Comments Add Comment

गाउँका सिंहदरबारको मासिक भाडा दुई लाख ८२ हजार

१४ कात्तिक, डोटी । स्थानीय तहको पुनर्संरचना हुँदा ‘सिंहदरबारको अधिकार गाउँ गाउँमा’ भन्ने नारा लगाइएको थियो । स्थानीय तहको निर्वाचन भएको पनि अढाइ वर्ष बित्नै लागेको छ । तर, सिंहदरबार भनिएका स्थानीय तहहरु भने भाडाकै झुप्रामा बस्न वाध्य छन् ।

डोटीका स्थानीय तहहरुले घरभाडावापत मासिक दुई लाख ८२ हजार सात सय रुपैयाँ खर्च गर्ने गरेका छन् ।

डोटीका नौ स्थानीय तहमध्ये भाडा नतिर्ने बोगटान फुड्सिल गाउँपालिका मात्र छ । यस गाउँपालिकाले गाउँ कार्यपालिका, बिषयगत इकाइहरु र वडा कार्यालयका लागि आफ्नै भवनहरु निर्माण गरेको छ । ‘केही वडाहरुमा साविकका गाउँ विकास समितिका भवनहरु छन्,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले भने ‘ती वडाहरुमा पनि नयाँ भवन निर्माण भइरहेका छन् ।’

घर भाडामा सवैभन्दा बढी आदर्श गाउँपालिकाले खर्च गर्दै आएको छ । यस गाउँपालिकाले कार्यपालिकाको कार्यालय र विषयगत इकाइको कार्यालयका लागि ४३ हजार र वडा कार्यालयका लागि १८ हजार रुपैयाँ खर्च गर्ने गरेको गाउँपालिकाका सहलेखापाल रामबहादुर बिष्टले जानकारी दिए ।

बिष्टका अनुसार वडानम्बर ३ र ७ को कार्यालय भाडाको घरमा छन् । प्रत्येक वडा कार्यालयको मासिक भाडा नौ हजार रहेको बिष्टले वताए ।

वडीकेदार गाउँपालिकाले ४५ हजार रुपैयाँ घरभाडा तिर्ने गरेको छ । गाउँ कार्यपालिका र बिषयगत इकाइको कार्यालयका लागि २५ हजार रुपैयाँ भाडा तिर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक पाण्डेले वताए ।

पाण्डेका अनुसार प्रत्येक वडालाई मासिक तीन हजार रुपैयाँका दरले गाउँपालिकाका पाँचवटै वडालाई घरभाडा उपलव्ध गराइएको छ । ‘अहिले प्रहरीको अस्थायी पोष्ट गाउँपालिकाको केन्द्रमा राखिएको छ,’ पाण्डेले भने, ‘प्रहरीका लागि लिइएको घरको भाडा पाँच हजार रुपैयाँ पनि गाउँपालिकाले तिर्छ ।’

पूर्वीचौकी गाउँपालिकाले कार्यपालिका र विषयगत इकाइका कार्यालयका लागि ४५ हजार रुपैयाँ मासिक घरभाडा तिर्छ । यस गाउँपालिकाका सातवटै वडामा साविकका गाउँ विकास समितका भवनहरु रहेकाले वडा कार्यालयको भाडा तिर्न नपर्ने प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्का बताउँछन् ।

जोरायल गाउँपालिकाले घरभाडावापत मासिक २७ हजार रुपैयाँ तिर्दै आएको छ । गाउँकार्यपालिका र विषयगत इकाइको कार्यालयका लागि सो रकम तिर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत समिर भण्डारीले जानकारी दिए । सबै वडामा आफ्नै भवन भएका कारण वडा कार्यालयको भाडा तिर्नु नपरेको भण्डारीले वताए ।

सायल गाउँपालिकाले घरभाडामा ३५ हजार सात सय खर्च गर्छ । गाउँपालिकाका सहलेखापाल प्रयागराज उपाध्यायका अनुसार गाउँ कार्यपालिका र विषयगत इकाइका कार्यालयका लागि २३ हजार पाँच सय घर भाडामा जान्छ ।

यस्तै वडा नं. २, ५ र ६ को कार्यालयका लागि १२ हजार दुई सय रुपैयाँ घरभाडा तिर्ने गरेको उपाध्यायले जानकारी दिए । उनका अनुसार वडा नं. २ ले चार हजार, ५ ले दुई हजार पाँच सय र ६ ले पाँच हजार सात सय भाडा तिर्छन् ।

केआईसिंह गाउँपालिकाले घर भाडामा ४० हजार रुपैयाँ खर्च गर्ने गरेको छ । ‘गाउँ कार्यपालिका र बिषयगत इकाइहरुका कार्यालयका लागि २० हजार रुपैयाँ घरभाडामा जान्छ’ गाउँपालिकाका सहलेखापाल डम्वरलाल भट्टले भने, ‘वडा नं. १, ३ र ७ को कार्यालय भाडाको घरमा छन्, त्यसका लागि २० हजार रुपैयाँ खर्च हुन्छ ।’

स्थानीय तहको पुनर्संरचना हुँदा वडा नं. ३ को केन्द्र साविकको बासुदेवी गाउँ विकास समितिको कार्यालयमा तोकिएको थियो । सो कार्यालयको भवन हुँदाहुँदै पनि वडाले मासिक ६ हजार रुपैयाँमा नजिकै अर्को भवन भाडामा लिएको छ । वडा नं. १ र ७ ले मासिक सात/सात हजार रुपैयाँ घरभाडा तिर्ने गरेको भट्टले बताए ।

शिखर नगरपालिकाले प्रि-फ्याव प्रविधिको भवन निर्माण गरी कार्यपालिका र विषयगत इकाइका कार्यालयहरु सञ्चालन गरेको छ । यसअघि विषयगत इकाइका कार्यालयका भाडा तिर्दै आएको शिखरले प्रि-फ्यावकै थप एक भवन बनाइ विषयगत इकाइहरु सञ्चालन गरेको छ ।

कार्यालय र विषयगत इकाइका लागि अब भाडा तिर्नु नपर्ने प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी बताउँछन् । उनले थपे, ‘वडा नं. ३ को कार्यालयका लागि पाँच हजार घरभाडा तिदैै आएका छौं ।’

हालै स्थापना भएको प्रहरी चौकीको कार्यालयको घरभाडा पनि नगरपालिकाले नै व्यहोर्ने गरि सम्भौतला भएको बिनाडीले वताए । उक्त कार्यालयको घरभाडा आठ हजार रहेको उनी बताउँछन् ।

दिपायल सिलगढी नगरपालिकाले नगरकार्यपालिका र विषयगत इकाइका लागि घरभाडा तिर्नु पर्दैन । यस नगरपालिकाले वडा नं. २ र वडा नं. ७ को वडा कार्यालय घरभाडामा लिएर चलाउँदै आएको छ । नगरपालिकाले दुवै वडाको घरभाडा मासिक १६ हजार रुपैयाँ तिर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment