Comments Add Comment

बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा

दुई मन्त्रीको लगातार राजीनामाले प्रधानमन्त्रीलाई धक्का

१५ कात्तिक, काठमाडौं । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् ।

जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेको थियो । पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार कावाईले आफ्ना १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएकी थिइन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई आलु तथा मकै उपहार दिएर मत प्रभावित गराएको आरोप पनि उनीमाथि छ ।

श्रीमतीले निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको समाचार सार्वजनिक भएलगत्तै मन्त्री कावाईले उच्च नैतिकता प्रदर्शन गर्दै पदबाट राजीनामा बुझाएका हुन् ।

यद्यपि, काबाईले आफूमाथि लागेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् । राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।’

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

लगातार दुई मन्त्रीको राजीनामा, प्रधानमन्त्रीलाई धक्का

काबाई एक सातामा मन्त्री पदबाट राजीनामा दिने दोस्रो व्यक्ति हुन् । गत शुक्रबार मात्रै आफ्ना सहयोगीलाई कानूनविपरीत नगद तथा उपहार वितरण गरेको आरोप लागेपछि त्यहाँका उद्योग मन्त्रीले पदबाट राजीनामा बुझाएका थिए ।

लगातार दुई मन्त्रीले पदबाट राजीनामा दिएपछि जापानी प्रधानमन्त्री आवेमाथि धक्का लागेको छ । उनले दुई मन्त्रीको राजीनामाको जिम्मेवारी लिँदै जनतासँग माफी मागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment