Comments Add Comment

एउटै कलमको मूल्य एक लाख !

१३ कात्तिक, सप्तरी । प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख १०५ रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट एक लाख १०५ रुपैयाँमा बिक्री गरेको जनाएको छ ।

राजविराजस्थित चित्रगुप्त मन्दिरमा आज आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज नगरपालिका–८ की रेखादेवी कर्णलाई उक्त कलम हस्तान्तरण गरियो । विगत ४० वर्षदेखि ‘कलम सकार’ गर्ने परम्परा रहिआएकामा यो वर्ष सबैभन्दा बढी रकममा कर्णले कलम सकार गरेको चित्रगुप्त सेवा समितिका अध्यक्ष सतिशकुमार दत्तले जानकारी दिए ।

यम द्वितीयाको नामले प्रसिद्ध कात्तिक शुक्लपक्ष द्वितीया तिथि भाइटीकाका दिन हरेक वर्ष चित्रगुप्तको पूजा गरिन्छ । पाप र पुण्यको लेखाजोखा गर्ने चित्रगुप्त महाराजको प्रतिरूप मानेर कलम र मसीको पूजा गरिने यो दिनलाई व्यापारीले नयाँ वर्षको प्रारम्भ मान्छन् ।

पौराणिक मान्यताअनुसार, सृष्टिकर्ता ब्रह्माले उत्पन्न गरेका चित्रगुप्त महाराजलाई पाप र पुण्यको लेखाजोखा गर्न यमराजको दरबारमा नियुक्त गरिएको कुरा पद्म पुराणमा उल्लेख छ । चित्रगुप्तको विवाह सूर्य पुत्री यमीसँग भएको थियो । यमराज र यमी सूर्यको जुम्ल्याहा सन्तान हुन् । पछि यमी यमुना बनेको र पृथ्वीमा गएको बताइन्छ ।

यसैगरी उक्त कार्यक्रममा कक्षा ९ देखि १२ मा अध्ययनरत आठ जना र स्नातक तहमा अध्ययनरत चार जनालाई छात्रवृति वितरण गरिएको छ । यसै अवसरमा बुधबार कायस्थ समुदायको १६ वर्षमुनिका बालबालिकाबीच हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment