Comments Add Comment

प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन भएको छ । विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा-ए-इस्लाम (जेयूआई)ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो ।

जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)ले समेत समर्थन गरेका छन् ।

जेयूआईले राजनीतिक शाखा अन्सार उल इस्लामको स्वतन्त्रताको माग गर्दै देशव्यापी मार्च निकालेको छ । क्वेटा र कराँचीबाट सुरु भएको यो मार्च लाहोर हुँदै बिहीबार राजधानी इस्लामावाद पुग्दैछ ।

सरकारले जेयूआईलाई स्वतन्त्रता मार्च ननिकाल्न अपिल गरेको थियो । तर, त्यसको असर देखिएन । जेयूआईले प्रधानमन्त्री इमरान खानले राजीनामा दिनुपर्ने, नयाँ शिराबाट दोस्रोपटक आम चुनाव गराउनु पर्ने, इस्लामिक कानुनलाई छेडछाड गर्न नपाइने, इस्लामिक संस्थाको सम्मान गर्नुपर्नेलगायतका मुख्य माग राखेको छ ।

यद्यपि प्रधानमन्त्री खानले राजीनामा नदिने बताएको बीबीसीले जनाएको छ ।

मौलाना फजलुर्रहमान को हुन् ?

जमियतका नेता मौलाना फजलुर्रहमान हुन् । उनको आधार क्षेत्र बलुचिस्तान र खैबर पख्तुनख्वा हो । उनैको अगुवाइमा प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन सुरु भएको हो ।

मौलाना फजलुर्रहमान पाकिस्तानको राजनीतिमा परिचित नाम हो । हरेक सरकारसँग उनी जोडिएका हुन्छन् । हरेक सरकारमा उनले कुनै मन्त्रालय वा कुनै समितिको अध्यक्ष पद पाउँथे । यसरी उनले हरेक सरकारसँग गठजोड बनाइराख्थे ।

यद्यपि इमरान खानको पार्टी तहरीक-ए-इन्साफ र स्वयम् खानसँग उनको स्थान कहीँ रहेन । यहाँसम्मकी आम चुनावमा इमरान खानको पार्टीसँग बलुचिस्तान र खैबर पख्तुनख्वामा उनको पार्टी पराजित भए । फजलुर्रहमानले आफ्नै सिट पनि जोगाउन सकेनन् ।

इमरान खानले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने बेला उनले विपक्षी पार्टीले बहिस्कार गर्नुपर्ने बताए । तर, विपक्षी पार्टीका नेताहरुले उनको कुरा सुनेनन् र शपथ ग्रहण समारोहमा सहभागी भए । यद्यपि अहिले फजलुर्रहमानले सरकारविरुद्ध थालेको आन्दोलनमा विपक्षी पार्टीहरुले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment