Comments Add Comment

भारतीय घुमन्ते व्यापारीको गुनासो : काठमाडौंमा मादल बिक्न छाड्यो

१३ कात्तिक, काठमाडौं । टीका नखुवालाई तिहारभरि मादल बेच्न हिँड्दैमा फुर्सद भएन । शरीरभरि मादलै मादल भिरेर उनले काठमाडौंका गल्ली चाहारे । तर, यस वर्ष काठमाडौंमा कमै मात्र मादल विक्री भएको उनले सुनाए ।

नखुवाको भाषामा भारतीय लवज छ । उनी देउसी भन्न नजानेर उनी ‘दैसीका लागि मादल चाहिँदैन ?’ भन्दै ग्राहकलाई सोधिरहेका भेटिन्थे । कतिपयले त उनले भन्न खोजेको कुरा नै बुझ्दैनथे ।

नखुवाले हरेक तिहारमा भारतबाट नेपालमा आएर मादल बनाउँदै बेच्न थालेको झण्डै ४ बर्ष भएको बताए । तर, पहिलेको तिहारमा भन्दा अचेल मादल कम बिक्न थालेको उनको गुनासो छ ।

देउसीका लागि मादल चाहिन्छ भन्ने सुनेर नै उनी नेपाल आएर हरेक तिहारमा मादल बेच्छन् । भारतको लखनउबाट आएको बताउने नखुवा भारतमै हुँदा काठमाडौंमा तिहार भव्य हुन्छ भन्ने सुनेको बताउँछन् । तर, उनी अहिले निराश छन् ।

उनले मादल बेचेर तिहारलगत्तै आउने छठको खर्च जुटाउन काठमाडौं आएको तर, सोचेजस्तो व्यापार नभएको बताए । उनी भन्छन्, ‘बरु गाउँगाउँमा त तिहारमा देउसी भैली खेल्न मादल चाहिन्छ, काठमाडौंमा मादल नचाहिने रहेछ । बरु गितार किन्न जाँदारहेछन् । अर्को साल त गाउँतिर जानुपर्ला मादल बेच्न ।’

लखनउका गोविन ज्यानाको कथा पनि नखुवाको जस्तै छ । उनी पनि छठलाई खर्च जुटाउन केही हप्ता पहिले काठमाडौं आइपुगेका हुन् । उनले पनि पोहोर परारको जस्तो मादल विक्री नभएको गुनासो गरे ।

तिहारअघि उनीहरु समूह बनाएर भारतबाट नेपालमा व्यापारका लागि आउने गरेको नखुवा बताउँछन् । उनले गत साल मादल बेचेरै छठ मनाएका थिए । मादल बनाउन चाहिने सबै सामाग्री भारतबाट ल्याउने गरेको उनीहरु बताउँछन् ।

यता, नेपालमै मादल बनाउनेहरु भने स्वदेशी मादलको बिक्री घटेको भन्दै चिन्तित छन् । तिहारको समयमा मादल खंैजडी बजाउँदै देउसी भैलो खैल्ने परम्परा पनि विस्तारै परिवर्तन हुँदै गइएको छ ।

मादलबाट सुरु हुने देउसी भैलो आजभोलि गितार र अन्य बाजागाजा बाट सुरु हुने गरेको छ । पछिल्लो समय देउसी भैलो खेल्न जाने समूहमा मादल कम देखिनु यसको प्रमाण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment