपालले ५ बर्षको अवधिमा पनि केही गर्न सकेन । विदेशमा केही महिनाको अवधिमै कैयांै किलोमिटर सडक बन्छ, आकासे पुल बन्छ, केही बर्षमा विश्वका चमत्कारिक धरोहरहरु बन्छन् । ती सबै बनाउने श्रमिकहरु नेपाली नै हुन्छन् ।

तर, नेपालमा भने निराशा बाहेक केही बन्दैनन् । एउटा कर्मचारीले अर्को कर्मचारीलाई, एउटा बिभागले अर्को बिभागलाई, पछिल्लो सरकारले अघिल्लो सरकारलाई र हामी सबैले आफूले नै बनाएको अप्ठेरा कानूनलाई दोष दिएर आफू पखालिन्छौं । समस्याबाट उन्मुक्ति लिन खोज्छौं । त्यतिबेला मसँग पनि बिदेश बसेर सबै आरोपजति नेताको टाउकोमा थोपर्नुबाहेक अर्को बिकल्पै छैन ।

तर, यसरी नै दोष अर्कालाई थोपर्दै जाने हो भने अबको कयौं पुस्तासम्म पुग्दा पनि नेपाल यस्तै नै रहनेछ । नेपाल बन्दैन ।

४० लाखभन्दा बढी नेपालीहरु संसारभर छरिएर रहेका छन् । खाडी मुलुकहरुमा मात्र झण्डै १५-२० लाख नेपालीहरु कार्यरत छन् । यूएईमा मात्र अढाई लाख नेपालीहरु कार्यरत छन् । सन् २०२० मा दुबईमा हुने लागेको एक्स्पो २०२० मा भाग लिन आएका बिदेशी पर्यटकहरुलाई नेपाल जाऊ भन्ने हैसियत यहाँ कार्यरत धेरै नेपालीहरुको छ ।

सन् २०२२ मा विश्वकप फूटबल हेर्न कतार गएका बिदेशीहरुलाई नेपाल घुम्न जाऊ भन्ने हैसियत पनि कतारमा कार्यरत धेरै नेपालीहरुको छ । प्रत्येक देशहरुमा नेपालीका संघसंस्थाहरु छन् । तिनलाई प्रयोग गरेर यी देशहरुमा प्रचार-प्रसार गर्न सके ४ घण्टाको हवाई दुरीमा रहेको नेपालले धेरै पर्यटकलाई आकर्षण गर्न सक्छ । धेरै पर्यटकलाई भित्र्याउन सक्छ ।

एक्स्पो हेर्न दुबई आएका पर्यटकलाई प्रधानमन्त्रीले भनेजस्तै हामीले गैँडाको नाम बेच्न सक्छौं । संसारको सबैभन्दा अग्लो भवन ‘बुर्ज खालिफा’ टावर रहेको यो मुलुकमा बस्ने हामी नेपालीहरुले संसारको सबैभन्दा अग्लो सगरमाथाको उचाइ बेच्न सक्छौं । दुबईका कैयौँ अग्ला टावरजस्तै कयौं अग्ला हिमालको मनोरम दृश्य बेच्न सक्छौं । आँखाले हेरेर नथाकिने पोखराको सुन्दरता बेच्न सक्छौं ।

सन् २०२० मा मात्र २० लाख पर्यटक भित्र्याउने हैन, अब बर्षैभरि लाखौं-लाखौं पर्यटक भित्र्याउनुपर्छ । नेपाल सरकार र नेपालमा रहने नेपाली जनताले नेपाल बनाउनुपर्छ । बिदेशमा बस्ने हामीले पर्यटक नेपाल पठाउनुपर्छ । त्योभन्दा नि बढी हामीले हाम्रो बानी सुधार्नुपर्छ । अनि मात्र मुलुक समृद्ध बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment